यस पटक संविधान दिवस सामान्य रूपमा मनाइने  

जेन-जी आन्दोलनका क्रममा धेरै युवाहरूले बलिदानी दिएको र धेरै घाइते भएको अवस्थामा उत्सव मनाउन नसकिने भन्दै सरकारले सामान्य रूपमा संविधान दिवस मनाउने तयारी गरेको छ ।

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

This time Constitution Day will be celebrated as usual

What you should know

काठमाडौँ — सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेन-जी आन्दोलनका क्रममा धेरै युवाहरूले बलिदानी दिएको र धेरै घाइते भएको अवस्थामा उत्सव मनाउन नसकिने भएकाले सरकारले सामान्य रूपमा मनाउने तयारी गरेको बताए । 

मंगलबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा पनि गृहमन्त्री अर्यालले यस्तै निर्देशन दिएका थिए ।  गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले पनि संविधान दिवस सामान्य रूपमा मनाउने तयारी भइरहेको जानकारी दिए ।

‘देश नै अहिले शोकको अवस्थामा छ । सरकारले अहिलेको अवस्थालाई मध्यनजर गर्दै जेन-जी आन्दोलनका क्रममा सहिद भएका र घाइतेहरुलाई सर्मपित गर्दै संविधान दिवस मनाउने निर्णय गरेको छ, ’ उनले भने । २०७२ साल असोज ३ गते संविधान  जारी भएको १० वर्ष पुगेको छ। पहिलो संविधा सभा संविधान नै नदिई अवशान भएपछि दोस्रो पटक भएको निर्वाचनपछि संविधान जारी भएको थियो ।  

सरकारले १ असोजलाई शोक दिवस र राष्ट्रिय झन्डा झुकाएको छ ।   संविधानसभाबाट बनेको संविधान जारी भएको दिनलाई सरकारले उत्सवका रूपमा मनाउँदै आएको थियो ।  गृहमन्त्री आर्यालले र प्रधानमन्त्री सुशीला कार्की आफैं संवैधानिक अभ्यास गर्दै आएका व्यक्ति भएका कारण यसलाई सम्मान गर्दै मनाउने निर्णय गरेका हुन् । कार्की सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश हुन भने गृहमन्त्री अर्याल कानुन व्यवसायी हुन् । 

सरकारले सामान्य रूपमा सबै जिल्लामा मनाउन भनेको र संघमा पनि सोही रूपमा सांकेतिक कार्यक्रम गरेर मनाउने सरकारको तयारी छ। नेपाली सेनाले पनि सामान्य रुपमा संविधान दिवस मनाउने तयारी गरेको छ। 

के छ दलहरूको तयारी ?

एमालेले संविधान दिवस मनाउन देशभर निर्देशन दिइसकेको छ । त्यस्तै  माओवादीले जेन-जी सहिदप्रति दीप बालेर श्रद्धाञ्जली दिएर संविधान दिवस मनाउने तयारी गरेको छ ।  कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संविधान दिवस मनाउने तयारी गरेका छन् । दलहरूमाथि खुल्ला कार्यक्रम गर्न सुरक्षा चुनौती भएकाले सम्भव भएको स्थानमा रहेर मनाउन पार्टीहरूले कार्यकर्तालाई निर्देशन दिइसकेका छन् ।

कान्तिपुर

Link copied successfully