२४ भदौमा भागेका ६ हजार ८ सय कैदीबन्दी र थुनुवा अझै फरार

फरार हुनेमा करिब १ हजार विदेशी नागरिक, करिब ७ हजार ३ सय कैदीबन्दी र थुनुवा भने फर्किएका छन्।

आश्विन ८, २०८२

कान्तिपुर संवाददाता

6,800 prisoners and detainees who escaped on August 24 are still at large

काठमाडौँ — ‘जेन–जी’ आन्दोलनका बेला विभिन्न कारागार/बन्दीगृह र प्रहरी हिरासतबाट भागेकामध्ये करिब ७ हजार ३ सय कैदीबन्दी र थुनुवा पक्राउ परेका छन् । भागेका १४ हजार ४३ कैदीबन्दी र थुनुवामध्ये अझै ६ हजार ८ सय फरार छन् । फरारमध्ये करिब १ हजार विदेशी नागरिक हुन् ।

 जेन–जीले २३ भदौमा गरेको आन्दोलनमा राज्यले दमन गरेको भोलिपल्ट प्रदर्शन भड्किएको मौकामा कारागार तथा प्रहरी हिरासत तोडफोड र आगजनी गरेर कैदीबन्दी एवं थुनुवा भागेका थिए । २४ भदौमा २८ वटा कारागार/बालसुधार गृह र डेढ सयभन्दा बढी प्रहरी हिरासतमा तोडफोड र आगजनी भएको थियो ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार जेल तोडेर भागेका कैदीबन्दीमध्ये मंगलबार साँझसम्म करिब ६ हजार ९ सय जना पक्राउ परेका छन् । हिरासत कक्षबाट भागेकामध्ये ३ सय ७० जना थुनुवा पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए । उनीहरूमाथि हिरासत कक्ष फोडेर विध्वंस मच्चाएको अभियोगमा समेत अनुसन्धान हुने प्रहरी अधिकारीहरूले जनाएका छन् ।

विभाग र प्रहरीका अनुसार अझै करिब ६ हजार ८ सय कैदीबन्दी र थुनुवा फरार छन् । फरार हुनेमा करिब १ हजार विदेशी कैदीबन्दी पनि छन् । चीन, भारत, पाकिस्तान, बंगलादेश र अन्य मुलुकका नागरिक जेलमा तोडफोड र आगजनीको मौका छोपी २४ भदौमा फरार भएका थिए । आगजनी र तोडफोडपछि भागेका कतिपय कैदीबन्दी आफैं फर्किएका थिए भने अन्यलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

भागेका कैदीबन्दीमा लागूऔषध, हत्या, लुटपाट, बलात्कार, तस्करी, भ्रष्टाचार, नक्कली भुटानी शरणार्थी प्रकरण, विदेशी मुद्रा तस्करीलगायत अभियोगमा दोषी ठहर र पुर्पक्षमा रहेकाहरू छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका क्रममा केन्द्रीय कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत भागेका थिए । रायमाझी भने कारागार फर्किसकेका छन् ।

सुन तस्करी अभियोगमा सजाय भुक्तान गरिरहेका गोरे भनिने चुडामणि उप्रेती पनि डिल्लीबजार कारागार फर्किएका छन् । शरणार्थी प्रकरणमै पुर्पक्षका क्रममा केन्द्रीय कारागारमा रहेका केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले मंगलबार साँझ उपत्यकाबाटै पक्राउ गरेको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नक्खु कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछाने पनि फर्किसकेका छन् ।

२४ भदौमा भागेका कैदीबन्दीबाट सुरक्षा खतरा उच्च रहेको निष्कर्ष प्रहरीले निकालेको छ । भड्किएको हिंसाका क्रममा प्रहरी ब्यारेक/कार्यालयबाट मात्रै इन्सास, एसएलआर र पिस्तोलसहितका १२ सयभन्दा बढी हतियार लुटिएका थिए । ती हतियारका करिब १ लाख राउन्ड गोली पनि प्रहरी अभिलेखबाट हराएका छन् । हराएका हतियार र गोलीगट्ठा अनि कैदीबन्दीका कारण मुलुकमा सशस्त्र समूहको उदय हुन सक्ने जोखिम रहेको पनि प्रहरीले औंल्याएको छ ।

नेपाल–भारत खुला सीमानाकाका कारण कतिपय कैदीबन्दी पारि जान सक्ने जोखिम छ । यसलाई ख्याल गर्दै अन्तर्राष्ट्रिय सीमानाकामा सुरक्षा जाँच कडा पारिएको छ । कारागार र प्रहरी हिरासतबाट भागेका कैदीबन्दी तथा थुनुवा विभिन्न नामबाट विदेश भाग्ने सम्भावना पनि उच्च रहेको छ । नेपालमा जेन–जी विद्रोहपछि निम्तिएको सुरक्षा चुनौतीलाई ध्यान दिँदै यूएई, कतार र मलेसियालगायत मुलुकले कामदार लैजान कडाइ गर्न थालेका छन् । यूएईले भिजिट र वर्किङ भिसा हाललाई स्थगन गरिसकेको छ 

कान्तिपुर

Link copied successfully