दोलखा — नेपाल ल क्याम्पसमा कानुन अध्ययनरत बैत्यश्वर गाउँपालिका–८ क्षत्रपा की २६ वर्षीया स्वस्थानी खड्का व्यक्तिगत कामका शिलशिलामा पोखरा पुगेकी थिइन् । २०५६ साल मंसिर ७ गते जन्मेकी स्वस्थानीको बाल्यकाल घाँस दाउरा गर्दै ग्रामीण परिवेशमा बित्यो। बाल्यकालदेखि नै हक्की स्वाभावकी उनी विद्यालयमा कहिल्यै दोस्रो बनिनन् ।
विद्यालय शिक्षा सकेर कानुन अध्ययन गरिरहेकी उनी अध्ययनका लागि खर्च जुटाउन राजधानीमा पार्लरमा कामसमेत गर्थिन्। गाउँघरमा खेती किसानी गर्दै आएका बुबा राजेश र आमा बालकुमारी खड्काकी कान्छी छोरी हुन् स्वस्थानी । विद्रोही स्वाभावकी उनी सानैदेखि बोल्न र परेको सहयोग गर्न अघि सर्ने गरेको उनकी दिदी तारादेवी बस्नेतले बताइन्।
"विद्यालयमा कहिल्यै दोस्रो बनिन, सधैँ पहिलो हुन्थी, अरुलाई परेको बेलामा अघि सर्ने स्वाभाव थियो," उनले भनिन्, "सानैदेखि वकिल बन्ने सपना देखेर काननु विषय लिएर अध्ययन गरिरहेकी थिई ।" खेती किसानी अंगालेका बा–आमालाई आर्थिकभारमा नपार्न उनी आफैँ पार्टटाईमर काम गरेर खर्चको जोहो गर्ने गरेकी थिइन्। व्यक्तिगत कामले घुम्न पोखरा गएकी स्वस्थानी भदौ २४ जेन-जी आन्दोलनमा सहभागी बनेकी थिइन्।
आन्दोलनमा सहभागी भएकी सोही दिनदेखि परिवारसँग सम्पर्क भएको थिएन। परिवारबाट सम्पर्क टुटेकी उनको शव पोखराको हिमालयन अर्गनाईजेशनमा जलेको अवस्थामा फेला परेको हो। उनी त्यहाँ कसरी पुगिन त्यो परिवारले पत्तो पाउन सकेको छैन । परिवारको मियो रुपमा उदाएकी उनी जेन-जीको आन्दोलनमा अस्ताइन्।
