नेपाली राहदानीमा २ सय म्यानमारी साउदी उडेको खुलासा

जेलमा रहेका म्यानमारका नागरिकलाई नेपाल लैजान साउदी प्रशासनले नेपाली दूतावासमाथि दबाब बढाए पछि उनीहरूले हस्तलिखित नेपाली राहदानी प्रयोग गरेको खुलेको हो ।

आश्विन ८, २०८२

होम कार्की

Revealed that 200 Myanmar flew to Saudi Arabia on Nepali passports

काठमाडौँ — दुई सय बढी म्यानमारी नागरिक नेपाली पासपोर्टमा साउदी अरब पुगेको खुलासा भएको छ । उनीहरू हाल साउदी जेलमा छन् । जेलमा रहेका म्यानमारका नागरिकलाई नेपाल लैजान साउदी प्रशासनले नेपाली दूतावासमाथि दबाब बढाए पछि उनीहरूले हस्तलिखित नेपाली राहदानी प्रयोग गरेको खुलेको हो ।

साउदीका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले बुधबार राजदूतहरूको बैठकमा यो विषयमा जानकारी गराएका छन् । भिजिट भिसामा देखिएको समस्याबारे छलफल गर्न परराष्ट्र मन्त्रालयको समन्वयमा अध्यागमन विभागले ९ वटा मुलुकका राजदूत, श्रम काउन्सिलर र श्रम सहचारीको बैठक राखेको थियो ।

‘लामो समयदेखि साउदीको जेद्दास्थित जेलमा म्यानमारका नागरिक छन्, उनीहरूले हस्तलिखित नेपाली राहदानी प्रयोग गरेका रहेछन्,’ ढकालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक राजदूत भन्छन्, ‘उनीहरूसँग भिसा नभएपछि साउदीले पक्राउ गरेर राखेको छ, केहीलाई हाजिर जमानतमा छाडेको छ । उनीहरुलाई नेपाल पठाउनका लागि सहजीकरण गर्न हामीलाई साउदीले भनेपछि यो घटनाबारे जानकारीमा आएको हो ।’

परराष्ट्र मन्त्रालयले यसबारे अनुसन्धान गर्ने जनाएको छ । ‘कुन राहदानी कहाँबाट र कहिले जारी भएको भन्ने अपडेट विवरण मागेका छौं,’ परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कान्तिपुरसँग भने, ‘विवरण आइसकेपछि मात्र थप भन्न सकिन्छ ।’

नेपाली राहदानी लिएकाहरु सन् २०१४ अघि नै साउदी पुगेको देखिन्छ । कान्तिपुरलाई प्राप्त विवरणअनुसार दुई सय जनामध्ये कृष्णबहादुर श्रेष्ठ नामको राहदानी वाहक ५ अगस्ट २०१४ मा साउदीको सार्को कम्पनीमा काम गर्न गएको देखिन्छ । त्यस्तै अनिल लिम्बू नाम गरेको राहदानी वाहक ४ जुलाई २००९ मा साउदी अरब गएको देखिन्छ । बाबुराम खड्का ७ मे २०११ मा गएको देखिन्छ । जासिर शेख ९ जुन २००७ मै गएको देखिन्छ । उनीहरूले राहदानीको म्याद भएको समयसम्म भिसा थप्दै बसेका रहेछन् । म्याद सकिएपछि कागजातविहीन हैसियतमा अनधिकृत रुपमा बस्दै आएको देखिन्छ ।

साउदी सरकारले जेलमा रहेका उनीहरुलाई नेपाल लगेर कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ । ‘नेपाली नागरिकको हैसियतमा उनीहरूले प्रवेश गरेका छन्, यसको जिम्मा नेपालले लिनुपर्छ,’ साउदी प्रशासनको भनाइ उद्धृत गर्दै दूतावासका एक अधिकारी भन्छन् । नेपाली दूतावासले भने साउदीस्थित म्यानमार दूतावासलाई ट्राभल डकुमेन्ट जारी गरी आफ्नो नागरिकको जिम्मा लिन आग्रह गरेको थियो । तर म्यानमारले आफनो नागरिक रहेको प्रमाण पेस गरे मात्र उनीहरूको जिम्मा लिन सक्ने अडान राख्दै आएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य गरेपछि नेपालले २६ डिसेम्बर २०१० देखि एमआरपी जारी गर्न थालेको थियो । त्यसपछि केन्द्रीय राहदानी कार्यालयले ३१ मार्च २०१० देखि हस्तलिखित राहदानी जारी गर्न बन्द गरेको थियो । तर, सबैलाई एमआरपी जारी गर्न असमर्थ भएपछि विभागले २४ नोभेम्बर २०१५ सम्म चल्ने गरी हस्तलिखित राहदानी जारी गरेको थियो । हस्तलिखित राहदानीको प्रयोग गर्न मिल्ने अवस्थामा केही दलाल तथा म्यानपावर कम्पनीले फोटो मात्र परिवर्तन गरी वैदेशिक रोजगारमा पठाउने गरेका थिए । एमआरपी लागू भएपछि भने त्यो रोकिएको थियो । गृह मन्त्रालयका एक अधिकारीले म्यानमारीले नेपाली नागरिकता नै बनाई राहदानी बनाएको हो वा हस्तलिखित राहदानीमा फोटो मात्र टाँसिएको भन्ने विषय अनुसन्धानपछि खुल्ने बताए ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully