घटस्थापनापछि एक लाख ३८ हजार यात्रुले काठमाडौँ छाडे

काठमाडौँ गोँगबुस्थित राष्ट्रिय बसपार्क र नयाँ बसपार्कमा पनि दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

After Ghatasthapana, 1 lakh 38 thousand passengers left Kathmandu

काठमाडौँ — घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौँ छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना) का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौँ छाडेका हुन्।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय र रोजगारीका लागि आएकाहरू दसैँ मनाउन घर जाने क्रममा उपत्यका छाडेको जानकारी दिए। उनका अनुसार उक्त तथ्यांक थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट गन्तव्य स्थलतर्फ जाने यात्रुहरूको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले पानी परेकाले राजमार्गमा पहिरो जाँदा सवारी साधनको आवतजावतमा समस्या परेको बताए। 'मुग्लिङ–नारायणघाट सडक खण्डमा पहिरो जाँदा घण्टौँसम्म सवारी साधन बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौँमा बस नपुगी यात्रुहरूलाई गन्तव्य स्थलसम्म पठाउन समस्या भएको छ,' अध्यक्ष स्वारले भने।

काठमाडौँ गोँगबुस्थित राष्ट्रिय बसपार्क र नयाँ बसपार्कमा पनि दसैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले नयाँ बसपार्कबाट दैनिक ५०० बस बाहिरिन थालेको बताए।

उनले अरू समयमा दैनिक औसत दुई सय ५० बस बाहिरिए पनि अहिले उक्त सङ्ख्यामा वृद्धि भएको बताए। यात्रुको सहजताका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घ-संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

कान्तिपुर

Link copied successfully