कुनै राजमार्गमा समस्या छैन : सडक विभाग

सर्वसाधारणले टोल फ्री नम्बर ९८५१४१६८९३ मा फोन गरी सडकसम्बन्धी गुनासा, सुझाव, आवश्यक जानकारी दिन सक्नेछन् ।

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

No problem on highways: Roads Department

काठमाडौँ — मुख्य राजमार्ग र सडकमा शुक्रबार बिहानसम्म कुनै समस्या नरहेको सडक विभागले जनाएको छ । विभागका अनुसार नारायणगढ-मुग्लिन सडकको तुइनखोलाको पहिरो ५८ घन्टा लगाएर बिहीबबार पन्छाएसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको छ ।

नारायणगढ-बुवटल सडकको दाउन्ने खण्डमा पनि दुईतर्फी नै यातायात सञ्चालन भइरहेको सडक विभागका प्रवक्ता प्रभातकुमार झाले बताए । बीपी राजमार्ग र कान्ति राजमार्गमा पनि कुनै समस्या नरहेको विभागले जनाएको छ । उता, अरनिको राजमार्गको कोदारी खण्डमा पनि कुनै समस्या नरहेको र तातोपानी नाकाबाट सामान लिएर आएका कन्टेनर नेपाल भित्रिरहेको विभागको भनाइ छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुलुकभरको सडकको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन फोकल पर्सन समेतको व्यवस्थापन गर्न विभागलाई निर्देशन दिएअनुसार असोज ७ देखि फोकल पर्सनको व्यवस्थापन गरिएको छ । सर्वसाधारणले टोल फ्री नम्बर ९८५१४१६८९३ मा फोन गरी आफ्ना गुनासा, सुझाव, आवश्यक जानकारी दिन सक्नेछन् । उक्त नम्बरमा फोन गरेर सडकमा कुनै समस्या आए जानकारी गराउन सकिने र तत्काल समाधानको पहल गरिने विभागले जनाएको छ ।

कान्तिपुर

Link copied successfully