रोजगारीका प्रमुख गन्तव्य यूएई र साउदीमा श्रमिक भिसा बन्द

यूएईका लागि असोजमा मात्रै अन्तर्वार्तामा छानिएर भिसा पर्खेर बसेका नेपालीको संख्या १० हजारभन्दा बढी, गत वर्ष मात्रै साउदी अरबमा १ लाख ५२ हजार नेपाली साउदी गएका थिए तर गत भदौ २२ यता भिसा लागेको राहदानी प्राप्त भएको छैन 

आश्विन ७, २०८२

होम कार्की

UAE and Saudi Arabia, the main employment destinations, have suspended worker visas

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा पर्खेर काठमाडौंमा रहेका दोलखाका श्यामबहादुर श्रेष्ठ शनिबार घर फर्किए । रोजगारीका लागि यूएई जान भन्दै उनी घरबाट बिदा भएर आएका थिए । ‘मेरो कम्पनी टुंगो लागिसक्यो । कम्पनीसँग करारपत्रमा हस्ताक्षर पनि भइसक्यो । मेडिकल पास भए । भिसा मात्रै आउन बाँकी थियो । भदौ अन्तिम साता उड्ने तय भइसकेको थियो,’ उनले कान्तिपुरसँग भने, ‘एक्कासि भिसा नै बन्द भयो भन्ने खबर आयो । म्यानपावरले अहिले घर जानू, पछि खबर गरौंला भनेको छ ।’

टाउकामा ऋणको भारी परेपछि उनी यूएई जान लागेका थिए । ‘मैले चरिकोटमा रेस्टुरेन्ट चलाएको थिएँ । त्यो राम्ररी चलेन । १५ लाख रुपैयाँ ऋण छ । यूएई जान दुई लाख रुपैयाँ खर्च भइसकेको छ,’ उनले भने, ‘यूएई जान पाइने भयो । दुई–तीन वर्षभित्र ऋण तिरौंला भन्ने सोचेको थिएँ । घर फर्कनुपर्‍यो । कहिले भिसा आउने हो ? जान पाइने कि नपाइने हो ? मनै खिन्न भइरहेको छ ।’

म्यानपावर व्यवसायीहरूका अनुसार यूएईका लागि असोजमा मात्रै अन्तर्वार्तामा छानिएर भिसा पर्खेर बसेका नेपालीको संख्या १० हजारभन्दा बढी छ । पछिल्लो दुई वर्षयता यूएई नेपालीका लागि प्रमुख गन्तव्य हो । हरेक महिना सरदर ३० हजार नेपालीले रोजगारी पाइरहेका छन् । 

जेन–जी आन्दोलन र हिंसात्मक प्रदर्शनीपछि यूएईले एक्कासि भिजिट भिसा र रोजगारी भिसा दिन रोक लगाएको छ । यसबारे यूएईले नेपाललाई अनौपचारिक जानकारी दिएको छ । ‘यूएईले भिसा रोक्नुको कारण खुलाएको छैन । केही समयका लागि रोकेका छौं भनेर अनौपचारिक संवाद मात्रै भएको छ,’ आबुधाबीस्थित नेपाली दूतावासका एक अधिकारीले कान्तिपुरलाई भने, ‘हामीले यही विषय हाम्रो परराष्ट्र मन्त्रालयमा पठाएका छौं ।’ 

२४ भदौमा देशका विभिन्न जिल्लामा रहेका जेलबाट भागेका कैदीहरू र देशव्यापी रूपमा राष्ट्रिय र व्यक्तिगत सम्पत्तिमा तोडफोड, आगजानी भएको घटना सार्वजनिक भएपछि यूएईले भिसा दिन छाडेको हो । ‘आवश्यक कागजात राखेर भिसाको निवेदन पठाएको एक दिनभित्रै यूएईको भिसा आउँछ । जेलबाट फरार भएका र तोडफोडमा संलग्नहरू यूएई छिर्न सक्ने सम्भावना देखेर सजगता अपनाइएको हुन सक्छ,’ गैरआवासीय नेपाली संघ, यूएईका एक पदाधिकारीले भने, ‘पछिल्लो घटनाले नेपालीको छविमा केही दाग लागेको छ ।’

जेन–जी आन्दोलन र हिंसात्मक प्रदर्शनीपछि यूएईले एक्कासि भिजिट भिसा र रोजगारी भिसा दिन रोक लगाएको छ । यसबारे यूएईले नेपाललाई अनौपचारिक जानकारी दिएको छ ।तीन वर्षअघिसम्म यूएईमा काम गर्ने नेपालीको संख्या तीन लाख मात्रै थियो । कोभिडका बेला डेढ लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएर फर्केका थिए । जब यूएईले विदेशी श्रमिकको संख्यालाई सन्तुलन गर्ने नीति लियो, तबदेखि नेपालीको संख्या ह्वात्तै बढ्न थालेको हो । यूएईको परराष्ट्र मन्त्रालयका अनुसार काममा सबैभन्दा बढी भारतीय, बंगलादेशी र पाकिस्तानका छन् । उनीहरू कुल विदेशी श्रमिकको २८ देखि १२ प्रतिशत छन् । यूएईले बंगलादेशलाई २०२० को डिसेम्बर र पाकिस्तानलाई २०२४ को मध्यदेखि भिसा दिन छाडेको छ । जसको औपचारिक घोषणा भने भएको छैन । 

दुई देशका नागरिकलाई भिसा दिन छाडेपछि नेपालीले कोटा बढी पाउन थालेका हुन् । पछिल्लो दुई वर्षमा मात्रै भिजिट र रोजगार भिसा लिई यूएईमा काम गर्ने नेपालीको संख्या ८ लाख पुगिसकेको छ । अन्य गन्तव्य मुलुकमा यति धेरै नेपाली छैनन् । सेवा क्षेत्रमा नेपालीको उपस्थिति बलियो देखिएको यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको भनाइ छ । ‘पछिल्लो समयमा सीपयुक्त जनशक्ति बढ्दै छ । यसले नेपालीको आम्दानी पनि बढेको छ । नेपालमा रेमिट्यान्स बढ्नुको एउटा प्रमुख कारण यूएईको श्रम बजारमा नेपालीको बलियो उपस्थिति पनि हो,’ क्षेत्रीले भने । 

गत आर्थिक वर्षमा मात्रै ८ लाख ३९ हजार नेपालीले श्रम स्वीकृति लिएका थिए । त्यसमा यूएईमा मात्रै जानेको संख्या ३२.६४ प्रतिशत छ । अर्थात् गत वर्ष २ लाख ६४ हजार जना यूएई गएका थिए । जेन–जीको आन्दोलनपछि साउदी अरबले पनि भिसा जारी गरेको छैन । साउदी नेपालको अर्को दोस्रो प्रमुख गन्तव्य हो । गत वर्ष मात्रै साउदी अरबमा १ लाख ५२ हजार नेपाली साउदी गएका थिए । भदौ २२ यता भिसा लागेको राहदानी प्राप्त नभएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले बताए । ‘२२ भदौयता केही म्यानपावर कम्पनीले नेपालमा रहेको साउदी दूतावासमा भिसा लगाउन राहदानी बुझाएको छ । त्यो राहदानी फिर्ता भइसकेको छैन,’ उनले कान्तिपुरलाई भने, ‘हामी भिसा लागेको राहदानी पाउने आशामा छौं ।’

UAE and Saudi Arabia, the main employment destinations, have suspended worker visasव्यवसायीका अनुसार दूतावास रियादको निर्णय पर्खेर बसिरहेको छ । साउदीले भिसा दिन बन्द गरेको सूचना आफूहरूले औपचारिक रूपमा नपाएको साउदीका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले बताए । ‘नेपालीलाई भिसा दिन बन्द गरेको औपचारिक सूचना हामीसँग छैन । यस विषयमा हामीले बुझ्नुपर्छ,’ उनले भने । साउदी अरब र कुवेतबाहेक देशले प्रहरी रिपोर्टबिना नै भिसा जारी गर्दै आएको छ । कूटनीतिक हिसाबले समयमा नै समस्या सल्टाउन जरुरी रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहण गुरुङले बताए । ‘जेल तोडेर भागेपछि सम्बद्ध देशले सतर्कता अपनाउने विषयलाई अन्यथा मान्नु हुँदैन । 

नेपालले अपराध भए नभएको अभिलेख हेरेर मात्रै प्रहरी प्रतिवेदन जारी गर्छ । यसबारे कूटनीतिक माध्यमबाट सबै गन्तव्य देशलाई समयमा नै जानकारी दिनुपर्छ,’ उनले भने । नेपालीको प्रमुख गन्तव्य मलेसिया पूर्ण रूपमा नखुलिरहेको अवस्थामा खाडी देशका प्रमुख गन्तव्य मुलुकले भिसा दिन बन्द गरेमा बेरोजगार युवा बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने श्रम विज्ञ गणेश गुरुङको भनाइ छ । २०२४ को मे ३१ देखि मलेसियाले नेपालसहित स्रोत देशबाट श्रमिक लैजान बन्द गरेको नीतिलाई पूर्ण रूपमा खोलेको छैन । सीमित क्षेत्रमा मात्रै खोलेको छ । 

अर्कोतर्फ इजरायल र कतारबीच तनाव बढ्दै गएपछि खाडी क्षेत्रकै रोजगारीको भविष्य संशयपूर्ण बन्दै गएको छ । ९ सेप्टेम्बरमा इजरायलले कतारमा आक्रमण गरी त्यहाँका सुरक्षा अधिकृतसहित हमासका उच्च नेता मारिदिएको थियो । साउदी, यूएईसहितका छिमेकी देशको साथ लिएर कतारले इजरायलविरुद्ध अन्तर्राष्ट्रियस्तरमा कदम चालिरहेको छ । यो तनाव थप बढ्दै गए रोजगारी झन् संकटतर्फ धकेलिने सम्भावना बढेको संघका पूर्वअध्यक्ष गुरुङ बताउँछन् । यस विषयमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पछिल्लो घटनाबारे आफूले बुझिरहेको प्रतिक्रिया दिए ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully