तत्काल प्रयोग गर्न मिल्ने अवस्थामा छैनन् सिंहदरबार, सर्वोच्च लगायतका भवन

घरमा प्रयोग हुने इँटा करिब ८०० डिग्री सेल्सियस तापसम्म टिक्छ तर ३०० डिग्री नाघेपछि इँटा जोड्ने सिमेन्टको मसला खुकुलो हुन्छ । ८०० डिग्रीभन्दा माथि पुग्दा इँटासमेत फुट्न थाल्छ ।

आश्विन ३, २०८२

विवेक पोख्रेल

Buildings such as Singha Durbar, Supreme Court and others are not in a condition to be used immediately

काठमाडौँ — नेपाल इन्जिनियर्स एसोसिएसनले प्रारम्भिक परीक्षणपछि सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र नेपाल बार एसोसिएसनको भवनसहितका सरकारी संरचना तत्काल प्रयोग गर्न योग्य नभएको निष्कर्ष सार्वजनिक गरेको छ ।

जेन–जीको अगुवाइमा भएको आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका सरकारी संरचनाको प्रारम्भिक निरीक्षणपछि यी भवनहरूमा देखिएका क्षति गम्भीर रहेकाले सुरक्षित प्रयोगका लागि थप प्राविधिक मूल्यांकन र मर्मत आवश्यक रहेको जनाएको हो ।

एसोसिएसनका उपमहासचिव इन्जिनियर अनिल मानन्धरका अनुसार यी संरचनाहरू ५ सय डिग्रीभन्दा बढीको आगोमा लामो समयसम्म जलेकाले क्षति बढी भएको बताए । उनका अनुसार यो अवस्थामा ती भवनको भारवहन क्षमता ६० प्रतिशतसम्म घट्छ ।

'विगतमा यस्तो खाले क्षति नेपालले भोग्नु परेको थिएन । केही आगलागी भयो भने पनि तत्काल दमकल आएर केही घण्टामा आगो निभ्ने अवस्था आउँथ्यो तर यहाँ दुई दिनसम्म आगो लागिरहेका भवनहरू पनि भेटिए,' मानन्धरले भने, 'भुइँ तल्लामा भएका सवारी पार्किङसमेत जल्दा क्षति बढी पुगेको छ । यद्यपि, कतिसम्मको क्षतिलाई प्रबलीकरण (रेट्रोफिट) र कति क्षतिमा पुनर्निर्माण गर्ने भन्ने बारेमा भने संघ र भवन निर्माण विभाग स्पष्ट भएका छैनन् ।'

अहिले सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत, बार एसोसिएसनमा रातो स्टिकर लगाइएको छ । तर रातो स्टिकर टाँस्नु भनेको भवन भत्काउनै पर्छ भन्ने हैन । पुनर्निर्माण वा मजबुतीकरण नगरी तत्काल प्रयोगमा ल्याउँदा जनसुरक्षामा खतरा हुने भएकाले सावधानी अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेर स्टिकर टाँसिएको एसोसिएसनले जनाएको छ ।

'तत्कालका लागि आँखाले देखेको आधारमा प्रयोग नगर्नु भनेको हो । भुइँ तल्लाको क्षतिले माथिल्लो तल्ला ठीक भए पनि प्रयोग गर्न मिल्दैन,' मानन्धरले भने, 'हामीले कस्ता सामग्री प्रयोग भएका छन् र कुन अवस्थाको रड, सिमेन्ट छन्, त्यसमध्ये कुन संरचना बलियो पारेर प्रयोग गर्न मिल्छ, कुनलाई पूर्ण पुनर्निर्माण गर्नुपर्छ भनेर पुनः अध्ययन गर्छौँ ।' उनका अनुसार आर्थिक रूपमा हेरेर यसको निर्णय गरिने छ । प्रबलीकरण (रेट्रोफिट) गर्नुभन्दा नयाँ संरचना नै बनाउँदा लागत उस्तै आउने भए पुनर्निर्माण नै गर्दा ठीक हुने उनले बताए । सिंहदरबार भने पुरातात्त्विक महत्त्वको भएकाले जति नै खर्च लागे पनि रेट्रोफिट नै गर्नुपर्छ भन्ने कुरा उठेको मानन्धरले सुनाए ।

बिल्डिङ कन्सल्टेन्ट सताक्षी मिश्रका अनुसार ढलान फुटेर रड देखिएको ठाउँमा त्यहाँको रड ल्याब परीक्षण गरी त्यसको भारवहन क्षमता जाँच गर्न आवश्यक हुन्छ । उनले भनिन्, 'रडले करिब २०० डिग्री सेल्सियस तापमानसम्म असर सहन्छ । तर त्यसभन्दा माथि पुगेपछि फलाम तन्किन थाल्छ र यसको भारवहन क्षमता घट्छ ।'

नेपालमा प्रायः घरहरू वाल सिस्टम वा पिलर सिस्टमबाट बनेका छन् । पिलर सिस्टममा रड वरिपरि नै आगोले क्षति पुर्‍याएको भए पुनर्निर्माणको सम्भावना बढी हुन्छ । तर सामान्य जलेको अवस्थामा रेट्रोफिट गर्न सकिन्छ । उनका अनुसार वाल सिस्टमको घरमा प्रयोग हुने इँटा करिब ८०० डिग्री सेल्सियस तापसम्म टिक्छ तर ३०० डिग्री नाघेपछि इँटा जोड्ने सिमेन्टको मसला खुकुलो हुन्छ । ८०० डिग्रीभन्दा माथि पुग्दा इँटासमेत फुट्न थाल्छ ।

मिश्र नेतृत्वको टोली हाल काठमाडौँ उपत्यकाको ट्राफिक प्रहरी भवनको मूल्यांकनमा जुटिरहेको छ ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully