प्रदर्शनकारीले आगो लगाएर ध्वस्त भएका चितवनका सरकारी कार्यालयको सेवा सुचारु गर्नका लागि आवश्यक पर्ने सामग्री जुटाउन सहयोगीहरू जुट्न थालेका छन् ।
What you should know
काठमाडौँ — २४ भदौमा देशभर प्रदर्शनमा क्षति पुगेका सरकारी कार्यालयहरू तङ्ग्रिने प्रयासमा छन् । तोडफोड र आगजनीबाट क्षति भएका केही ठाउँका कार्यालय स्थानीयको सक्रियतामा पुनः सञ्चालनमा ल्याइएको छ । कतै बचेका संरचनाबाट अत्यावश्यक काम गर्न थालिएको छ ।
आफ्नै घरअघिको वडा कार्यालय दनदनी बलेको देख्दा पोखरा–१२ का सुशील केसी विक्षिप्त बने । २४ भदौमा वडामा आगजनी गर्ने स्थानीय थिएनन् । ‘दुई–तीन वटा समूहमा आएर आगजनी गरे,’ उनले भने, ‘यसो नगर है भनेर मान्ने कोही थिएनन् ।’ वडा कार्यालयले सामाजिक सञ्जालमार्फत सोमबार सरसफाइमा जुट्न स्थानीयलाई आह्वान गर्यो । केसीले सबैभन्दा पहिले पुगेर बेल्चा समाते । वडा सरसफाइ गर्न झन्डै दुई सय जना स्थानीय जुटे ।
‘पार्टीमाथिको रिसइबी आफ्नो ठाउँमा होला,’ यातायात व्यवसायी केसीले भने, ‘वडा कार्यालय हाम्रो दोस्रो घर हो । यो वा त्यो पार्टीको नभनी सरसफाइमा जुट्यौं ।’ स्थानीयले खरानी पखाले । फुटेका सिसा सफा गरे । जलेका सामान हटाए । प्रयोगमा आउन सक्ने सामग्री छुट्याए । महानगरको दमकलले फोहोर पखाल्यो ।
स्थानीय नै पुनःस्थापनामा जुटेपछि सोमबार नै वडाध्यक्षको कार्यकक्ष स्थापना भयो । वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार आगजनीबाट ३ वटा कोठा ध्वस्त भएका थिए । अहिले आंशिक क्षति भएका ४ वटा कोठाबाट सेवा दिने तयारी गरिएको छ ।
२४ भदौको आगजनी र तोडफोडबाट पोखराका २० वडा कार्यालयमा पूर्ण रूपमा क्षति पुगेको छ । सात वटामा आंशिक क्षति छ । ६ वटामा कुनै क्षति पुगेको छैन । आगजनीबाट क्षति पुगेका धेरैजसो वडा कार्यालय सरसफाइ गर्न स्थानीय खटिएका छन् ।
महानगरले कार्यालयको सेवालाई २ असोजदेखि नियमित गर्ने तयारी गरेको छ । महानगर मातहतका विभिन्न संरचनाको उपयोग गर्दै तत्कालका लागि सेवा आरम्भ गर्ने महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले बताए । २ असोजसम्म क्षतिका सम्पूर्ण विवरण तयार गर्ने महानगरको तयारी छ ।
प्रवक्ता तिमिल्सिनाका अनुसार जिल्ला प्रशासन, नापी, मालपोत र वडा कार्यालयहरूमा क्षति पुग्दा तत्कालका लागि वैदेशिक शिक्षामा जाने विद्यार्थीका लागि कागजात तयार गर्ने, बैंकिङ कारोबारका लागि घर, जग्गाको चार किल्ला सिफारिस, सामाजिक सुरक्षा भत्ता नवीकरण, राजस्व संकलन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र वितरण, घटना दर्तालगायतका सेवामा असर पुग्नेछ । ‘हाम्रा कार्यालय औपचारिक रूपमा खुले पनि सेवाग्राही आउने परिस्थिति नबन्न सक्छ,’ उनले भने, ‘सबैको साथले छिट्टै यी सेवा नियमित गर्नेछौं ।’
प्रदर्शनकारीले आगो लगाएर ध्वस्त भएका चितवनका सरकारी कार्यालयको सेवा सुचारु गर्नका लागि आवश्यक पर्ने सामग्री जुटाउन सहयोगीहरू जुट्न थालेका छन् । लायन्स क्लबले चितवन जिल्ला प्रशासनलाई १५ वटा डेक्सटप कम्प्युटर र ५ वटा प्रिन्टर सहयोग गरेको हो । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ आरका डिस्ट्रिक गभर्नर नवराज सापकोटले ५ लाख १० हजार रुपैयाँका सामग्री हस्तान्तरण गरेको बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले थुप्रै संघ, संस्था निकाय र व्यक्तिहरू सहयोग गर्न प्रस्ताव लिएर आउने गरेको र प्रथामिकतामा राखेर वितरण गर्ने विधि बनाएको उनले बताए । चितवनमा अदालत, मालपोत, नापी, जिल्ला प्रशासनलगायत ८० भन्दा धेरै कार्यालय प्रदर्शनकारीले आगो लगाएर क्षति पुर्याएको प्रजिअ अर्यालले जानकारी दिए । ‘सेवा सुरु गर्न तत्कालका लागि ६०/६५ थान कम्प्युटर र सामान्य खालका भए पनि कुर्सी आवश्यक छन् । यी सामग्री सहयोगीहरूबाट जुट्ने देखिएको छ,’ प्रजिअ अर्यालले भने ।
प्रदर्शनका क्रममा ध्वस्त बनाइएका कैलालीस्थित विभिन्न कार्यालयहरूमा सरसफाइ गरेर अस्थायी रूपमा पुनः सञ्चालनको प्रयास सुरु गरिएको छ । कैलालीको गोदावरी नगरपालिका कार्यालयका कर्मचारीहरू सरसफाइमा जुटेका छन् । नगरपालिकाबाट अत्यावश्यक सेवा सञ्चालनमा ल्याउन प्रयास भइरहेको प्रशासकीय अधिकृत शिवराज भाटले बताए । यस्तै पालिका भवनसहित सम्पूर्ण वडा कार्यालय ध्वस्त भएको घोडाघोडी नगरपालिका १ ले वैकल्पिक भवनमा कार्यालय राखेर बिहीबारदेखि राजस्व संकलन, नागरिकता सिफारिसलगायतका अत्यावश्यक कार्य सुरु गर्ने वडाध्यक्ष घनश्याम ओझाले बताए ।
कैलारी गाउँपालिकाले पालिका भवनमा वैकल्पिक व्यवस्था गरेर सामाजिक सुरक्षा सम्बन्धितका काम सुरु गर्न लागिएको जनाएको छ । जिल्ला अदालत कैलालीका कर्मचारी पनि दुई दिनदेखि नै सरसफाइ कार्यमा जुटिरहेका छन् । यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि कर्मचारीहरूले सरसफाइ सुरु गरेका छन् । आगजनीबाट पूर्णरूपमा क्षति भएको धनगढीस्थित त्रिनगर भन्सार कार्यालय सरसफाइ गरेर अत्यावश्यक सेवा सुरु गरिएको भन्सार प्रमुख अनन्तप्रसाद तिम्सिनाले बताए ।
२४ भदौमा प्रदर्शनकारीबाट कोशी प्रदेशमा अर्बौंका संरचना एकै दिन खरानी भए । झापा, सुनसरी, इलामलगायत पूर्वी पहाडसम्मै फैलिएको प्रदर्शनमा आगजनी र लुटपाटसमेत भयो । प्रदेशका यी कार्यालयहरू बिस्तारै तङ्ग्रिन थालेका छन् । भौतिक संरचना जलेर नष्ट भएपछि कसैले बचेको एउटा कोठाबाट त कसैले भाडाका कोठाबाट सेवा सुचारु गरेका छन् । कोशीमा मुख्यमन्त्री कार्यालयसहितका मन्त्रालय, जिल्ला प्रशासन, अदालत, भन्सार कार्यालय र स्थानीय तहका भवनहरूलाई पनि प्रदर्शनकारीले निसाना बनाए ।
पूर्ण रूपमा जलेको प्रदेशसभा हल अझै कालो धूवाँको गन्ध बोकेर उभिएको छ । तर त्यसकै पश्चिमपट्टि रहेको संसदीय पत्रकार मञ्चको सानो ‘मिडिया सेन्टर’ अहिले संसदीय गतिविधिको अस्थायी केन्द्र बनेको छ । यो भवनमा आगजनी भए पनि पूर्ण रूपमा जल्न पाएन । आंशिक क्षति भएको यही भवनमा यतिबेला प्रदेशसभाले कार्यसम्पादन गरिरहेको छ ।
