'६ महिनाको मात्र कार्यकाल छ । विज्ञहरुको सुझावमा मन्त्रालय चलाउँछु । यही मन्त्रालयभित्र २४ घण्टा बस्छु । मिटिङ भए मात्र बाहिर निस्कन्छु । शुद्ध मनले सुझाव दिन आउनुस् ।'
काठमाडौँ — नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरुबाट प्राप्त सुझावकाे आधारमा मन्त्रालय चलाउने बताए ।
शपथ ग्रहणपछि केशर महलस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले शिक्षा र विज्ञान प्रविधि क्षेत्रका विज्ञलाई शुद्ध मनले सुझाव दिन आग्रह गरे । '६ महिनाको मात्र कार्यकाल छ । विज्ञहरुको सुझावमा मन्त्रालय चलाउँछु । यही मन्त्रालयभित्र २४ घण्टा बस्छु । मिटिङ भए मात्र बाहिर निस्कन्छु । शुद्ध मनले सुझाव दिन आउनुस्,' उनले भने ।
देश हित र सुधार गर्न दिएको सुझाव तत्काल कार्यान्वयन गरिने उनले जनाए । मन्त्री पुनले भने, 'सपार्न दिएको सुझाव तत्काल लागू हुन्छ । व्यक्तिगत स्वार्थमा ढिलासुस्ती, तानतुन र अल्झाउने काम भने सहन सकिँदैन । उनले कमर्चारीलाई ढिलासुस्ती र लोभ लालाचन छोड्न निर्देशन दिए ।
विगतमा सरकारमा बसेकाहरुको व्यक्तिगत लोभ र ढिलासुस्तीको कारण जेन–जी आन्दोलन भएको बताए । आन्दोलनपछि सरकारमा बसेकाहरु बदमान हुन पुगेको उनको भनाइ थियो । 'यसबाट पाठ सिकौँ भविष्यमा फेरि यस्तो नहोस्,' उनले भने, 'प्वाल परेको ठाउँहरु सबै मिलेर सिलाऔँ । टालौँ ।'
