तुइनख‍ोलामा दुईतर्फी नै गाडी चल्न थाल्यो

पहिरोको जोखिम कायमै रहेका कारण हिजोराति नौ बजेदेखि आज बिहान पाँच बजेसम्म जिल्ला सुरक्षा समितिले यो सडकमा यातायात बन्द गरेको थियो ।

आश्विन ६, २०८२

रमेशकुमार पौडेल

Two-way traffic started in Tuinkhola

चितवन — तुइखोलाको पहिरो पूर्ण रूपमा सफा गरेपछि सोमबार साँझ साढे पाँच बजेदेखि दुईतर्फी नै गाडी चल्न सुरु भएको छ । तुइनखोलामा शुक्रबार साँझ पहिरो गएपछि बन्द भएको नारायणगढ -मुग्लिन सडक ४५ घण्टापछि हिजो आइतबार दिउँसो सवा चार बजेदेखि एकतर्फी मात्र खुलेको थियो ।

पहिरोको जोखिम कायमै रहेका कारण हिजोराति नौ बजेदेखि आज बिहान पाँच बजेसम्म जिल्ला  सुरक्षा समितिले यो सडकमा यातायात बन्द गरेको थियो ।

बिहानदेखि एकतर्फी चलिरहेको सडक दुईतर्फी नै सञ्चालन गर्न दिउँसो एक बजेदेखि फेरि गाडी  रोकेर पहिरो सफा गर्न सुरु भएको थियो । तीन बजेसम्म सडक बन्द गर्ने भने पनि काम गर्दै जाँदा साढे पाँच बजेको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले बताए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully