घर-व्यवहारको चिन्ताले छटपटाइरहेका छन् जेनजी आन्दोलनका घाइते राकेश

प्रहरीको गोली लागेर राकेश संसद् भवन अगाडि ढलेका थिए । उनका दाइ भन्छन्, ‘आमा दमको बिरामी हुनुहुन्छ । भाइको दुवै खुट्टा नचल्ने चिकित्सकले भनेका छन् । म एक्लोले अब के गरूँ ?’

आश्विन १२, २०८२

विवेक पोख्रेल

The injured Rakesh of the Zenji movement is worried about household affairs

काठमाडौँ — आन्दोलनको लहर देखेर 'बेथितिविरुद्ध विरोधमा उभिनैपर्छ’ भन्ने भावनाले उनलाई संसद् भवन अगाडिको प्रदर्शनमा पुर्‍यायो । तर, भदौ २३ गते दिउँसो अचानक माहोल बिग्रियो । भिडमा प्रहरीले पानी छ्याप्यो । अश्रुग्यास हान्यो । गोली नै चलायो ।

४ बजेतिर गोली लागेपछि सर्लाहीका २७ वर्षीय राकेशकुमार महतो त्यहीँ ढले ।

अहिले उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् । ‘चिन्ताले निद्रै आउँदैन । बाँच्न त बाँचेँ तर दुईवटा खुट्टा नै चल्दैन । म सधैंका लागि अपांग भएँ,’ रसिला आँखा बनाउँदै उनले भने, ‘जेन–जी आन्दोलन देशमा केही परिवर्तन हुन्छ भनेर उठेको हो । जसमा म पनि सामेल भएँ तर यस्तो अवस्था भोगिरहेछु ।'

उनको ढाडमा गोली लागेको छ । गोलीको कारण भाँचिएको मेरुदण्डमा स्टिल राखिएको छ । मेरुदण्डको असरको कारण दुईवटै खुट्टाले काम गरेको छैन । उनले भने, 'अहिले पनि गोली छिरेको ठाउँबाट पानी आइरहेको छ । दिनमा तीन पटकसम्म ड्रेसिङ गर्नुपरेको छ ।' उपचार खर्च अभावले निकै चिन्ता लागेको उनी बताउँछन् ।

ललितपुरको बालकुमारीमा कोठा भाडा लिएर पढ्दै आएका राकेश २०७६ सालदेखि नै काठमाडौंमा थिए । ‘मेरो घरमा बुबाआमा कोही पनि स्कुल जानुभएन । दाइले मलाई १० पास भएपछि काठमाडौं पठाउनुभएको हो,’ उनले भने, ‘म लोकसेवाको तयारी गर्दै कानुन विषय पढ्दै थिएँ । अचानक जीवनमा यस्तो आइलाग्यो ।'

उनको परिवारमा अहिले खर्च व्यवस्थापन ठूलो चुनौती बनेको छ । ‘घरमा आमा पनि दमको बिरामी हुनुहुन्छ । घरको खर्च र मेरो आफ्नै परिवारको खर्च मैले हेरेको थिएँ,’ उनका दाइ राजेशले भने, ‘उसको दुवै खुट्टा चल्दैन भनेर चिकित्सकले भनेका छन् । यो  जिन्दगीभरिको समस्या हो । सधैंका लागि उसको हेरचाह गर्ने  एउटा मान्छे चाहिन्छ । म एक्लोले अब के गरौं ? ’ 

घाइते छोरा राकेश भेट्न आमा आएकी थिइन् । उनको अवस्था देखेर बेहोस भएपछि अहिले वीर अस्पतालमा भर्ना गरेको राजेशले बताए । 'घाइतेलाई  सरकारको राहत कहिले कति दिने भन्ने अन्योलमै छौं,' उनले भने, 'अस्पतालको खाना मिठो हुँदैन । तर भाइलाई मन लागेको कुरा ख्वाउनैपर्‍यो । अस्पतालमा नपाएको औषधि पनि बाहिर किन्नुपर्छ । आफू पैसा कमाउने मान्छे कुरुवा भएर बस्नुपर्दा समस्या झन् थपिएको उनले गुनासो गरे । '१५ हजार ऋण मागेर ल्याएको सकियो । भेट्न आउनेसँग सापटी मागेर चलिरहेको छ,’ राजेशले भने ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully