पुनर्निर्माण रोकिँदा अधुरो मन्दिरमा दसैंको पूजा

पुननिर्माणको काम रोकिँदा सल्यानको शारदा नगरपालिका-११ खैराबाङस्थित खैराबाङ भगवती मन्दिर अधुरै अवस्थामा रहेको छ ।

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

Dasain Puja in the unfinished temple when the reconstruction stopped

काठमाडौँ — पुरातत्व विभागको बहुवर्षीय योजनाअन्तर्गत २०७९/०८० देखि प्यागोडाशैलीमा पुननिर्माण थालिएको खैराबाङ भगवती मन्दिरको काम दुई वर्षदेखि रोकिएको छ ।

विभागले समयमै बजेट सुनिश्चित तथा विनियोजन गर्न नसक्दा शारदा नगरपालिका-११ मा रहेको धार्मिक तथा पर्यटकीयस्थलका रुपमा परिचित भगवती मन्दिर अलपत्र परेको हो ।

विभागले प्यागोलाशैलीमा मन्दिर निर्माण गर्न २०७९/०८० मा ८० लाख विनियोजन गरेको थियो । विभागले टेन्डर गरेपछि ७५ लाख ८३ हजारमा आरएस शारदा जेभी निर्माण कम्पनीले काम गर्ने जिम्मेवारी पाएको थियो । 

विनियोजित बजेट अनुसार ०८०/०८१ असोजमा कम्पनीको काम सकिएको छ । गत वर्ष र यो वर्षका लागि सम्बन्धित निकायले अहिलेसम्म बजेट सुनिश्चित नगर्दा अधुरो मन्दिरको माथिल्नो भाग प्लाष्टिकले छोपेर पूजाआजालाई निरन्तरता दिइएको छ । 

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भव्य मेला लाग्ने यहाँ जिल्लाबाहिरका सयौं तीर्थयात्री पूजाआजाका लागि आउने गर्छन् । यसपालि घटस्थापनाको पूजा पनि अधुरै रहेको मन्दिरमा गरिएको छ । अधुरो मन्दिरमा पूजा गर्नुपर्दा मनै खिन्न भएको दाङबाट आएकी पूर्णिमा रावतले बताइन् । 

मन्दिर संरक्षण समितिका अध्यक्ष छविकुमार शर्माले सरकारले बजेट विनियोजन गर्न नसकेकै कारण निर्माणको काम रोकिएको र दसैंको समयमा पूजाआजा गर्दा असुहाउँदो भएको बताए । बजेट नआएकै कारण मन्दिर निर्माणको काम ७० प्रतिशतमै रोकिएको उनको भनाइ छ ।

उनका अनुसार २०४० सालअघि मन्दिर प्यागोडाशैलीको दुई तला भएको काठैकाठले बनेको थियो । एउटा झ्याल थियो । अहिले झ्यालबाहेक सबै पहिलाको जस्तै बनाउने योजना अनुसार मन्दिरको दोस्रो तलाको पर्खालको काम सकिएको छ । अब झ्याल र छाना हाल्न बाँकी छ । यसका लागि पुरातत्व विभागले यो वर्ष २५ लाख छुट्याएको अध्यक्ष शर्माले बताए । 'अहिलेसम्म टेन्डर गरेको छैन । काम कहिले अगाडि बढाउने हो थाहा छैन,’ उनले भने ।

पुरातत्व विभागको बजेटले नपुग्ने जस्तो भएपछि शारदा नगरपालिकाले पनि बजेट विनियोजन गरेको छ । वर्षाको समयमा पानी मन्दिरमा पस्न नपाओस् र मूर्तिलाई असर नगरोस् भनेर प्लास्टिककले छोप्न बाध्य भएको उनको भनाइ छ । 

धार्मिक शास्त्रअनुसार खैराबाङ भगवती मन्दिर नेपालमा रहेका ५१ शक्तिपीठमध्ये एक पवित्र मन्दिरका रुपमा चिनिँदै आएको छ । १४८० सालदेखि मन्दिरमा पूजाआजा सुरु गरेको किंवदन्ती छ । विगतमा चैते र बडादसैंमा मात्र भक्तजनहरुको भिड लाग्ने मन्दिरमा केही वर्षयता यातायात सहज भएपछि बाह्रै महिना भक्तजनको भिड लाग्ने गर्छ । 

कान्तिपुर संवाददाता

Link copied successfully