बाबुरामले अध्यक्ष पद त्याग्नुको कारण यस्तो छ : युवालाई प्रोत्साहन, पुराना दललाई दबाब

उनले पार्टीको जिम्मेवारी र कार्यकारीबाट मुक्त भए पनि नयाँ वैकल्पिक शक्तिको अभियानलाई निरन्तर सघाउने बताए । उनले शासकीय स्वरुप निर्वाचन प्रणाली नसच्याएसम्म मुलुका राजनीतिक स्थिरता नहुने बताए  ।

आश्विन ९, २०८२

गंगा बीसी

Baburam's reason for leaving the post of president is as follows: encouragement to the youth, pressure on the old parties

काठमाडौँ — पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्ययक्ष बाबुराम भट्टराईले नयाँ पुस्तालाई प्रोत्साहन, पुराना दलको नेतृत्वलाई दबाब दिन अध्यक्ष पद त्याग गरेका छन् ।

उनले विशेष विस्तारित बैठकमा बुधबार पद त्यागेको घोषणा गरेका थिए । उनको घोषणालाई बैठकले अनुमोदन गरी उपाध्यक्ष दुर्गा सोबलाई महाधिवेशन आयोजक समितिको संयोजक तोकेको छ । उनी फागुनको पहिलो साता भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

बिहीबार उनले पत्रकार सम्मेलन गरी जेन जी आन्दोलनको भावनालाई सम्मान र समर्थन गर्दै पद त्याग गरेको जानकारी दिए । ‘नवयुवाले ढोका ढकढक्याइसके । उनीहरुलाई प्रोत्साहन गर्न पद त्याग गरेको हो । म आन्दोलनबाट अलग भएको भने होइन,’ उनले भने, ‘पुराना दललाई दबाब होस् । नयाँ पुस्ताका लागि हामीले बेलैमा मार्गप्रशस्त गर्नुपर्छ भनेर पद त्याग गरको हो ।’

उनले पार्टीको जिम्मेवारी र कार्यकारीबाट मुक्त भए पनि नयाँ वैकल्पिक शक्तिको अभियानलाई निरन्तर सघाउने बताए । उनले शासकीय स्वरुप निर्वाचन प्रणाली नसच्याएसम्म मुलुका राजनीतिक स्थिरता नहुने बताए  ।

‘अबको निर्वाचन पुरानै प्रणाली भयो भने पुरानै शक्ति आउने खतरा रहन्छ । प्रत्यक्ष कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ,’ उनले भने । जेन–जी विद्रोहमा स्वदेशी प्रतिगामी शक्ति र पानी धमिल्याउने बाहृय शक्तिको चलखेल हुँदा विध्वंश भएको उनको भनाइ छ ।

‘आन्दोलन नापे–तौले जस्तो हुँदैन । देशभित्रका प्रतिगामी शक्ति र बाहिरबाट पानी धमिल्याएर स्वार्थ पूरा गर्न चाहने शक्तिले पनि हात हालेको सहजै बुझन् सकिन्छ,’ उनले जेन–जी विद्रोहले सरकार ढले पनि पुरानो सत्ता कायम रहेको उल्लेख गरे । उनले अन्तरिम सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

‘जेन–जी भ्रष्टाचारविरुद्ध केन्द्रित आन्दोलन हो । भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ,’ उनले भने,  ‘लुकाएको सम्पत्ति केही त जलेर गयो । केही लुकाए राखेका छन् । त्यसैको बलमा चुनाव जितेर आउँछन् । सरकारले तुरुन्त उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्छ ।’

उनले युवाहरुलाई राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्तालार्य रक्षा गरेर अघि बढ्नु सुझाव दिए । ‘नेपाल कहिलै पनि उपनिवेश नभएको देश हो । नेपालीको स्वाधीनता, सार्वभौमसत्तालाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले थपे, ‘छिमेकीहरुलाई भन्नुपर्छ, तपाईंहरुले यहाँ आँखा लगाउन पाइँदैन । हाम्रो सार्वभौमसत्ता, स्वाधीनता तपाईं जत्तिकै बराबरी छ ।’

मुलुकका वैकल्पिक शक्तिबीच सहकार्य हुनु अहिलेको आवश्यकता भएको उनको भनाइ छ । ‘हामी नयाँ शक्ति, बालेन, हर्क वैकल्पिक शक्तिका रुपमा आएका छन् । जेन–जी शक्ति ठूलो छ,’ उनले भने, ‘नयाँ पुस्ताबीच सहकार्य गर्न वातावण बनाउनुपर्छ । योभन्दा पछि फर्कने होइन । यसमा कति थप्न सकिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितालाई आधार बनाउनुपर्छ ।’

पुराना राजनीतिक दल कांग्रेस, एमाले, माओवादी नसच्चिने उनको दाबी छ । ‘पुराना थोत्रो पार्टीका नेताहरु सच्चिनेवाला छैनन् । टाउकोसम्म कुहिएको छ । उनीहरु सच्चिने सम्भावना छैन,’ उनले थपे, ‘पहिलो, दोस्रो र तेस्रो पुस्ताले विद्रोह गरेर नयाँ वैकल्पिक शक्तिलाई साथ दिनुपर्छ ।’

उनले वैकल्पिक शक्तिबीच सहकार्य गरी निर्वाचनमा जानुपर्ने बताए । ‘तोकिएकै समयमा निर्वाचन हुनेछ । वैकल्पिक शक्तिबीच साझा एलाइन्स हुन सक्यो भने तपाईंको सपना पूरा हुनेछ,’ उनले थपे ।

गंगा

Link copied successfully