बानेश्वरमा छतबाट गोली हानेको भन्दै भाइरल भिडियो भ्रामक

भाइरल भएको भिडियोलाई स्लोमोसनमा हेर्दा छतमा बसेका मान्छेले पेस्तोल नभई मोबाइलबाट तस्बिर खिचिरहेको देखिन्छ ।

आश्विन ६, २०८२

कान्तिपुर संवाददाता

Viral video of Baneshwar firing from rooftop misleading

काठमाडौँ — सामाजिक सञ्जाल फेसबुक, एक्सलगायतमा जेन-जी प्रदर्शनका बेला नयाँ बानेश्वरस्थित एक घरको छतबाट गोली चलाइएको भन्दै भ्रामक भिडियो फैलाइएको पाइएको छ । 

@RamilaNepal7 ह्यान्डल भएको एक्स एकाउन्टमा छोटो भिडियो सेयर गर्दै रमिला नेपालले ‘संसद् भवन अगाडि माथिबाट लुकेर पेस्तोल चलाउने को होला ?’ भनेर लेखेकी छन् । उनले अगाडि ‘यस्ता प्रमाणहरू सुरक्षित रहलान् कि नरहनलान् ?’ भनेर प्रश्नसमेत गरेकी छन् । 

सोमबार बिहान ७:५६ मा उनले पोस्ट गरेको भिडियोमा १० हजार भ्युज छन्, ५४ पटक रि-सेयर भएका छन् । एमाले पृष्ठभूमिका अन्य कतिपयले समेत यो भिडियो सेयर गरिरहेका छन् ।

खासगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक ब्यारेकबाट फर्किएर सार्वजनिक भएलगत्तै ‘प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको’ भन्दै छानबिन हुनपर्ने बताएपछि यसले तरंग ल्याएको थियो । त्यसपछि यस किमिसका भिडियो सार्वजनिक भइरहेका छन् ।  सामाजिक सञ्जालमा अत्यधिक सेयर हुन थालेपछि भिडियो कसरी फैलियो भन्नेबारे कान्तिपुरले खोजी गरेको छ । 

सामाजिक सञ्जालमै उपलब्ध भिडियो ट्रेस गर्ने क्रममा यो भिडियो पहिलो पटक सेप्टेम्बर ८ (२३ भदौ) मा एकजना महिलाले सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरेको देखियो । त्यो भिडियो १५ हजार ८ सय पटक लाइक गरिएको छ भने ४५५ सेभ्स र १ हजार ६१७ पटक सेयर भएको देखिन्छ ।

८ सेप्टेम्बरमै ‘डेजाभु’ नामक टिकटक एकाउन्टबाट समेत यो भिडियो अपलोड भएको देखिन्छ । दुवै भिडियोलाई स्लोमोसनमा हेर्दा छतमा बसेका मान्छेले पेस्तोल नभई मोबाइलबाट तस्बिर खिचिरहेको देखिन्छ । 

जतिबेला यो भिडियो खिचिएको थियो, त्यसबेला संसद् भवनभित्रबाट अश्रुग्यास र हवाई फायर भइरहेको थियो । त्यही कारण उनले छलिने कोसिस गर्दै तस्बिर खिचेको देखिन्छ ।

हेर्नुहोस् भिडियो  

कहाँको हो भिडियो ? कहाँबाट खिचियो ? 

सामाजिक सञ्जालमा उपलब्ध फुटेजहरूकै विश्लेषणले पेस्तोल भन्दै सार्वजनिक गरिएको क्लिप भ्रामक भएको देखाए पनि कहाँबाट खिचिएको थियो ? कोट पाइन्ट लगाउने व्यक्ति कहाँ बसेका थिए ? भन्ने थाहा पाउन कान्तिपुर संसद् भवन आसपासमा रहेको भवनमा समेत पुगेको छ । त्यसक्रममा त्यो भिडियो स्ट्यान्डर्ड चार्टर्ड बैंकको छतको भएको खुल्यो । त्यहाँ रेस्टुरेन्टसमेत रहेको देखिन्छ । 

Viral video of Baneshwar firing from rooftop misleading

तर, सार्वजनिक भिडियो स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट खिचिएको भने होइन । बानेश्वरबाट शंखमूल जाने बाटोतर्फ हिमालय जाभा भएको भवनको छतबाट त्यो भिडियो खिचिएको देखिन्छ । सुरुमा अपलोड भएको भिडियोमा ‘रातो जस्ता पाता’ देखिन्छ, जुन हिमालय जाभा भएको भवनको छतमा राखिएका छन् ।

माथिल्लो तलामा ट्राभल एजेन्सी, सहकारीलगायतका कार्यालय छन् । सोमबार सार्वजनिक बिदा भएकाले धेरै कार्यालय खुलेका छैनन् ।  तर, खुला रहेका केही कार्यालयका कर्मचारीसँग कुराकानी गर्दा थाहा भयो, त्यो भिडियो टिकटकमा पहिलो पटक पोस्ट गर्ने युवती एक सहकारीकी कर्मचारी हुन् । त्यसैले पेस्तोलले गोली हान्दै गरेको भन्दै सार्वजनिक भिडियो क्लिप भ्रामक रहेको देखिन्छ ।  

कान्तिपुर

Link copied successfully