स्वास्थ्यमन्त्री नियुक्तिको सिफारिस किन भयो होल्ड ?

मन्त्रीमा सिफारिस मिश्राविरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको सूचना पाएपछि तत्कालका लागि प्रधानमन्त्रीबाटै होल्ड 

आश्विन ७, २०८२

सुदीप कैनी

Why was the recommendation of the appointment of the Minister of Health held?

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न आइतबार ५ जनाको नाम सिफारिस गरेकी थिइन् । तर सोमबार ४ मन्त्रीले मात्र राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरे । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस संगीता कौशल मिश्राको नियुक्ति भने रोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

अन्तरिम सरकारका एक मन्त्रीका अनुसार मिश्राविरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको सूचना पाएपछि तत्कालका लागि प्रधानमन्त्रीबाटै होल्ड गरिएको हो । ‘मिश्रासहित ५ जनालाई नियुक्ति गर्ने विषय टुंगो लागेको थियो । तर मिश्राविरुद्ध उजुरी परेको र त्यसमाथि छानबिनसमेत भइरहेको जानकारी पाएपछि रोकिएको हो,’ ती मन्त्रीले भने । 

६ महिनादेखि बिदामा रहेकी अतिरिक्त सचिव मिश्रा २३–२४ भदौको जेन–जी आन्दोलनपछि स्वास्थ्य मन्त्रालयमा हाजिर भएकी थिइन् । मन्त्री नियुक्त हुने माहोल बनेपछि उनले आइतबार पदबाट समेत राजीनामा दिएकी थिइन् । ‘मन्त्रिपरिषद्ले मन्त्रीमा सिफारिस गरेकाले उहाँले मन्त्रिपरिषद्मै राजीनामा दिएको बुझिएको छ,’ मन्त्रालयका एक सहसचिवले भने ।

राजीनामा स्वीकृत गरेर मन्त्रीमा सिफारिस गरेलगत्तै मिश्राको विषयमा धेरैतिरबाट गुनासो आएपछि शपथ होल्डमा राख्न प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन् । ‘आर्थिक अनियमिततामा जोडिएको विषय चर्चा भएपछि के कसो भएको हो भनेर अख्तियारमा समेत बुझ्ने काम भयो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘मिश्रामाथि अनुसन्धान जारी रहेको कुरा खुलेपछि मन्त्री नियुक्तिको प्रक्रिया रोकिएको हो ।’ 

अख्तियारका अनुसार मिश्रा र मेडिकल उपकरण खरिद प्रक्रियामा संलग्न स्वास्थ्य मन्त्रालयका अन्य कर्मचारीमाथि अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान भइरहेको छ । उनलाई तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त गरेका थिए । २३ भदौ २०८० मा महानिर्देशक नियुक्त भएकी उनी त्यहाँ रहँदा मेडिकल उपकरण खरिदको विषयमा अनियमितता गरेको आरोपमा विवादमा तानिएकी थिइन् । अख्तियार स्रोतले कोल्पोस्कोप, थर्मोकोमुलेटरलगायत उपकरण खरिदमा उनीमाथि आरोप लागेको र अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । महानिर्देशक रहँदा नै म्यामोग्राम मेसिन आपूर्ति नहुँदै बक्सा मात्र हस्तान्तरण गरेको तस्बिर देखाएर रकम भुक्तानी दिएको विषयमा पनि उनीमाथि अख्तियारमा उजुरी छ ।

सचिव बढुवामा समेत असन्तुष्टि जनाउँदै लामो समय बिनाजानकारी मिश्रा बिदामा बसेको विषयसमेत अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसम्म पुगेको स्रोतले जनायो । अघिल्लो केपी शर्मा ओली नेतृत्व सरकारको पालामा स्वास्थ्य सचिवको पद रिक्त भएपछि नयाँ सचिव नियुक्तिका लागि बढुवा समितिले मिश्रासहित ३ जनाको नाम सिफारिस गरेको थियो । तर तत्कालीन सरकारले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि मिश्राले असन्तुष्टि व्यक्त गरेकी थिइन् । त्यसपछि उनी बिदामा बसेकी थिइन् । 

२०५७ मा स्वास्थ्य सेवा प्रवेश गरेकी मिश्रा बीचमा ‘ग्याप’ गरेर पुनः खुला प्रतिस्पर्धामार्फत २०७० मा सरकारी सेवामा फर्किएकी थिइन् । खुला प्रतिस्पर्धाबाट ११ औं तहमा नाम निकालेकी उनले कोशी अस्पताल तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

सुदीप कैनी कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully