गोरखा दरबारमा राखियो जमरा 

गोरखकालीको दसैंघरमा एक पाथी र गोरखनाथ मन्दिरमा एक पाथी जौको जमरा राखिएको छ

आश्विन ६, २०८२

हरिराम उप्रेती

गोरखा — नवरात्रको पहिलो दिन सोमबार गोरखा दरबारस्थित दसैंघरमा विधिपूर्वक जमरा राखिएको छ । बिहान ९ बजेर १३ मिनेटको साइतमा विधिपूर्वक जमरा राखिएको गोरखा दरबारका कर्मचारी हरि सारूले बताए । गोरखकालीको दसैंघरमा एक पाथी र गोरखनाथ मन्दिरमा एक पाथी जौको जमरा राखिएको उनले बताए । 

तल्लो कोट र उपल्लो कोटमा पनि ९.१३ को साइतमा जमरा राखिएको छ । गोरखा दरबारमा जमरा राख्ने साइतमा स्थानीयहरूले पनि घर/घरमा जमरा राख्ने प्रचलन रहँदै आएको छ । जमरा राख्नुपूर्व सोमबार बिहान गोरखकाली भगवतीलाई कैलाशकोठाबाट गर्भगृह (दसैंघर)मा सवारी गराइएको थियो ।

झिसमिसे उज्यालोमा भगवती सवारी गर्ने प्रचलन रहँदै आएको छ । भगवतीलाई विजयादशमीको दिन गोरखा दरबारमै रहेको कन्ये कोठामा लगेर राखिने पूर्णिमाको दिन पुन: कैलाश कोठामा लगेर राखिने पनि उनले बताए । नवरात्रभर गोरखा दरबारमा विशेष पूजा हुने गर्छ ।  

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully