सीआईबी प्रमुखमा एआईजी केसीको सरुवा

केसी हाल नेपाल प्रहरीको प्रदेश समन्वय विभागमा कार्यरत थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका थिए ।

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

Transfer of AIG KC to head CIB

काठमाडौँ — मन्त्रिपरिषद्ले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा सरुवा गरेको छ । आइतबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबीमा सरुवा गर्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

केसी हाल नेपाल प्रहरीको प्रदेश समन्वय विभागमा कार्यरत थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका थिए ।

लामो समयदेखि अलपत्र शरणार्थी प्रकरणको जाहेरी अघि बढाएर केसीले १२ चैत २०७९ मा यो प्रकरणका तीन आरोपीलाई समातेका थिए । नेपाली युवालाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्य केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेपछि यो प्रकरणमा अनुसन्धान अघि बढेको थियो ।

प्रारम्भिक सोधपुछका क्रममै भण्डारीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईदेखि अख्तियार प्रमुख प्रेमकुमार राईसम्मको नाम लिएका थिए ।

पछि यो प्रकरणमा संगठित अपराधको कसुर अन्तरगत अनुसन्धान भयो र पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे लगायत पक्राउ परेका थिए ।

खाँणलाई पक्राउ गर्न एसएसपी केसी नेतृत्वको टोली नै उनको निवास पुगेको थियो । त्यही कारण कांग्रेस नेतृत्व उनीसँग रुष्ट थियो भने सरकारमा कांग्रेस छउन्जेल उनले महत्त्वपूर्ण पोस्टिङ पाएका थिएनन् ।

कान्तिपुर

Link copied successfully