‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा पूर्वसांसद राजभण्डारीको ५१ लाख सहयोग

भदौ २३ र २४ गते क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचना पुनर्निर्माणका लागि आवश्यक आर्थिक सहयोग गर्न सरकारले अनुरोध गरेको थियो ।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

5.1 lakh support of former MP Rajbhandari in 'Physical Infrastructure Reconstruction Fund'

काठमाडौँ — जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले क्षति पुर्‍याएका सार्वजनिक तथा सरकारी भौतिक संरचना पुनर्निर्माणका लागि कांग्रेसका पूर्वसांसद दिव्यमणि राजभण्डारीले सरकारलाई ५१ लाख रुपैयाँ प्रदान गरेका छन् ।

'भगवानको कृपा, गुरु देव र अग्रजहरुका आशीर्वादअनुसार दिव्य वचन पूरा गरियो । नेपाल सरकारका कोषमा Bank Transfer मार्फत रु एक्काउन्न लाख (Rs. 5,100,000) रकम जम्मा गरेका Document सम्मानीय प्रधानमन्त्रीज्युलाई बुझाइयो,' उनले फेसबुकमा तस्बिर राख्दै लेखेका छन् ।

उनले पुण्यकार्यमा सहभागी हुन अनुरोध पनि गरेका छन् ।

गत भदौ २३ र २४ गते क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचना पुनर्निर्माणका लागि आवश्यक आर्थिक सहयोग गर्न सरकारले अनुरोध गरेको थियो । आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान, राहत र पुनस्थापनासम्बन्धी कार्यका लागि स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ पनि स्थापना भएको छ ।

भौतिक पूर्वाधार पुननिर्माण कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ । खाता नम्बर १९६०१००१०२०७०००४ रहेको छ । सोही खातामा रकम जम्मा गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully