विशेष महाधिवेशनको मुद्दाले कांग्रेसमा हलचल

कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको समूह तत्काल पार्टीको नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने निष्कर्षसहित विशेष महाधिवेशनको पक्षमा जुटेको छ । संस्थापन पक्षले भने यसको विरोध गरेको छ ।

आश्विन ६, २०८२

कुलचन्द्र न्यौपाने

The issue of a special convention stirs up Congress

काठमाडौँ — जेन–जी आन्दोलनले उठाएको परिवर्तनको माग तत्काल सम्बोधन गरेर जाने कि यथास्थितिमै पार्टी चलाउने भन्नेमा कांग्रेसभित्र मतभेद बढेको छ । कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको समूह तत्काल पार्टीको नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने निष्कर्षसहित विशेष महाधिवेशनको पक्षमा जुटेको छ । संस्थापन पक्षले भने यसको विरोध गरेको छ ।

कांग्रेसमा विषम परिस्थितिमा केन्द्रीय कार्यसमिति आफैंले निर्णय गरेर विशेष महाधिवेशन बोलाउन सक्ने प्रावधान छ । अर्कोतर्फ केन्द्रीय महाधिवेशनका प्रतिनिधिमध्ये ४० प्रतिशतको हस्ताक्षरसहित निवेदन दिएमा सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने विधानको व्यवस्था पनि छ ।

यी दुवैका लागि संस्थापन पक्ष सकारात्मक नभएपछि महामन्त्रीद्वय थापा र शर्मा खेमाका नेताहरू प्रतिनिधिहरूको हस्ताक्षर अभियानको तयारीमा जुटेका छन् । संस्थापन इतरपक्षीय नेता गुरुराज घिमिरेका अनुसार तत्काल विशेष महाधिवेशन बोलाउन सोमबार औपचारिक रूपमा प्रतिनिधिहरूको हस्ताक्षर अभियान सुरु गर्न लागिएको बताए ।

‘आगामी मंसिरमै नियमित महाधिवेशन हुन सक्दैन । नियमित महाधिवेशनका लागि अझै धेरै प्रक्रिया बाँकी छन्,’ घिमिरेले भने, ‘अहिलेको विषम परिस्थितिमा टालटुले समाधानले हुँदैन । यस्तो परिस्थिति किन आयो ? कसका कारणले आयो ? कतै हामीले लिएकै नीति र चालेका कदमले त यस्तो अवस्था आएको होइन ? आज नेतृत्वबारे भ्रष्टाचार, बेथिति र कुशासनका प्रश्नहरू छन् । यी यावतबारे छलफल गर्न अब कार्यकारी निकायबाट हुन्न । विशेष महाधिवेशन नै आवश्यक पर्छ । त्यसका लागि केन्द्रीय कार्यसमिति आफैंले बोलाए राम्रो, नभए हामी ४० प्रतिशतको हस्ताक्षर गरेर निवेदन दिन्छौं ।’ 

विशेष महाधिवेशन बोलाउन महामन्त्रीद्वय थापा र शर्माले लिइरहेको नेतृत्वदायी भूमिकाप्रति संस्थापनपक्ष भने असन्तुष्ट छ । नेता प्रकाशमान सिंहको चाक्सबारीस्थित निवासमा सोमबार बसेका पाँच पूर्वपदाधिकारीहरूले भने विशेष वा मंसिरभित्र नियमित महाधिवेशन सम्भव नभएको निष्कर्ष निकालेका छन् । बैठकमा कांग्रेसका पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह र प्रकाशशरण महत उपस्थित थिए । 

पार्टी प्रवक्तासमेत रहेका महतले सभापति उपचारकै क्रममा रहेका बेला मानवीय रूपमा पनि नेतृत्वलाई हटाई हाल्नुपर्ने भनेर विशेष महाधिवेशनको कुरा उठाउनु ठीक नभएको बताए ।

‘पार्टी सुधार नगरौं भन्ने पक्षमा हामी पनि होइन । तर, उपचाररत सभापति फर्कन नपाउँदै विशेष महाधिवेशन बोलाउने कुरा गर्नु, अहिल्यै नेतृत्व हटाउनुपर्छ भन्नु राम्रो होइन,’ महतले भने, ‘सभापति आएपछि केन्द्रीय कार्यसमितिको बैठकबाट कसरी अघि बढ्ने, छलफल गर्न सकिन्छ ।’ २४ भदौमा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत रहेको कांग्रेस नेताहरूले बताएका छन् । 

The issue of a special convention stirs up Congress

तर, महामन्त्री थापा र शर्माले कांग्रेसभित्रका युवा जमातको भावना सम्बोधन गर्न पार्टीको नीति र नेतृत्व नै बदल्नुपर्नेमा जोड दिँदै आएका छन् । महामन्त्री थापाले गत शनिबार भिडियोमार्फत नीति र नेतृत्वका लागि हस्तक्षेप गर्ने सन्देश दिएका छन् ।

‘यत्रो उथलपुथल भएको छ, के हामीले पार्टीलाई जस्ताको तस्तै राखेर टिकाउन सक्छौं, यो सम्भव छैन,’ थापाले भनेका छन्, ‘हामीले जहिले पनि सही कुरा उठायौं, तर बीचमै छाड्यौं, यो हाम्रो कमजोरी हो । यो पटक हामी छाड्दैनौं ।’ पार्टी पुनर्गठन नभए आन्दोलनमा व्यक्त भावना र युवाको अपेक्षा सम्बोधन गर्न नसकिने उनले बताएका छन् ।

थापाले २०१४ मा पनि विशेष महाधिवेशन भएकाले यस पटक पनि विशेष महाधिवेशनबाट पार्टीको नीति र नेतृत्व परिवर्तन गर्न सकिने बताएका छन् । ‘०१२ सालमा निर्वाचित सुवर्णशमशेर राणा नेतृत्वको कार्यसमितिले विशेष महाधिवेशनको निर्णय गर्‍यो । सुवर्णजीले राजीनामा दिएर बाटो खोलिदिनुभयो र ०१४ मा बीपी कोइराला सभापति बन्नुभयो । त्यही नेतृत्वले कांग्रेसलाई दुई तिहाइ बहुमतसहितको पार्टी बनायो । आज फेरि त्यस्तै अवसर आएको छ,’ थापाले भनेका छन् । 

उनले नेतृत्वले चाहेमा पुराना क्रियाशील सदस्यताको नवीकरण गर्ने, दुई महिनाका लागि नयाँ सदस्यता खोल्ने, विधानका धारा निलम्बन गरी सिधै केन्द्रीय अधिवेशन गर्ने गरी नियमित महाधिवेशनमा समेत जान सकिने विकल्प प्रस्तुत गरेका छन् । त्यसो नभएमा १४औं महाधिवेशनका मतदाता प्रतिनिधिबाट विशेष महाधिवेशनमा जाने विकल्प उनको छ । 

युवा नेताहरूले नेता शेखर कोइराला र महामन्त्री थापालाई विशेष महाधिवेशनको एजेन्डामा जोड्न खोजेका छन् । नेता घिमिरेका अनुसार कोइरालासमेत केन्द्रीय कार्यसमितिबाटै विशेष महाधिवेशन बोलाउनुपर्ने पक्षमा छन् । सहमहामन्त्री जीवन परियारले पनि कोइराला र थापाबीच एजेन्डामा फरक मत नरहेको बताए । ‘विशेष महाधिवेशन बोलाएर पार्टीका नीति, कार्यक्रम र नेतृत्वको चयन हुनुपर्छ भन्नेमा महामन्त्री र शेखर दाइबीच फरक मत छैन, हामी सबैको एजेन्डा हो,’ परियारले भने ।

केन्द्रीय सदस्य नैनसिंह महर भने विशेष महाधिवेशनमा गएर पार्टीभित्र विभाजन कोर्नुभन्दा तीन महिनापछि नियमित महाधिवेशनमै जानुपर्ने बताउँछन् । आगामी मंसिरदेखि वर्तमान सभापतिसहित सबै पदाधिकारी र केन्द्रीय सदस्यको कार्यकाल सकिने हुँदा त्यसै मितिमा नियमित महाधिवेशन गर्न सकिने उनको धारणा छ ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully