भारतको उत्तरप्रदेश गाजियावाद नन्दग्रामबाट राजेशदेवी गोला पति रामवीर सिंहसँग हरेक वर्ष पशुपतिनाथ दर्शनमा आउँथिन्, यसपटक ह्यात रिजेन्सीमा तोडफोड र आगजनी हुँदा ज्यान बचाउने क्रममा राजेशदेवीको मृत्यु भयो
What you should know
काठमाडौँ — पशुपति दर्शनका लागि काठमाडौं आएका एक जना भारतीय पर्यटकको २४ भदौको हिंसात्मक प्रदर्शनमा परेर मृत्यु भएको छ । प्रदर्शनकारीले बौद्धस्थित ह्यात रिजेन्सीमा तोडफोड र आगजनी गर्दा ज्यान बचाउने क्रममा भारतीय नागरिक ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।
मृतक उत्तरप्रदेश गाजियावाद नन्दग्रामस्थित मास्टर कोलोनी निवासी ५५ वर्षीया राजेशदेवी गोला रहेको खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले आक्रमणकारीले ह्यात होटलमा आक्रमण गर्दा झ्यालबाट बाहिरिने क्रममा दुर्घटनामा परेर उनको निधन भएको बताएका छन् । ५८ वर्षीय पति रामवीर सिंहको साथ लाएर राजेशदेवी पनि पशुपतिनाथ दर्शनका लागि आएकी थिइन् । सिंह दिल्ली नजिकैको गाजिवाद सहरमा ट्रान्सपोर्टको व्यवसाय गर्छन् ।
सिंह–दम्पती हरेक वर्ष पशुपतिनाथ दर्शनका लागि आउने गरेका थिए । पछिल्लो पटक उनीहरू २२ भदौमा काठमाडौं आएर बौद्धस्थित होटल ह्यातको कोठा न. ४२५ मा बसेका थिए । काठमाडौं घुमफिर गरेर घरमा भिडियो कलमा छोरा तथा परिवारका सदस्यहरूलाई दुवै जनाले काठमाडौंको दृश्य देखाएका थिए । २३ भदौमा पशुपतिनाथको दर्शन गरेर भोलिपल्ट फर्किने तयारीमा थिए । बिहान पशुपति दर्शन र काठमाडौं घुमफिरपछि उनीहरू होटल फर्किए ।
तर, त्यस दिनको जेन–जी आन्दोलनमा २१ जनाको मृत्यु भएपछि भोलिपल्ट प्रदर्शन चर्कियो । सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड र आगजनी भयो । प्रशासनले कर्फ्यु लगायो र एयरपोर्ट पनि बन्द भयो । त्यसपछि गोला दम्पती फर्किने मिति पछि धकेलियो । २४ भदौमा बाहिर घुम्न जाने स्थिति नभएपछि उनीहरू होटलमै थिए । राति होटलमा अचानक भागदौड मच्चियो । होटल परिसर होहल्ला, आगो र धूवाँले भरियो । रामवीर दम्पती होटलबाट बाहिर निस्किने बाटो पाएनन् ।
प्रहरीका अनुसार राति पौने १२ बजे दुवै जना झ्यालबाट निस्कने प्रयास गरे । लिफ्ट बन्द भएको र धूवाँ भरिएकाले भर्याङबाट ओर्लिन नसकेपछि ज्यान बचाउन उनीहरूले पछाडिको सिसा फुटाएर पर्दाको सहायताले चौथो तल्लाबाट तल झर्ने प्रयास गरे ।
रामवीर भने झर्न सफल भए । पत्नी राजेशदेवी भने लडेर घाइते भइन् । गम्भीर घाइते राजेशदेवीलाई सेनाले उद्धार गरेर अस्पताल पुर्याएको थियो । उनको त्यहीं निधन भएको हो । पोस्टमार्टमपछि मृतकका आफन्तजनले शव बुझेर लगिसकेको एसपी बोहराले जानकारी दिए ।
उनीहरू अतालिएर आफू बसेको चौथो तल्लाबाट हामफालेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । त्यही क्रममा राजेशदेवी गम्भीर घाइते भइन् । भारतीय सञ्चार संस्था दैनिक भास्करका अनुसार चारैतिर आगो र धूवाँ फैलिएपछि ज्यान बचाउन उनीहरूले हाम फालेका थिए ।
त्यसक्रममा आफूहरू घाइते हुन पुगेको रामवीरले बताएछन् । सुरक्षाकर्मीले मध्यरातमा उनलाई अस्पताल पुर्याएको छोरा विशाललाई उद्धृत गर्दै दैनिक भास्करले लेखेको छ । तर, रामवीर होटलमै रहेकाले दुवै जनाबीच सम्पर्क टुटेको थियो ।
पत्नी राजेशदेवीलाई कुन अस्पतालमा लगिएको हो भन्ने जानकारी रामवीरलाई थिएन । घटनाको दुई दिनपछि मात्रै परिवारजनले राजेशदेवीको स्थितिबारे जानकारी पाएको थियो । त्यतिबेलासम्म राजेशदेवीले भौतिक संसार छाडिसकेकी थिइन् । उपचारका क्रममा पत्नी राजेशदेवीले ज्यान गुमाएको रामवीरलाई उद्धृत गर्दै दैनिक भास्कर लेखेको छ । रामवीर र राजेशदेवीका दुई जना सन्तान छन् ।
रामवीर दम्पती हरेक वर्ष पशुपति दर्शर्नका लागि आउने गरेको छोरा विशाललाई उद्धृत गदै दैनिक भास्कर पत्रिकाले लेखेको छ ।
