तोडफोड र आगजनीमा परेका सरकारी तथा निजी भवनको निरीक्षणमा एसोसिएसनले सातै प्रदेशमा काम गरिरहेको छ ।
काठमाडौँ — नेपाल इन्जिनियर्स एसोसिएसनले जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले ध्वस्त बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन काम लाग्ने अवस्थामा नभएको जनाएको छ ।
एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले आगजनी, तोडफोड भएको मन्त्रालयको भवन तत्काल प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताए । 'सर्वोच्च अदालतको उत्तरतिरको भाग पनि काम नलाग्ने अवस्थामा छ,' शनिबार मन्त्रालय परिसरमा कुराकानी गर्दै उनले भने, 'दक्षिणतिरको भाग भने काम लाग्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षण क्रममा देखिएको छ ।’ तोडफोड र आगजनीमा परेका सरकारी तथा निजी भवनको निरीक्षणमा एसोसिएसनले सरकारसँगको समन्वयमा तीव्रता दिएको उनले बताए ।
७ वटै प्रदेश कार्यालयबाट निरीक्षण निरन्तर भइरहेको अध्यक्ष बरालको भनाइ छ ।
