प्रधानमन्त्री कार्कीले अघि सारिन् मुख्य ४ कार्ययोजना

प्रधानमन्त्री कार्कीले आन्दोलनमा मारिनेलाई सहिद घोषणासागै मृतकका परिवारलाई जनही १० लाख, घाइतेको निःशुल्क उपचार, आफन्तको उपचारका लागि  काठमाडौंमा बस्नेहरूको खर्च व्यवस्थापन र मृतकको शव गृहजिल्ला लैजाने व्यवस्था सरकारले मिलाउने बताइन्

भाद्र ३०, २०८२

गंगा बीसी

काठमाडौं  — अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन गराउने, विध्वंस मच्याउनेहरूको छानबिन गर्ने, जेन–जीको मागअनुसार भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने र निजी क्षेत्रको मनोबल उठाउन कदम चाल्ने गरी मुख्य चार कार्ययोजना अघि सारेकी छन् ।

जेन–जीको सोचअनुसार सुशासन, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, भौतिक क्षतिको मूल्यांकन गरी कार्ययोजना बनाउनुपर्ने प्रधानमन्त्री कार्कीले बताइन् । ‘आगामी दिनहरूमा जेन–जी युवा पुस्ताको सोचअनुसार काम गर्नुपर्ने भएको छ,’ उनको भनाइ थियो, ‘समयले मागअनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन, गुड गभर्नेन्स र आर्थिक समानताको काम गर्न अठोट 

गर्नुपर्नेछ । क्षतिको मूल्यांकन गरी आगामी कार्ययोजना बनाउनुपर्नेछ ।’ जेन–जीले आन्दोलन सुरु गर्नुअघि ‘एन्टी करप्सन’ लाई मुख्य मुद्दा बनाएका थिए ।

युवाको आन्दोलनबाट आफूलाई सरकारको नेतृत्व गर्ने मौका मिलेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गरिन् । ‘प्रहरीका बिट, सर्वोच्च, उच्च र जिल्ला अदालतहरूलगायत सिंहदरबारसमेत सम्पूर्ण आगोमा बीभत्स तरिकाले जलेर गए । 

भौतिक क्षति त बनाउन पनि सकिन्छ तर ठूलो समस्या, हाम्रा जति पनि रेकर्डहरू, प्रमाणहरू, सर्वोच्चका ती जमानादेखिका फाइलहरू सम्पूर्ण नष्ट भएर शून्यमा पुगेका छौं,’ उनको चिन्ता थियो, ‘हत्या, हिंसा, आगजनी भएको छ, मुलुकको अत्यन्तै आवश्यक संस्थाहरूमा छानीछानी प्रहार भएको छ ।’ आफ्नै धरोहरमाथि आक्रमण गर्नेहरू योजनाबद्ध रूपमा आएको आशंका गर्दै कार्कीले थपिन्, ‘ती भवनहरू, मिसिल नष्ट भए । यो देखेर मलाई लाज पनि लागेको छ, नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’ 

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदबार लगायतमाथि आपराधिक आक्रमण भएको प्रसंग निकाल्दै कार्कीले भनिन्, ‘अपराधीहरूले हामीमाथि मुलुकविरुद्ध गरेको चुनौती हो, चाहे जनतालाई गुहारेरै किन होस्, हामी सबै जुटेर यो चुनौतीलाई एकताको भावना राखेर सामना गर्नुछ ।’ उनले सबै मिलेर नेपालको निर्माण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्ने बताएकी छन् । 

प्रधानमन्त्री कार्कीले प्रदर्शनमा मारिएका व्यक्तिका परिवारलाई जनही १० लाख, घाइतेको निःशुल्क उपचार, आफन्तको उपचारका लागि काठमाडौंमा बस्नेहरूको खर्च व्यवस्थापन र मृतकको शव गृहजिल्ला लैजाने व्यवस्था सरकारले मिलाउने बताइन् । 

गंगा

Link copied successfully