जेन-जी आन्दोलनपछि परदेशमा रहेका नेपालीको चासोको केन्द्रमा देश

के अब जेन-जीहरूले भनेजस्तै देशमा परिवर्तन होला त ? कान्तिपुरसँग कुराकानी गर्दै परदेशमा रहेका केही जेन-जीहरुले आफ्ना विचार साटेका छन् ।

आश्विन ६, २०८२

आरती पौडेल

After the Gen-G movement, the country became the center of interest for Nepalis living abroad

काठमाडौँ — जेन-जी आन्दोलन र त्यसपछिको प्रदर्शनका घटनामा ७४ जनाले ज्यान गुमाए । सयौं घाइते अहिले पनि अस्पतालमा उपचाररत छन् । नयाँ सरकार निर्माणको प्रक्रिया जारी छ । नयाँ चुनावको मिति तोकिएको छ । के अब जेन-जीहरूले भनेजस्तै परिवर्तन होला त ? कान्तिपुरसँग कुराकानी गर्दै केही जेन-जीहरुले आफ्ना विचार साटेका छन् ।

After the Gen-G movement, the country became the center of interest for Nepalis living abroadचितवन घर भएका २६ वर्षीय सञ्जीव ओझा दुई वर्षयता बेलायतमा अध्ययनरत छन् । डिजिटल मार्केटिङमा स्नातकोत्तर गरेका उनलाई नेपालमा हुँदा राजनीतिबारे खासै चासो थिएन । जब परदेश पुगे तब उनले देशको राजनीति र यहाँको अवस्थाबारे रुचि राख्न थाले । २३ भदौमा जेन–जीहरु सडकमा उत्रिएर भ्रष्टाचार विरुद्ध आन्दोलन गरेको खबर सुनेपछि उनी उत्साहित भए । आफ्नो पुस्ताले देशका लागि साहसिक कदम उठाएको भन्दै उनी सकारात्मक थिए । त्यही भएर त उनले नेपालमा बस्ने साथीलाई आफू विदेश भए पनि पूर्ण साथ र समर्थन रहेको भन्दै हौसला थपे । जेन-जीहरूले सुरु गरेको शान्तिपूर्ण आन्दोलन हेर्दाहेर्दै हिंसामा बदलिएको देखेपछि भने उनी छटपटाए ।

आन्दोलनका क्रममा केहीको मृत्यु र केही घाइते भएको देखेपछि उनी निराश भए । उनले सुनाए, 'युवाले देश परिवर्तनको लागि चालेको कदम निकै राम्रो हो । युवा नै अगाडि आउनुपर्छ भन्ने कुराले पनि खुसी थिएँ तर देश परिवर्तनका लागि आन्दोलनमा गएका उनीहरूलाई ताकीताकी गोली हानेर हत्या भएको देख्दा निकै नै मन दुख्यो ।’

सञ्जीवले आन्दोलनको समाचार र भिडियो देखेर आफूलाई निकै नै गाह्रो भएको बताउँदै भने, ‘रगतले भिजेको जुत्ता देख्दा, घाइतेलाई हस्पिटल लैजाँदै गरेको दृश्य देख्दा, रगताम्य सडक देख्दा सरकारप्रति निकै नै आक्रोश जागेको थियो ।' उनले देशले परिवर्तन मागेको तर मृत्यु नमागेको बताए । भने, 'शान्तिपूर्ण आन्दोलनमा गोली हान्न आदेश दिने जो भएपनि कारबाही हुनुपर्छ ।'

After the Gen-G movement, the country became the center of interest for Nepalis living abroadजापान बस्ने धादिङकी २४ वर्षीय सुमिना पौडेललाई आफ्नै उमेरका साथीहरू सडकमा आएको देखेपछि नेपाल फर्केर आन्दोलनमा जाउँ कि भनेजस्तो भएको बताइन् । केही महिनाअघि मात्रै जापान पुगेकी उनले आन्दोलनमा पुगेकामाथि गोली प्रहार भएको घटनाले आफूलाई विचलित बनाएको बताइन् । उनले देशका विभिन्न ठाउँमा आगजनी भएको र कैदीबन्दी भागेको सुन्दा आफूलाई दु:ख लागेको बताइन् । भनिन्, ‘सिंहदरबार दनदन बलेको देख्दा, अदालत जलेको देख्दा, कैदीहरु जेलबाट भागेको देख्दा, निकै नै गाह्रो भयो । यो सपना मात्र होस् र म नेपाल फर्केर जाँदा सबै संरचनाहरू पहिलाको जस्तै होस् भनी प्रार्थना गरेँ ।'

सुमिनाले जेन-जी आन्दोलनमा घुसेकाहरूले यस्तो गरेको हुन सक्ने बताउँदै भनिन्, ' यो काम जेन,जीको हो जस्तो पनि लाग्दैन । भिडियो हेर्दा आगो लगाउने उमेर भएका देखिन्छन् । मौकाको फाइदा उठाउने काम भएको छ । देश जलाउनेहरू कहिल्यै देशको भलो चाहने व्यक्ति हैनन् ।' उनले देश विकास गर्न, देशलाई भ्रष्टाचारमुक्त बताउन जेन–जीहरुले लडेको बताउँदै यो परिवर्तनलाई सार्थक बनाउन निरन्तर खबरदारी गर्नुपर्ने बताइन् ।

After the Gen-G movement, the country became the center of interest for Nepalis living abroadफिनल्यान्ड लोउरीया युनिभर्सिटी अफ अप्लाइड साइन्समा ब्याचलर्स् इन बिजनेस इन्फर्मेसन टेक्नोलोजी विषयमा अध्ययनरत गरिरहेका कास्की घर भएका २१ वर्षीय राम पौडेलले जेन-जी आन्दोलनपछि भ्रष्टाचार हट्ने र जलेका संरचनाहरू फेरि बन्ने आशा व्यक्त गरे । भने, ‘आन्दोलनमा सहिद हुनेहरू फेरि ल्याउन सकिँदैन । देशले त्यति धेरै देशप्रेमी गुमायो यो निकै दुःखको कुरा हो तर संरचनाहरू त सबै मिलेर फेरि बनाउन सकिन्छ ।’ उनले भ्रष्टाचार गर्न खोज्नेहरू यो आन्दोलनको शक्तिले गर्दा डराउँछन् कि भन्ने आशासमेत व्यक्त गरे । भने, ‘देशमा यति धेरै तहसनहस भयो । अब त भ्रष्टाचार गर्न खोज्ने नेता हुन् वा कर्मचारी आन्दोलनको बेला नेताको घर जलेको देखेर पनि गर्दैनन् जस्तो लागेको छ ।’

After the Gen-G movement, the country became the center of interest for Nepalis living abroadजेन-जी विद्रोहका हरेक साना, ठूला घटनाहरूको अपडेट लिइरहेका छन् परदेशमा बस्ने नेपालीहरु । तीनैमध्येकी एक हुन्, पर्वत घर भई हाल नर्वेको राजधानी ओस्लो बस्दै आएकी २५ वर्षीया सुनिता चापागाईँ । सुनिताले जेन–जी आन्दोलनपछि अझै धेरै देशको माया लाग्न थालेको बताइन् । उनलाई पहिलाका वर्षहरूमा चाडपर्वको समयमा घर परिवार सम्झेर न्यास्रो लाग्ने गरेको तर अहिले नेपालमा आन्दोलनका क्रममा भएको मानवीय तथा संरचनागत क्षतिले देशको याद र चिन्ता दुवै लागेको बताइन् ।

भनिन्, ‘पहिले दसैं तिहारको रमाइलो याद आउँथ्यो । सानो बेलाको रातो टीका र जमरा लगाएको रमाइला क्षण सम्झेर घर जाउँजस्तो हुन्थ्यो तर यसपाला त चाडपर्व निकै खल्लो हुने भयो,’ उनले भनिन्,‘आन्दोलनमा सडकमा देखेको रातो रगत र त्यो सेतो जुत्तामा लागेको रगत, हामीले गुमाएका हाम्रा साथीहरू, घाइते भएका साथी र संरचना जल्दै गरेको त्यो समय मात्र दिमागमा घुमिरहेको छ । कामबाट थाकेर घर आउँदा पनि निद्रा लाग्दैन त्यही आन्दोलन, रगत र आगो दिमागमा घुम्छ ।’

सुनिताले देशमा घटेका घटनाले गर्दा काममा जान निकै गाह्रो भएको बताइन् । भनिन्, ‘कामबाट फर्किँदा लाग्ने थकाई भन्दा पनि अर्काको देशमा काम गर्दैछु । आफ्नो देशको अवस्था देखेर पीर लाग्ने रहेछ । अब देश राम्रो होस् भनेर आशा र प्रार्थना गरिराखेकी छु ।’

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully