त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपालबाट भिजिट भिसामा खाडी मुलुक जाने यात्रुको राहदानीमै गन्तव्य मुलुकको नाम लेखेर 'वन्ली' लेखेर छाप लगाएर मात्रै प्रस्थान अनुमति दिन थालिएको हो ।
काठमाडौँ — भिजिट भिसामा जाने यात्रुका लागि जुन देशको भिसा लागेको हो, त्यही देशका लागि मात्रै गन्तव्य हुने गरी प्रस्थान अनुमतिको व्यवस्था सुरु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपालबाट भिजिट भिसामा खाडी मुलुक जाने यात्रुको राहदानीमै गन्तव्य मुलुकको नाम लेखेर 'वन्ली' लेखेर छाप लगाएर मात्रै प्रस्थान अनुमति दिन थालिएको हो ।
भिजिट भिसामा हुने असुली र अनियमितता रोक्न तथा जुन देशको लागि अनुमति लिइएको हो, त्यसपछि गिरोहको सेटिङमा अर्को मुलुक जाने योजना रोक्न यस्तो प्रबन्ध गरिएको अध्यागमन कार्यालयले जनाएको छ ।
गिरोहले कतार, साउदी, युएई, ओमानलगायतमा भिजिट भिसामा लगेर त्यसपछि अन्यत्र पठाउन र भिजिटमा लगेर भिसा परिवर्तन गराई अन्यत्र काममा लगाउने गरेको आरोप छ ।
भिजिट भिसा तस्करी प्रकरणमा गृहकै वरिष्ठ अधिकारीहरू मुछिएपछि यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नरहरि घिमिरेले भिजिट भिसामा गएर कोही पनि विदेशमा अलपत्र नपरून्, शोषणमा नपरून् भनेर यो प्रबन्ध गरिएको जानकारी दिए । पछिल्लो पटक युएईले नेपालीका लागि भिजिट भिसा स्थगित गरेको छ ।