जेन-जी आन्दोलनमा मानव अधिकार आयोगले जे देख्यो

सरकारले न्यून आँकलन गरेर कम सुरक्षाकर्मी परिचालन गरेको जसका कारण अत्यधिक बल प्रयोग गरेर र त्यही कारण गोली प्रहारसम्मको अवस्था भएको आयोगको प्रतिवेदनमा भनिएको छ ।

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

What the Human Rights Commission saw in the Zen-G movement

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले २३ भदौमा भएको जेन-जी आन्दोलन र २४ मा भएको प्रदर्शनपश्चात् आयोगबाट गरिएको मानव अधिकार अवस्थाको अनुगमनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै घटनामा सरकारको आँकलन नै गलत भएको कारण भएको दाबी गरेको छ । 

सरकारले न्यून आँकलन गरेर कम सुरक्षाकर्मी परिचालन गरेको जसका कारण अत्यधिक बल प्रयोग गरेर र त्यही कारण गोली प्रहारसम्मको अवस्था भएको आयोगको प्रतिवेदनमा भनिएको छ । आन्दोलनको पहिलो दिनको पूर्वाह्नमा शान्तिपूर्ण प्रदर्शन भए पनि मध्याह्नपश्चात् आगजनीका घटना र गोली प्रहारबाट केही प्रदर्शनकारीको मृत्यु भएर घटना हिंसामा परिणत भएको देखिएको आयोगको प्रतिवेदनमा भनिएको छ  ।

पहिलो दिनको आन्दोलनमा सुरक्षाकर्मीको गोलीबाट केही व्यक्तिको मृत्यु भएका कारण दोस्रो दिन अन्धाधुन्ध आगजानी र तोडफोड भएको अनुगमनका क्रममा पाइएको प्रतिवेदनमा उल्लेख छ । 

आगजनीबाट महत्वपूर्ण सरकारी भवन, पार्टी कार्यालय, निजी घर, व्यावसायिक भवन, शैक्षिक संस्था, सञ्चारगृह र प्रहरी कार्यालयहरुमा अत्यधिक क्षति पुगेको देखिएको आयोगले जनाएको छ । 

आगलागी र तोडफोडका क्रममा केही व्यक्तिहरुको जलेर समेत मृत्यु भएको, सरकारी अभिलेख जलेको, भौतिक सम्पत्तिमा क्षति पुगेको, सुरक्षाकर्मीका हातहतियारहरु लुटिएको र कतिपय सामानहरु चोरी तथा लुटपाट गरिएको समेत पाइएको आयोगले जनाएको छ । 

घटनापूर्व घटना हुनसक्ने संभावित कारणहरुको आँकलन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी देखिएको र  घटनापश्चात् सुरक्षाकर्मीको मनोबल कमजोर हुन जाँदा शान्ति सुरक्षामा थप चुनौती सिर्जना हुन सक्ने अवस्था सिर्जना भएको आयोगको प्रतिवेदनमा भनिएको छ । कारागार तथा बालसुधारगृहबाट बाहिर निस्केका बन्दीहरुको फिर्ती तथा कारागार व्यवस्थापनमा समेत गम्भीर समस्या देखिएको प्रतिवेदनमा भनिएको छ । 

हालसम्म प्राप्त भएका तथ्यहरुको संक्षिप्त विवरण

पृष्ठभूमिः

•उक्त प्रदर्शनको आयोगको अनुगमन टोलीले भदौ २३ गते विहान करिव १०:३५ मा प्रदर्शनस्थल माइतीघर मण्डलामा पुगी अनुगमन शुरु गरेको थियो र हाल सम्म निरन्तर रुपमा अनुगमन गरिरहेको छ । सो सम्बन्धमा आयोबाट सरोकारवालाहरुलाई ध्यानाकर्षणा गराउँदै प्रेश विज्ञप्ति तथा पत्राचारहरु भइरहेको छ । साथै यस सम्बन्धमा आयोगबाट अनुसन्धान भइरहको छ ।

•जेन-जी प्रदर्शनकारीहरुका अनुसार Freedom of Expression, Band of Social Media र मुलुकमा व्याप्त भ्रष्टाचारको विरुद्धमा प्रदर्शनमा उत्रिएको भनाई रहेको पाइयो । 

•जेन-जीहरुको प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरुका अनुसार निजहरु स्वत:स्फूर्त रुपमा प्रदर्शनमा आएको भन्ने जानकारी पइयो ।

मृतक तथा घाइतेको अवस्था संख्याः

•अनुगमनको क्रममा टोलीले प्रदर्शनकारी तर्फ र सुरक्षाकर्मी तर्फका घाइते तथा मृतकको अवस्थाको सम्बन्धमा जानकारी लिएको थियो । 

•विभिन्न अस्पतालमा घाइतेहरुको उपचार नेपाल सरकारबाट निःशुल्क भएको भन्ने जानकारी पाइयो । 

•उपचार पश्चात केही घाइतेहरु घर गएको र केही घाइतेहरु हालसम्म पनि उपचारमा रहेको भन्ने जानकारी पाइयो । 

आयोगले जिल्ला प्रहरी परिसर काठमाडौबाट प्राप्त गरेको विवरण अनुसारः

सर्वसाधारणतर्फः

•हालसम्म सर्वसाधारणतर्फका ९३८ जना घाइते भएको र ४५ जना मृत्यु भएको जानकारी पाइयो ।

सुरक्षाकर्मीतर्फः

•सुरक्षाकर्मीहरु ३ जनाको मृत्यु भएको, १३७९ जना घाइते भएको, १३७ जना अस्पताल भर्ना भएकोमा हाल ९ जना उपचाररत रहेको भन्ने पाइयो । 

•मृतक सुरक्षाकर्मीका परिवारका सदस्यलाई राहत उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रकृया शुरु भएको भन्ने पाइयो । 

भौतिक क्षतिको अवस्थाः

•सिंहदरवार परिसरका सरकारी भवनहरु, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, अन्य सरकारी भवनहरु, राजनितिक दलका नेताहरुको निवास, व्यवसायिक भवनहरु तथा निजी आवास, सञ्चारगृह र प्रहरी कार्यलयहरुमा अत्यधिक क्षति भएको, कागजपत्र तथा अभिलेखहरु, जिन्सी सामानहरु र सवारी साधनहरु जलेको पाइयो । 

सेवा सञ्चालनको अवस्थाः

•घटना पश्चात हाल सबै निकायहरुले सेवा सञ्‍चालन गरेको। कतिपय निकायले पाल टाँगेर  तथा अन्य उपलब्ध स्थानमा उपस्थित भई कार्यालयको सेवा सुचारु गरेको पाइयो । 

•हाल सेवा सञ्चालन गर्दा जलेर नष्ट भएका भौतिक संरचना तथा अभिलेख र फाइलहरुको अभावका साथै सेवा प्रवाह गर्ने कर्मचारीहरुको मनोबलमा आएको कमीको कारणले नागरिकले पूर्ववत सेवा प्राप्त गर्न समस्या देखिएको पाइयो।

•सरकारी निकायका केही कर्मचारीहरुमाथि भएको कुटपिटका कारण सेवा प्रदान गर्न मनोबल कमजोर हुनुका साथै असुरक्षित महसुश गरेको पाइयो । 

शान्ति सुरक्षाको अवस्थाः

•सुरक्षाकर्मीको भवन लगायत सवारी साधनमा क्षति भएका र सुरक्षाकर्मी तथा कर्मचारीको मनोबल खस्केको कारणले गर्दा सुरक्षा निकायहरुबाट तत्काल स्वस्फूर्त रुपमा समस्या सम्बोधन हुन नसकेको कारणले गर्दा शान्ति सुरक्षा जोखिममा रहेको पाइयो ।  

