आगजनीबाट उत्पन्न हुने धुवाँ र धुलोले स्वास्थ्यमा कस्तो असर पार्छ ? के जलेका संरचनाहरुको सरसफाइमा जुटेकाहरुको स्वास्थ्य जोखिममा छ ?
काठमाडौँ — पछिल्लो समयको प्रदर्शनका क्रममा कैयन सरकारी र निजी संरचनाहरुमा आगजनी भयो । सयौंको संख्यामा निजी र सरकारी सवारीसाधनहरु जलेर ध्वस्त भए । धुँवाको मुस्लोबाट कैयन् मानिसहरु बल्ततल्ल जोगिएका फुटेजहरु अहिले पनि सामाजिक सञ्जालमा घुमिरहेको देखिन्छ ।
अहिले पनि जलेको संरचना छेउछाउ जाँदा मात्रै पनि चर्को खार आउँछ । आगजनीबाट उत्पन्न हुने धुवाँ र धुलोले स्वास्थ्यमा कस्तो असर पार्छ ? अनि जलेका संरचनाहरुको सरसफाइमा जुटेकाहरुको स्वास्थ्य जोखिममा छ ? यी र यस्तै प्रश्न हामीले वीर अस्पतालका वरिष्ठ छाती रोग विषेशज्ञ डा. प्रज्जवल श्रेष्ठलाई सोधेका थियौँ ।
डाक्टर श्रेष्ठले सन् २००० मा ध्वस्त न्युयोर्कको ट्वीनटावरमा हवाई हमलापछि भएको आगलागीको घटना सुनाउँदै उक्त टावर सफा गर्ने धेरै सरसफाइकर्मीहरुमा छाती सम्बन्धी समस्या देखिएको बताए । ‘जलाइएका संरचना सरसफाइ गर्ने क्रममा आँखाले नदेख्ने स–साना धुलोका कण वायुमण्डलमा मिसिन्छ । श्वासप्रश्वासको माध्यमद्वारा छातीमा गएर बस्छ र फोक्सोको तन्तुमा दाग बस्छ,’ उनले भने, ‘यसले फोक्सोमा कठोरता निम्त्याउँछ, जसले सास फेर्न गाह्रो हुन सक्छ । जसलाई सिलिकोसिस रोग भनिन्छ ।’
उनले जलेका भग्नावशेष पन्छाउने, सरसफाइ गर्न क्रममा खटिएकाहरुले सामान्य सावधानी पनि नअपनाएको बताउँदै जलेका धुलो र धुवाँका कणहरु निकै स–साना हुने र यसले सिधै छातीमा असर गर्ने बताए । उनले दीर्घरोगी, छातीसम्बन्धी रोग भएका बिरामी, वृद्धवृद्धा र बालबालिका जलेर नष्ट भएका भग्नावशेषको सरसफाइमा संलग्न हुन नहुने बताउँदै स्वस्थ व्यक्ति पनि विशेष सावधानी अपनाएर मात्र सरसफाइमा जुटनुपर्ने बताए ।
उनले जलेका सामान सरसफाइ गर्नेहरुलाई केमिकल कारखाना, इँटा भट्टामा काम गर्नेलाई जस्तै जोखिम हुन सक्ने बताए । ‘सरसफाइको क्रममा सुरक्षित तवरको पन्जा, बुट, विशेष किसिमको चश्मा, लुगा लगाउनुपर्छ,’ उनले भने, ‘विश्व स्वास्थ्य संगठनद्वारा प्रमाणित कोभिड १९ मा पनि प्रयोग भएको ‘एन ९५’ मास्क प्रयोग गर्नु उचित हुन्छ ।’
डाक्टर श्रेष्ठले आगलागीमा आँखाले नदेखिने खालका क्रिस्टलिन सिलिका धुलो सासमार्फत शरीरमा छिर्ने र यसबाट सिलिकोसिस जस्तो घातक फोक्सोजन्य रोग लाग्ने जोखिम हुने बताए । सिलिका धुलोमा नियमित काम गर्दा फोक्सोको क्यान्सर, मृगौला रोग, हृदयघात, उच्च रक्तचाप, क्षयरोग र निमोनिया जस्ता फोक्सोको संक्रमणको बढ्दो जोखिम हुने उनले बताए । त्यसैले पनि उनले सरसफाइकर्मीलाई जलेका धुवाँधुलोसँगै सिमेन्ट र बालुवाका कणहरुबाट पनि बच्न आग्रह गरे ।
उनले प्रदर्शनको दोस्रो दिन अर्थात् मंगलबार काठमाडौं वायु प्रदुषणमा विश्वभरिमा दोस्रो स्थानमा पुगेको बताउँदै अहिले पनि काठमाडौंको वायु प्रदुषण खासै नघटेको बताए । उनले पछिल्लो प्रदर्शनपछि वीर अस्पतालमा आन्दोलनमा हिँडेका दमका बिरामी खोकी, श्वासप्रश्वासको समस्या लिएर जँचाउन आउनेको संख्या बढेको बताए ।
वीर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डाक्टर पियूस दाहालले प्लास्टिक, रबर, टायर, कपडालगायत वस्तु जल्दा त्यसले तातो आगो मात्र प्रवाह नगरेर कार्बनडाईअक्साईड, कार्बनमोनोअक्साईड, साईनाइट, नाईट्रोअक्साईड जस्ता विभिन्न हानिकारक रासायनिक ग्यास पनि उत्पन्न गर्ने र यस्ता स–साना कण पग्लेर हावामा मिसिने बताए । उनले भने, 'जुन श्वासप्रश्वासमार्फत फोक्सोमा जान्छ । र फोक्सोमा मात्र नभई शरीरको सम्पूर्ण प्रणालीमै असर पुर्याउन सक्छ ।'
उनले यस्ता कणहरुले शरीरलाई कति धेरै हानी गर्छ भन्ने कुरा ती वस्तुहरुसँग व्यक्ति कति लामो समयसम्म सम्पर्कमा आए र कति हानिकारक वस्तु शरीरमा प्रवेश गर्यो भन्ने कुराले भूमिका खेल्ने उनले बताए । भने, ‘दूषित रसायन शरीरमा प्रवेश भएमा वंशाणुमा पनि परिवर्तन आउन सक्छ । शरीरको बनावटमा असर गर्न सक्छ । यसले भावी पुस्तालेसमेत समस्या भोग्नुपर्ने हुन सक्छ ।’
