दोलखा– नेपाल ल क्याम्पसमा अध्ययनरत बैत्यश्वर गाउँपालिका–८ क्षत्रपाकी २६ वर्षकी स्वस्थानी खड्का व्यक्तिगत कामका सिलसिलामा पोखरी पुगेकी थिइन् । २०५६ मंसिर ७ गते जन्मेकी स्वस्थानीको बाल्यकाल घाँसदाउरा गर्दै बित्यो ।
बाल्यकालदेखि नै हक्की स्वभावकी उनी विद्यालयमा कहिल्यै दोस्रो बनिनन् । विद्यालय शिक्षा सकेर कानुन अध्ययन गरिरहेकी उनी अध्ययनका लागि खर्च जुटाउन राजधानीमा पार्लरमा कामसमेत गर्थिन् । गाउँघरमा खेती किसानी गर्दै आएका बुबा राजेश र आमा बालकुमारी खड्काकी कान्छी छोरी हुन् स्वस्थानी ।
विद्रोही स्वाभावकी उनी सानैदेखि बोल्न र परेको सहयोग गर्न अघि सर्ने गरेको उनकी दिदी तारादेवी बस्नेतले बताइन् । ‘अरुलाई परेको बेलामा अघि सर्ने स्वाभाव थियो,’ उनले भनिन्, ‘सानैदेखि वकिल बन्ने सपना देखेर काननु विषय लिएर अध्ययन गरिरहेकी थिई ।’
खेती किसानी अंगालेका बा–आमालाई आर्थिक भारमा नपार्न उनी आफैं पार्टटाइम काम गरेर खर्चको जोहो गर्ने गरेकी थिइन् । व्यक्तिगत कामले घुम्न पोखरा गएकी स्वस्थानी भदौको प्रदर्शनमा सहभागी बनेकी थिइन् । आन्दोलनमा सहभागी भएको सोही दिनदेखि परिवारसँग सम्पर्क नभएको दिदि ताराले बताइन् ।
परिवारबाट सम्पर्क टुटेकी उनको शव पोखराको हिमालयन अर्गनाइजेशनमा जलेको अवस्थामा फेला परेको थियो । उनी त्यहाँ कसरी पुगिन् त्यो परिवारले पत्तो पाउन सकेको छैन । परिवारको मियो रुपमा उदाएकी उनी जेन जीको आन्दोलनमा बिलाइन् ।