•सुरक्षा कर्मचारीहरुको मनोबल खस्केको र लुटिएका हातहतियार समेत फिर्ता नआएको र कारागार तथा हिरासतबाट बाहिर निस्केका सबै कैदी बन्दीहरु फिर्ता समेत नआईसकेको अवस्थामा समाजले असुरक्षा महशुस गरिरहेको पाइयो ।  

•समुदाय स्तरबाट समेत केही क्षतिग्रस्त प्रहरी कार्यालयहरुको निर्माण/मर्मतको कार्यमा  योगदान भई पुनर्स्थापना भई सेवा सुचारु हुँदा शान्ति सुरक्षामा सकारात्मक सुधार हुँदै गएको पाइयो । 

कैदिबन्दीको अवस्थाः

•कारागार व्यवस्थापन विभागले प्रदर्शनको क्रममा कारगारबाट निस्केका कैदी बन्दीहरुलाई  फिर्ता ल्याउन, जलेका अभिलेखहरुको व्यवस्थापन तथा कैदिबन्दीहरु बिचको अन्तरघुलन र सुरक्षा व्यवस्था अनुकुल बनाउँदै गएको भन्ने भनाइ रहेको पाईयो । 

•७५ वटा कारागारमा रहेका २९,००० कुल कैदी बन्दी रहेकोमा २७ वटा कारागारबाट १४,४५५ जना कैदिबन्दी भागेकोमा अनुगमनको क्रममा करिब ७५०० फिर्ता भएका र करिब ७००० सम्पर्कबिहिन भएका भन्ने जानकारी पाइयो । 

•सिन्धुली ३, धादिङ्ग २ र बाँकेमा ५ गरि १० जना कैदी बन्दीको मृत्यु भएको भन्ने जानकारी पाइयो । 

शिक्षाको अधिकार अवस्थाः 

•प्रदर्शनको क्रममा बालबालिको मृत्यु तथा घाइते हुनु शैक्षिक संस्थाहरु क्षतिग्रस्त हुनु र अभिभावक तथा बालबालिका तथा शिक्षकहरु भयभित भई नियमितरुपमा शैक्षिक संस्थाहरु सञ्चालन नभएको पाइयो । 

•केही शैक्षिक संस्थाहरुले अनलाइन मार्फत पठनपाठन सञ्चालन गरेतापनि सबै विधार्थीहरु सहज रुपमा पहुँच नभएको पाइयो ।

•अभिभावक तथा विधार्थीहरुमा भयभित वातावरण रहेकोले नियमित पठनपाठनमा समस्या रहेको पाइयो । 

•साथै बाल मनोविज्ञानमा समेत असर परेको पाइयो 

प्रेश तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार अवस्थाः

•प्रदर्शनको क्रममा काठमाडौंमा सुरक्षाकर्मीको गोली लागि ५ जना घाइते भएको माथि भौतिक आक्रमण भएको, केही सञ्चारकर्मी माथि भौतिक आक्रमण भएको, आगजनि तथा तोडफोडको क्रममा कान्तिपुर, अन्नपुर्ण पेष्ट, हिमालयन टि.भी तथा अन्य मिडियामा तोडफोड तथा आगजनी भएको, देशभरको तथ्यांक संकलन भै रहेको भन्ने जानकारी पत्रकार महासंघबाट पाइयो । 

•प्राइम टि.भी र न्युज २४ को प्रेस लेखेको लागाएत ४ गाडीमा क्षति भएको पाइयो ।

•सञ्चारकर्मीहरु निर्भिकरुपमा समाचार संकलन लेखन तथा प्रसारण गर्नमा भय पैदा भएको भन्न् भनाई पाइयो । 

•समग्रमा अभिव्यक्ति स्वतन्त्रताको अभ्यासमा चुनौती रहेको पाइयो । 

रोजगारीको अधिकार अवस्थाः

•व्यवसायिक प्रतिष्ठानहरुको क्षतिले कार्यरत कर्मचारीहरुको रोजगारी सुनिश्चत नभएको र यसले वेरोजगारीको समस्या निम्त्याउन सक्ने देखिएको । 

कान्तिपुर

Link copied successfully