प्रहरीबाट लुटिएका हातहतियारहरू समाजमा विभिन्न अपराधमा प्रयोग हुन सक्ने विषय पनि सुरक्षा चुनौतीका रूपमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौँ — २४ भदौमा भड्किएको हिंसात्मक प्रदर्शनबाट मुलुकको सुरक्षा स्थिति कठिन मोडमा पुगेको नेपाल प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीले तयार पारेको आन्तरिक प्रतिवेदनमा प्रदर्शनपछिको विध्वंससँगै सुरक्षाकर्मीहरू ‘मानसिक रूपमा विक्षिप्त’ र ‘मनोबल खस्किएको’ अवस्थामा पुगेको निष्कर्ष निकालिएको हो । प्रहरीले प्रतिवेदनको सार गृहमन्त्री ओमप्रकाश अर्याललाई जानकारी गराइसकेको छ । प्रहरीले प्रतिवेदन भने सार्वजनिक गरेको छैन ।
‘जलेका र क्षतिग्रस्त भएका ब्यारेक, कार्यालय, लत्ताकपडा तथा सवारीसाधनका कारण मानसिक रूपमा विक्षिप्त भएका प्रहरी कर्मचारीहरू मनोबल खस्किएको अवस्था रहेकाले शान्तिसुरक्षा कायम गर्न कठिन भइरहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘विभिन्न बहानामा पुराना राजनीतिक दलहरू, समर्थक/भ्रातृसंगठन, विद्यार्थी संगठनहरूको विरोध प्रदर्शनका कारण दोहोरो झडप तथा मुठभेडको अवस्था आउन सक्नेछ ।’
यही मौकामा हतियारधारी सशस्त्र समूहहरूको उदय हुन सक्ने जोखिम रहेको पनि प्रहरीले विश्लेषण गरेको छ । २०६२/६३ को राजनीतिक परिवर्तनसँगै देशका विभिन्न भागमा सशस्त्र समूहको उदय भएको र अहिले त्यसकै पुनरावृत्ति हुन सक्ने जोखिम औंल्याइएको छ । प्रहरीबाट लुटिएका हातहतियारहरू समाजमा विभिन्न अपराधमा प्रयोग हुन सक्ने विषय पनि सुरक्षा चुनौतीका रूपमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
जेन–जी विद्रोहकै क्रममा ३ प्रहरी प्रदर्शनकारीको कुटाइबाट मारिएका थिए भने साढे ४ सयभन्दा बढी प्रहरी ब्यारेक/कार्यालयहरू तोडफोड र आगजनीमा परेका थिए । यस क्रममा १ हजार २ सयभन्दा बढी हतियार लुटिएका छन् भने करिब १ लाख राउन्ड गोली पनि प्रहरीको अभिलेखबाट गायब भएका छन् । प्रतिवेदनले कारागारबाट कैदीबन्दीहरू भागेकाले आम जनसमुदायमा डरत्रास रहेको, भागेका कैदीबन्दीका कारण समाजमा अन्य जघन्य आपराधिक घटना पनि बढ्न सक्ने भएकाले आगामी दिनका लागि गम्भीर सुरक्षा चुनौती रहेको औंल्याएको छ । हिंसा भड्किएर २६ कारागार तथा बन्दीगृहबाट १४ हजार ४३ कैदीबन्दी भागेकामा अझै ७ हजारभन्दा बढी फरार छन् ।
‘आन्दोलनपश्चात् उत्पन्न भएका र वृद्धि हुन सक्ने सुरक्षा चुनौतीहरू’ शीर्षकअन्तर्गत प्रहरीले चुनौतीहरूलाई उठान गरेको छ । जेन–जीभित्रका असन्तुष्ट पक्षबीच आन्तरिक द्वन्द्व, साइबर अपराधसँगै सामाजिक सञ्जालमा मिस इन्फरमेसन, डिस इन्फरमेसन वृद्धि हुन सक्ने, विभिन्न माध्यमबाट गलत सूचना तथा अफवाह फैलाउने गतिविधि, स्वार्थ प्रेरित शक्तिहरूको चलखेल बढ्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जेन–जी आन्दोलनपछिको हिंसा र आगजनीमा देशभर प्रहरीका १ सय ९७ पूर्ण र २ सय ५८ संरचनामा आंशिक क्षति पुगेको छ । रबर गोली १ हजार ३ सय १५ राउन्ड, ब्ल्यांक राउन्ड २ हजार २ सय २०, अश्रुग्यास सेल ३ हजार २ सय २३ अभिलेखमा भेटिएको छैन । यसबाट कति क्षति भयो भन्ने विवरण संकलनकै क्रममा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका सयौं सवारीसाधन र ठूलो धनराशि खर्चेर किनिएका सञ्चार सेट/उपकरण पनि लुटपाट र आगजनीमा परेका छन् । प्रहरी विवरणअनुसार आगजनी गरिएका प्रहरीका सवारीसाधन ५ सय २५, लुटपाट तथा आगजनी भएका सञ्चार सेटतर्फ एचएफ सेट १, मोवाइल सेट ६४, ह्यान्डहेल्ड सेट ४५१, रिपी सेट १, बेस सेट ४७, चार्जर १ हजार ५३, ब्याट्री २ हजार ३ सय ५३, ह्यान्डहेल्ड मेटल डिटेक्टर २५ थान, वाक थ्रु गेट १५, एक्सरे ब्यागेज स्क्यानर ३ थान, सीसीटीभी मनिटर ११७, सीसीटीभी (भीएमएस/एनभीआर/डीभीआर) १०५, सीसीटीभी १३ सय ५५ वटामा लुटपाट/क्षति भएको छ ।
सरकारले २३ भदौको जेन–जी आन्दोलन र भोलिपल्ट प्रदर्शन भड्किएपछि उत्पन्न हिंसात्मक गतिविधिको न्यायिक जाँचबुझ गरी दोषीलाई कारबाही सिफारिस गर्ने गरी पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरिसकेको छ । तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी आयोग गठन गरिएको हो ।
