प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पाँच मन्त्रीको नाम राष्ट्रपति कार्यलयमा सिफारिस गरेपनि मिश्राको नाम हटाएकी छिन् ।
काठमाडौँ — अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डलमा चार मन्त्री मात्रै थप्ने भएकी छिन् ।
प्रधानमन्त्रीले आइतबार साँझ पाँच जनाको नाम राष्ट्रपति कार्यलयमा पठाएकी थिइन् । त्यसमध्ये स्वास्थ्य मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाम हटाएर बाँकी चार जनाको नाम मात्रै राष्ट्रपति कार्यलय पठाएको प्रधानमन्त्री कार्यलय स्रोतले बताएको छ । उनीहरुको सपथ तीन बजे गर्ने गरी राष्ट्रपति कार्यलयले तयारी थालेको छ ।
प्रधानमन्त्री कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि अनिलकुमार सिन्हा, डा. संगीता कौशल मिश्रा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् ।
सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी दिनेगरी सिफारिस गरिएको छ । परियारलाई कृषि तथा पशुपन्छी विकास र खरेललाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्री कार्कीले सिफारिस गरेकी छन् ।
