चाडबाडको बेला मुख्य राजमार्गकै दुर्दशा

जवाङखोलामा पहिरो गएर १८ घण्टापछि सडक खुलेलगत्तै तुइनखोलामा झनै ठूलो पहिरो गयो ।

आश्विन ७, २०८२

रमेशकुमार पौडेल

The plight of the main highway during the festival

चितवन — दसैं आगमनसँगै संघीय राजधानी काठमाडौंबाट बाहिरिनेको घुइँचो छ । तर यही बेलामा सडकको अवस्था बेहाल छ । काठमाडौंलाई पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोड्ने मुख्य सडकहरु पृथ्वीराजमार्ग र नारायणगढ मुग्लिन सडक पहिरोका कारणले घण्टौं बन्द हुने गरेका छन् । पहिरो सफा गरेर बल्लतल्ल गाडी खुलाए पनि केही समयपछि फेरि पहिरो खसेर बाटो छेक्ने गरेको छ ।

पृथ्वीराजमार्गको धादिङ जवाङखोला नजिक मंगलबार बिहानै सुक्खा पहिरो खसेका कारण बन्द भएको यातायात खुल्न १८ घण्टा लाग्यो । जवाङको पहिरो खुलेर खुसी भएकाहरुले लगत्तै थाहा पाए नारायणगढ मुग्लिन सडक तुइनखोलामा पहिरो खसेर बन्द भइसकेको थियो ।

तुइनखोलामा भदौ अन्तिमतिरबाट लगातारजसो पहिरो खसिरहेको थियो । पहिरो धेरै ठूलो नभएका कारणले सफा गरेर केहीबेरमै बाटो खुल्दै आएको थियो । तर असोजको सुरुकै दिन शुक्रबार साँझ खसेको पहिरोले लगातार ४५ घण्टा सडक अवरुद्ध गर्‍यो । आइतबार साँझ एकतर्फी खुलेको बाटो सोमबार दिउँसोदेखि मात्रै दुईतर्फी भएको थियो । बेलाबेलामा तुइनखोलामा सुक्खा पहिरो र सानाठूला ढुंगा झर्न रोकिएको थिएन । लगभग दुई दिन बाटो ठप्प हुँदा सडकमै रोकिएका हजारौं गाडी पार भएर सकिएकै थिएनन्, मुग्लिनदेखि पर धादिङको जवाङखोलामा अर्को पहिरो खस्यो ।

तुइनको जाम खुले जवाङ खोलामा पहिरो झर्ने र जवाङको पहिरो सफा गरे तुइनखोलामा ढुंगा खस्ने क्रमले यात्रुलाई हैरानी दिएको छ । मंगलबार साँझ ५ बजेतिर तुइनखोलामा झनै ठूलो पहिरो खसेपछि ठप्प भएको सडक कहिले खुल्छ ? अन्योल छ । 

शनिबार बिहान त्यहाँ खसेको पहिरोले दुई दिन दिनभर बाटो छेक्दा पछिल्लो समय खसेको पहिरो पनि त्यही दिनको जत्रै रहेको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए । 

The plight of the main highway during the festival

राजधानी जोड्ने मुख्य सडकहरुमा पहिरोको पिरलो नयाँ हैन । एक दशकअघि नारायणगढ मुग्लिन सडक खण्डलाई दुई लेनको फराकिलो सडक बनाउने काम सुरु भएसँगै यहाँ पहिरोको समस्या पनि सुरु भएको हो । पछि सडक बराबरका फराकिला पुल बनाउँदा यो समस्या झनै थपियो । सडक बिस्तार गर्दा र पुल बनाउँदा पहाड काटेको ठाउँमा पहिरोले दुख दिन सुरु गरेको हो । 

मुग्लिन पूर्व काठमाडौं छिर्ने नाका नागढुंगासम्म अहिले सडक विस्तारको काम भइरहेको छ । नागढुंगा मुग्लिन सडक योजनाको पश्चिम खण्डमा पर्दछ मलेखु मुग्लिन सडक । योजनाले तीन खण्ड बनाएर बिस्तारको काम गरिरहेको छ । तेस्रो प्याकेजमा पर्ने मलेखुदेखि मुग्लिनसम्मको ३९ किलोमिटर सडक सरासर बनेको भए अहिले लगभग विस्तारको अन्तिम अवस्थामा हुन्थ्यो । सन् २०२२ डिसेम्बर ३० मा तीन वर्षभित्र सकिने गरेर यो खण्डको विस्तारको काम सुरु भएको थियो । अर्थात आउँदो पुस १४ गतेभित्र सडक विस्तार सकिनु पर्नेछ । तर अहिले लगभग ३३ प्रतिशत मात्रै काम भएको नागढुंगा मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले बताए । एकातिर विस्तारको काम अधुरो छ अर्कोतर्फ पहिरोले पनि सताइरहेको छ । ‘यहाँ त्यति ठूलो पहिरो त गएको थिएन तर यो पटक मंगलबार बिहान जवाङखोलानजिक ठूलो पहिरो झर्‍यो,’ इन्जिनियर मिश्रले भने । १८ घण्टापछि पहिरो सफा भए पनि थप खस्ने जोखिम यथावत छ । 

मुग्लिन कटेपछि अढाई किलोमिटर पर इच्छाकामना गाउँपालिका–५ तुइनखोला पुल आडैमा खसेको पहिरोको प्रकृति पनि यस्तै छ । ठूलो मिहेतनले शनिबार र आइतबार दिनभर लगाएर जेनतेन सफा त भयो तर कुन बेला पहिरो या ढुंगा खसेर फेरि बाटो थुन्ने पो हो कि भन्ने आशंका यसै दिन उठेको थियो । नभन्दै राम्रोसँग एक दिन पनि गाडी गुड्न नआउँदै मंगलबार साँझ फेरि तुइनखोलामा ठूलो पहिरो आएर बाटो थुनेको छ । 

तुइनखोलाको पहिरोको मात्रै स्थायी समाधान गर्न करिब १० करोड रुपैयाँ लाग्ने अनुमान छ । तर यो काम तत्काल सुरु गर्न पनि सम्भव छैन । ‘तुइनखोलामा जोखिम बढेर गएको छ । यसको स्थायी समाधान एङ्करिङसहित रकनेटिङ हो । जुन तत्काल सम्भव छैन,’ भरतपुरको डिभिजन सडक कार्यालयका प्रमुख वरिष्ठ डिई नारायणप्रसाद लामिछानेले भने ।

The plight of the main highway during the festival

उनले दसैंलगत्तै सडक विभागबाट विज्ञ टोली बोलाएर अध्ययन गर्ने बताए । त्यसैका आधारमा आउँदो हिउँदमा काम सुरु हुने उनी बताउँछन् । पहिरो रोकथामका लागि एकपटक अध्ययन भइसके पनि हाल पहिरोको क्षेत्र बढेको र स्वरुप पनि बदलिएका कारणले थप अध्ययन आवश्यक देखिएको उनले बताए । पहिला ७० मिटर माथिबाट ढुंगा र गेग्रानसहितको पहिरो खस्ने गर्दथ्यो । यो पटक सय डेढ सय मिटर माथिबाट पत्रैपत्र बनेर बसेका ढुंगाका सानाठूला टुक्रा खसेको हुँदा थप अध्ययन गर्नुपर्ने भएको भरतपुरको डिभिजन सडक कार्यालयका प्रमुख वरिष्ठ डिई नारायणप्रसाद लामिछानेको भनाइ छ । ढुंगाहरु खस्नबाट रोक्न एङ्करिङ गर्नुपर्ने उनले बताए । पहाडी पाखाको सतहमा रहेका ढुंगाहरु तल सडकमा नखसुन् भन्नका लागि पाइप राखेर बलियो चट्टानसँग जोड्ने कामलाई एङ्करिङ भनिन्छ । १०/१५ मिटर भित्रसम्म यस्तो पाइप राख्नु पर्छ ।

त्यसैगरी साना ढुंगालाई तल झर्न नदिन नेट राखेर किला कसेर छोप्ने गरिन्छ । यसरी एङ्करिकसहितको रक नेटिङ नै तुइनखोलाको पहिरो रोक्ने माध्यम भएको डिभिजन सडक कार्यालयका प्रमुख लामिछानेले बताए । तुइनखोलामा दुई लेनमा बिस्तार भएको नारायणगढ मुग्लिन सडक अनुरुपकै फराकिला पुल बनाउन पहाड काटेको ठाउँमा तीन चार वर्षयता पहिरो जान सुरु भएको हो । नारायणगढ मुग्लिन सडकमा २०७६ चैत्रदेखि यस्ता १५ वटा पुल बनाउन सुरु भएको थियो । 

The plight of the main highway during the festival

तुइन खोलामा गत वर्षदेखि पुल बनेर सञ्चालनमा आएको हो। तर पहिरोको समस्या यसअघि बाटै सुरु भएको हो । दुई वर्षअघि असारमा लगातार २८ घण्टा पहिरोले बाटो थुनेको थियो । गत वर्ष त्यत्ति ठूलो समस्या आएको थिएन । यो वर्ष जेठेदेखि नै पहिरो झर्न सुरु भएको थियो । भदौ २६ गतेदेखि दिनदिनै जस्तो पहिरो खसेको डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले बताए । ‘हप्ता दिनदेखि पानी परेको थियो । त्यसैले भिजेको कारणले होला शुक्रबार साँझदेखि स–सानो पहिरो खस्यो । शनिबार बिहान भयङ्कर भयो,’ उनले भने ।

पहिरोको लम्बाइ पुलको नारायणगढतर्फको मुखदेखि झण्डै १६० मिटर रहेको छ । माथि पहाडमा पत्रैपत्र बनेका चट्टान झर्न ठिक्क भएर बसेका छन् । गएको असार १२ गते दिउँसो गाडी नै रोकेर डिभिजन सडक कार्यालयले सडकमा झर्ने खतरा रहेका चट्टानहरु झारेको थियो । त्यो बेला १६ मिटर उचाइसम्मका त्यस्ता चट्टान कार्यालयले तल झारेको थियो । तर शुक्रबार र शनिबार ७० मिटर माथिबाट चट्टान झर्दै सडकमा बजारिए । 

हाल पहिरोको उचाइ बढेर दोब्बर भएको डिभिजन प्रमुख लामिछाने बताउँछन् । ‘माथि रहेका ठूला ढुंगा झार्न सफा गर्न सकिन्छ कि भनेर एक पटक सशस्त्र प्रहरीसँगै गएर अनुगमन पनि गर्ने छौं,’ प्रमुख लामिछानेले भने । तुइनखोलासहित टोपेखोला, नाम्सी पुल, गाईघाट जस्ता ठाउँमा पहिरोको जोखिम छ । ती ठाउँहरुमा पहिरो रोकथामका काम गर्नुपर्ने लामिछाने बताउँछन् । ‘अन्यत्र रक नेटिङसम्म गरे पनि तुइएनमा एङ्करिङसहित रक नेटिङ चाहिन्छ । तुइन खोलाका लागि मात्रै १० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ,’ उनले भने । 

नारायणगढ मुग्लिन सडक संघीय राजधानी काठमाडौंलाई पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोड्ने मुख्य सडक हो । मुग्लिनबाट यो सडक पृथ्वीराजमार्गसँग जोडिन्छ । यी सडकहरु हुँदै दिनहु १५ हजारभन्दा बढी साना ठूला गाडी र मालबाहक ट्रक ओहरदोहर गर्छन् । दसैंमा काठमाडौंबाट बहिरिने र लगत्तै भित्रिने यात्रुको चापले यो सडकमा झन् धेरै गाडी गुड्छन् । यस्तो बेला नारायणगढ मुग्लिन सडकको तुइनखोलाले दुख दिइनै रहेको छ भने यसमा पृथ्वीराजमार्गमा पर्ने जवाङखोला पनि जोडिएको छ ।

जवाङखोलापछि मलेखुनजिक परेवाभीरमा पनि पहिरोको जोखिम रहेको नागढुंगा मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्र । तर ठूलो समस्या तुइनखोलापछि जवाङखोलाकै हुने उनले बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully