टिकटक र रेडिटमा फैलिँदै 'एक्सपोज झोले' ट्रेन्ड

जेन-जी आन्दोलनपछि पनि दलका कार्यकर्ता सुध्रिन नसकेको र उल्टै शीर्ष नेताको बचाउ गरेको भन्दै उनीहरूलाई 'झोले' भनेर व्यंग्य गरिएको छ ।

आश्विन ९, २०८२

दया दुदराज

'Expose bags' trend spreading on TikTok and Reddit

काठमाडौँ — जेन-जी आन्दोलनपछि पनि मुख्य दलका नेतृत्व र कार्यकर्ता नसुध्रिएको भन्दै जेन-जीहरुले 'एक्सपोज झोले' ट्रेन्ड सुरु गरेका छन् ।

उनिहरुले दलका कार्यकर्ताहरूको तस्बिर र भिडियो टिकटक र रेडिट लगायतका सामाजिक सञ्जालमा पोस्ट गर्दै यो 'ट्रेन्ड' सुरु गरेका हुन् । 

जेन-जी आन्दोलनअघि सामाजिक सञ्जालमा 'नेपो बेबी ट्रेन्ड' चलेको थियो  । 'एक्सपोज झोले' ट्रेन्डमार्फत जेन-जीहरुले दलका बफादार कार्यकर्ताहरुको खिसिट्युरी गरिरहेका छन् । उनीहरुले कार्यकर्ताले शीर्ष नेताहरुसँग खिचेका र पार्टीको झन्डा बोकेका तस्बिर र भिडियो 'फ्लेक्स' गरिरहेका छन् ।

कसरी सुरु भयो यो ट्रेन्ड?

जेन-जी आन्दोलनको बलमा सत्ता परिवर्तन भएको पृष्ठभूमिमा जेन-जीहरुले यो ट्रेन्ड सुरु गरेका हुन् । आन्दोलनका क्रममा राज्यले गरेको क्रुर व्यवहार, दर्जनौं आन्दोलनकारीको मृत्यु र घाइते हुँदा पनि पुराना दलका कार्यकर्ताहरुले आत्मालोचना नगरेको भन्दै जेन-जीले 'एक्सपोज झोले' अभियान सुरु गरेका हुन् । 

आन्दोलनपछि पनि कार्यकर्ता सुध्रिन नसकेको र उनीहरुले उल्टै शीर्ष नेताहरुको बचाउ गरेको भन्दै उनीहरुलाई 'झोले' भनेर व्यंग्य गरिएको छ । यो अभियानमा कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरुको तस्बिर र भिडियो धेरै पोस्ट भएको देखिन्छ । राप्रपा र रास्वपाका नेता तथा कार्यकर्ताको तस्बिर पनि यो अभियानमा प्रयोग भएका छन् । 

मुख्य निसानामा को छन् ?

यो अभियान प्रमुख पार्टीका नेता र उनीहरूका कार्यकर्तामा केन्द्रित देखिन्छ । विशेषगरी, यसले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट कार्यकर्तालाई केन्द्रमा राखेको छ  ।

सामान्यतया पोस्टमा शीर्ष भनिएका नेताहरूसँग र्‍याली, कार्यक्रम वा सार्वजनिक समारोहमा उभिएका कार्यकर्तालाई देखाउँदै हास्यास्पद क्याप्सन वा व्यंग्यात्मक संगीत मिसाइएको छ । 

केही महिनाअघि एमालेका केही नेता र कार्यकर्ताले 'म झोले हो' भन्दै सामाजिक सञ्जालमा ट्रेन्ड चलाएका थिए । त्यसैको प्रतिवादस्वरुप 'एक्सपोज झोले' अभियान सञ्चालनमा आएको देखिन्छ । जारी अभियानमा 'म झोले हो' भन्दै पोस्ट गर्नेहरुको तस्बिरमाथि पनि 'फ्लेक्स' गरिएको छ ।

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully