बन्दीप्रत्यक्षीकरणको मुद्दाबाहेकमा सुनुवाइ हुन अझै केही दिन लाग्ने, पहिले न्याय परिषद् रहेको भवनबाट न्याय सम्पादन सुरु गर्ने तयारी
काठमाडौं — प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आइतबार साढे १० बजे सेनाको एस्कर्टिङमा सर्वोच्च अदालतको मूल गेटबाट छिर्दा भवनमा सरसफाइ चलिरहेको थियो । परिसरभित्र चौरमा आगजनी गरिएका सवारीसाधनको थुप्रो थियो । बचेका केही टेबल र सामान बोकेर कर्मचारी आँगनको पालमा थुपारिरहेका थिए, जहाँबाट सर्वोच्चले सेवा प्रदान गर्नेवाला छ ।
प्रदर्शनकारीले गत मंगलबार सर्वोच्च अदालतमा आगजनी गरेका थिए । त्यसपछि अवरुद्ध न्याय सम्पादन आइतबार सुरु गर्ने घोषणा प्रधानन्यायाधीश राउतले गरेका थिए । न्याय सम्पादन सुरु गरेर हौसला दिनुपर्ने भन्दै उनी कार्यालय समय सुरु हुनेबित्तिकै सर्वोच्च पुगेका थिए ।
राउतले सर्वोच्च अदालत पुगेर जलेका भवन केही बेर निरीक्षण गरे अनि कर्मचारीसँग बसेर कसरी तारिख र पेसी दिने लगायतको तयारीबारे ब्रिफिङ लिए । त्यसपछि बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइको तयारीबारे जानकारी लिए । मुद्दा महाशाखाका प्रमुख अर्जुन कोइराला र रजिस्ट्रार मानबहादुर कार्की पनि सँगै थिए ।
सर्वोच्चको आँगनमै जलेका सवारीसाधनको थुप्रोलाई केही बेर नियालेपछि प्रधानन्यायाधीश राउत एनेक्स भवनको पाँचौं तलाको बैठकमा सहभागी हुन अघि बढे । पहिले न्याय परिषद् रहेको उक्त भवनमा कम मात्र क्षति पुर्याएकाले त्यहींबाट न्याय सम्पादन सुरु गर्ने तयारी सर्वोच्चले गरेको छ । त्यहाँ न्यायाधीशहरूको चेम्बरदेखि इजलाससम्म बनाउने तयारी भइरहेको छ । प्रधानन्यायाधीश राउत भने सरासर बैठक कक्षमा प्रवेश गरे । त्यहाँ अर्का रजिस्ट्रार भद्रकाली पोखरेल पर्खेर बसेका थिए ।
बन्दीको सुनुवाइअघि प्रधानन्यायाधीश राउतले उपलब्ध न्यायाधीश, मुख्य रजिस्ट्रार र अधिकृतहरूसँग केही बेर सामान्य कुराकानी गरे । त्यसपछि गोला प्रक्रिया कसरी अघि बढाउने, बन्दीबाहेकका मुद्दामा कहिलेदेखि सुनुवाइ गर्ने भनी डाकिएको बैठकलाई सम्बोधन गर्न थाले ।
त्यस क्रममा प्रधानन्यायाधीश राउतले आफ्नो निवासको अवस्थाबारे सुनाए, ‘बालुवाटारको निवासमा त तोडफोड
मात्र भएन, मेरा दौरा सुरुवाल पनि चोरेछन् । न कोट छ न भित्री लुगा नै । प्रदर्शनकारीले सबै लगेछन् । पुरानैबाट काम चलाइरहेको छु ।’
त्यो दिन तोडफोड हुने अनुमान गरेर राउत पुरानो गाडी लिई सर्वोच्च अदालत आएका थिए । ‘सर्वोच्चबाट जोगिएर फर्कंदा बालुवाटार ह्वांगै देखेर म भावविह्वल भएँ,’ उनले भने । सर्वोच्च अदालतमा आइतबार कहाँ जाने, के काम गर्ने र कहाँ बस्ने अन्योलसहित कर्मचारी यत्रतत्र छरिएका थिए । सर्वसाधारण पनि आफ्नो मुद्दा के हुन्छ भन्दै चासोका साथ सर्वोच्च पुगेका थिए ।
प्रधानन्यायाधीश राउतले न्यायाधीशलाई अदालतसम्म ल्याउने सवारीसाधनसमेत नरहेको उल्लेख गर्दै थपे, ‘मुद्दाको फाइल छैन । अदालत चलाउने संरचनासमेत शून्य अवस्थामा पुगेको छ ।’ उनले न्याय सम्पादन सुरु गर्ने विषयमा बारलगायत सरोकारवाला सबै पक्षसँग छलफल गरिरहेको पनि जानकारी दिए ।
प्रधानन्यायाधीश राउतले शनिबार सर्वोच्च बार र नेपाल बार एसोसिएसनका पदाधिकारीसँग करिब तीन घण्टा छलफल गरेका थिए । छलफल अदालतको मिसिल कसरी जुटाउने भन्नेमा केन्द्रित थियो । उनले अदालतका अधिकृतहरूसँग पनि छलफल गरे ।
आइतबार बैठकमा न्यायाधीश सारंगा सुवेदी छोरासँग लिफ्ट मागेर आइपुगेकी थिइन् । उनीपछि न्यायाधीश श्रीकान्त पौडेल, सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल पुगे । यत्तिकैमा एक न्यायाधीशले ठट्टा गरे, ‘अदालतसँग श्रीमान्हरूलाई ल्याउन, पुर्याउन साइकल पनि छैन ।’ त्यसपछि प्रधानन्यायाधीश राउतले फुलकोर्ट (पूर्ण बैठक) सुरु गरे ।
एनेक्स भवनको माथिल्लो तलामा बैठक चलिरहँदा सर्वोच्चको आँगनमा कर्मचारीहरू ससानो समूह बनाएर छलफल गरिरहेका थिए । एक छेउमा पेसी र तारिख लिन आउने सेवाग्राहीका लागि पाल टाँगिएको थियो । सेवाग्राही मूल गेटमा तारिख पर्चा देखाएर भित्र छिरेका थिए ।
भक्तपुरदेखि जयलक्ष्मी महर्जन आएकी थिइन् । उनको ‘घर सिमाना मिचिएकाले भत्काई पाऊँ’ भन्ने मुद्दा सर्वोच्चमा थियो । पेसी हुँदैन, तारिख लिएर जानू भनेर कर्मचारीले उनलाई फर्काएका छन् ।
काठमाडौंको कागेश्वरी मनोहराका मुक्तिनाथ शर्मा पनि मुद्दाबारे बुझ्न आएका थिए । अंशबन्डासम्बन्धी मुद्दाको आइतबार नै पेसी थियो । निराश हुँदै उनले भने, ‘बल्ल बल्ल पालो आउन लागेको थियो । अब कहिले सुनुवाइ हुने हो ?’
पेसी तारिख लिन सप्तरीबाट साजन चौधरी आएकी थिइन् । उनी बुबाको मुद्दा सकारेर तीन वर्षदेखि सर्वोच्च धाउँदै आएकी थिइन् । उनको मुद्दाको २४ भदौमा पेसी थियो । ‘आन्दोलनले अस्ति अदालत आउन सकिएन । अदालत नै जलाएछन् के सुनुवाइ हुनु,’ उनले भनिन्, ‘अब तारिख दिनुभयो भने लिएर जानुपर्ला ।’
तारिख र पेसी लिन आउने सबैलाई सर्वोच्च अदालतले कम्तीमा तीन महिनाको साधारण तारिख दिएर पठाएको छ । ‘सेवाग्राहीलाई खाली रजिस्ट्ररमा तीन महिनापछिको तारिख दिँदै पठाइरहेका छौं,’ सर्वोच्चका सूचना अधिकारी नीराजन पाण्डेले भने, ‘बन्दीप्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका अरू काम अहिले हुँदैन ।’
अस्थायी इजलास निर्माण भएपछि अरू मुद्दाको सुनुवाइ सुरु हुने सूचना अधिकारी पाण्डेले जानकारी दिए । ‘अब पहिलो काम मिसिल जम्मा गर्ने हुन्छ । कुन मिसिल अदालतमा छ, कुन छैन पहिचान गर्नुपर्यो अनि फाँटहरू खडा गर्नुपर्यो, त्यसपछि मात्र नियमित सुनुवाइ होला,’ उनले भने ।