कर्मचारीहरूले कोठा सफा गरे, प्राविधिकले विद्युत् र इन्टरनेट जडान गरे, अनि जोगिएका कम्प्युटरहरू जोडेर कागजात तयार गर्न थाले । सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्य भन्छन्, ‘कार्यालय जलेर नष्ट भएपछि अस्थायी रूपमा यही कोठाबाट काम सुरु गरेका छौं ।’
प्रदेश सचिवालयपछि सबैभन्दा धेरै क्षति भएको संरचना हो, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय । प्रदेश सरकारका उच्च अधिकारीका अनुसार प्रशासनिक फाइल, डिजिटल अभिलेख, बैठकका कोठा, कार्यालयका गाडी सबै जलेर नष्ट भए । तर, सचिवालयको जस्तै यहाँ पनि आकस्मिक वैकल्पिक कार्यकक्ष तयार पारिँदै छ ।
अन्य मन्त्रालयहरूले पनि जलेको कार्यालय नजिकै अस्थायी कोठा भाडामा लिएर वा बचेकै भागमा काम थालेका छन् । झापा, सुनसरी, मोरङ, इलामलगायतका जिल्लामा प्रशासनिक भवन जले पनि सेवा रोकिएको छैन । प्रमुख सचिव चन्द्रकला पौडेलले प्रदेशभरको प्रारम्भिक विवरण प्रस्तुत गर्दै ४२ वटा सरकारी भवन क्षतिग्रस्त भएको बताइन् । जसमध्ये १८ भवन पूर्ण रूपमा र २४ भवन आंशिक क्षतिग्रस्त छन् ।
प्रदेश सरकारको तथ्यांकअनुसार आन्दोलनका क्रममा २ सय ३७ सरकारी सवारीसाधनमा क्षति पुगेको छ । तीमध्ये ७५ वटा चारपाङ्ग्र्रे सवारीमध्ये ६४ पूर्ण रूपमा जलेका छन् भने ११ मा आंशिक क्षति भएको छ । १ सय ६१ मोटरसाइकलमध्ये १ सय ४४ पूर्ण रूपमा जलेका छन् । प्रदेशभरिको क्षतिको विवरण धमाधम संकलन भइरहेको र चाँडै पूर्ण विवरण आउने प्रमुख सचिव पौडेलले बताइन् ।
सिरहामा प्रदर्शनका क्रममा विस्थापित भएका सबै प्रहरी कार्यालय पुनः सञ्चालनमा आएका छन् । प्रहरी नभएपछि असुरक्षित महसुस गर्दै स्थानीयले नै प्रहरीलाई स्वागत गरी कार्यालय फर्काएको प्रजिअ बसन्त अधिकारीले बताए । प्रदर्शनका क्रममा सिरहामा मात्रै ४१ वटा सरकारी कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भयो । जसमा १६ वटा प्रहरी कार्यालय नै थिए । तोडफोड र आगजनीबाट जिल्लाका १७ स्थानीय तहमध्ये १० वटामा पूर्ण क्षति र २ मा आंशिक क्षति पुगेको छ ।
जिल्ला प्रशासनले २६ भदौमा सूचना जारी गर्दै समन्वय, सहजीकरण र सहकार्य गरी २९ गतेदेखि सम्भव भएसम्मको सेवा प्रवाहमा जुट्न सबै कार्यालयलाई निर्देशन दिएको थियो । बिहीबारदेखि जिल्ला प्रशासनले पूर्ण सेवा सुरु गर्दै छ । यससँगै जिल्लाभर ठप्प बनेका गतिविधि बिस्तारै चलायमान बन्दै जनजीवन लयमा फर्किंदै गएको छ । ‘आन्दोलनपछि अन्योलताको स्थिति बन्यो, तर हामीसँग जे थियो, त्यसैबाट थाल्ने र उठ्ने प्रयत्न गर्यौं,’ प्रजिअ अधिकारीले भने ।
प्रदर्शनमा बनेपा नगरपालिकाका २ वटा प्रशासनिक भवन, १ वटा प्राविधिक शाखासहित २ वटा सवारीसाधनसहित कार्यालयमा भएका सबै कागजात जलेर नष्ट भएको नगर उपप्रमुख विमला सापकोटाले बताइन् । ‘हामीसँग सफ्टवेरमा भएका डकुमेन्ट मात्र सुरक्षित छन्,’ उनले भनिन्, ‘अरू त केही बाँकी छैनन्, केही जलेर नष्ट भएका छन् भने केही सामग्री चोरी भएका छन्, सेफ पनि चोरी भएको छ, त्यहाँ करिब ४ लाख रुपैयाँ थियो, २९ लाखको चेक पनि हराएको छ ।’
उनका अनुसार भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण गर्न सकिन्छ । ‘वर्षौंदेखिको इतिहास अब हामीसँग छैन । जलेर नष्ट भएकालाई फिर्ता ल्याउन सकिँदैन,’ उनले भनिन्, ‘पुराताŒिवक सम्पदाका केही सामग्री (भगवान्का मूर्तिहरू) सुरक्षाका लागि नगरपालिकामा राखिएको थियो । चण्डेश्वरी जात्रामा प्रयोग गरिने गहना पनि सुरक्षाकै लागि नगरपालिकामा राखिएको थियो, ४४ वर्षदेखिका नक्सा, महŒवपूर्ण कागजात सबै जलेका छन् ।’
आगजनीबाट वर्षौंदेखि न्यायको पर्खाइमा रहेकाहरूको आस पनि मरेको छ । न्यायिक समितिकी संयोजकसमेत रहेकी उपप्रमुख सापकोटाका अनुसार न्यायिक समितिमा रहेका ३१ वटा मुद्दाका मिसिल जलेर नष्ट भएका छन् । २०७४ सालदेखिका न्यायिक समितिका दस्ताबेज तथा कागजातपत्र केही बाँकी नरहेको र अब न्यायिक समिति शून्यबाट सुरु गर्नुपर्ने उनले बताइन् । ‘वर्षौंदेखि नगरपालिकामाथि परेका मुद्दाहरू थिए, त्यसको मिसिल अब हामीसँग छैन,’ उनले भनिन्, ‘यस विषयमा अब के गर्ने, कसरी गर्ने भन्ने पनि चिन्ताको विषय भएको छ ।’
जलेर खरानी भए पनि नगरपालिकाले आफ्नो कुनै पनि सेवा बन्द नगरेको बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्यले बताए । नगरपालिकाको सेवा अब वडा १० को कार्यालयबाट दिइएको उनले बताए । कार्यालयमा २४ भदौको प्रदर्शनबाट सिसा फुटेका छन् । त्यहाँ सरसफाइको काम सकेर नगरपालिकाको सेवा विस्तार गर्ने र वडा कार्यालय नजिकै सार्ने तयारी भएको उपप्रमुख सापकोटाले जानकारी दिइन् ।
प्रदर्शनमा बनेपाबाहेक पनौती नगरपालिका र पाँचखाल नगरपालिकाको भवनमा पनि तोडफोड भएको थियो । इलाका प्रहरी बनेपा, जिल्ला ट्राफिक प्रहरी र प्रहरी चौकी पाँचखालमा प्रदर्शनकारीले आगजनी गरे भने प्रहरी चौकी पनौती र प्रहरी चौकी हिंगुवापाटीमा प्रदर्शनकारीले तोडफोड गरेको जिल्ला प्रशासन कार्यालयको विवरणमा उल्लेख छ ।
आगजनी तथा तोडफोडबाट प्रहरीहरूको आश्रयस्थल गुमेपछि स्थानीयको सहयोगमा सेवा सञ्चालनको प्रयास भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्ष्ँक सुनिल धाँजुका अनुसार ट्राफिक प्रहरीले दिउँसो सडकबाटै सेवा दिइरहेका छन् भने रातको समयमा स्थानीयले बासस्थानको व्यवस्थापनका लागि सहजीकरण गरिदिएका छन् । ‘३०–३२ वर्ष पुरानो भवनबाटै ट्राफिक प्रहरीले सेवा दिइरहेको थियो,’ उनले भने, ‘त्यहीं भवन पनि जलेर पूर्ण रूपमा नष्ट भएको छ ।’
त्यस्तै, इलाका प्रहरी बनेपाले साँगा प्रहरी चौकीबाट सेवा दिइरहेको इलाका प्रहरी बनेपाका प्रमुख डीएसपी रामेश्वर त्वातीले जानकारी दिए । प्रहरी चौकी पाँचखाल जलेर नष्ट भएपछि त्यहाँ नजिकै एउटा घर भाडामा लिएर प्रहरीले सेवा प्रवाह सुचारु गरिएको प्रहरी चौकी पाँचखालका इन्चार्ज प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए ।– रमेशकुमार पौडेल (चितवन), दीपक परियार (पोखरा), अर्जुन शाह (धनगढी), पर्वत पोर्तेल (विराटनगर), विनय आजाद (सिरहा), ज्योति श्रेष्ठ (काभ्रे)
