आयोगले प्रदर्शनमा मृत्यु भएकाहरूको दाहसंस्कारमा ध्यान दिन र लोकतान्त्रिक मूल्यहरूको पालनामा सबै सरोकारवालाहरूको सहभागिता आवश्यक बताएको छ।
What you should know
काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम र त्यसको निकास प्रयासलाई नजिकबाट नियालिरहेको भन्दै नौ बुँदे सूचना जारी गरेको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठन समेत भइसकेको भन्दै यस्तो आग्रह गरेका हुन् ।
आयोगले जेन–जी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको पोस्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायतका कार्यमा विशेष ध्यान दिन र देश, जनता, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकारवालाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउन आग्रह गरेको छ ।
यस्तो छ आयोगको अनुरोध:
– जेन–जी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको पोस्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायतका कार्यमा विशेष ध्यान दिन,
– देश, जनता, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकारवालाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउन,
– अन्यौलपूर्ण अवस्थालाई तात्त्विक निष्कर्षमा पुर्याउन सबैले धैर्य र संयततापूर्वक अगाडि बढ्न,
– आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दा अरूको अधिकारको सम्मान गर्दै शिष्टता र नम्रतापूर्वक सम्प्रेषण गर्न तथा द्वन्द्व–हिंसालाई प्रश्रय दिने अभिव्यक्ति नदिन,
– आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रिया अनुरूप शिष्टतापूर्वक राख्न,
– विकसित परिस्थितिमा आम सर्वसाधारणको मानव अधिकारको उपभोगमा आइपर्ने अवरोधहरूको पहिचान गरी त्यस्ता अवरोधहरू हटाउन प्रभावकारी कार्य गर्न,
– सङ्कटको अवस्थामा हुन सक्ने कालोबजारी र कृत्रिम अभावलाई नियन्त्रण गरी दैनिक उपभोग्य सामग्री र सेवालाई सुचारु रूपले सञ्चालन गर्न तथा आम नागरिकहरूको आवतजावतलाई सहज बनाउन,
– प्रदर्शनको क्रममा भएका आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन गरी भौतिक पुनर्निर्माण र सेवा प्रवाहमा जोड दिन,
– सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै सङ्घसंस्था र नागरिक समाजले जिम्मेवार नागरिकको आफ्नो दायित्व पूरा गर्न ।
