‘डिस्कर्ड’ मार्फत योजना बनाएर जेन–जी आन्दोलन चलाएको दोस्रो दिनमै सरकार ढल्यो, पाँचौं दिनमा जेन–जीकै छनोटबाट प्रधानमन्त्रीको नियुक्ति भयो, प्रतिनिधिसभा नै विघटन भयो
काठमाडौं — विशेष गरी भिडियो र अनलाइन गेम खेल्नेहरूका लागि चर्चित रहँदै आएको सामाजिक सञ्जाल प्लाटफर्म ‘डिस्कर्ड’ गत साता नेपालको जेन–जी आन्दोलनसँग जोडिएपछि फरक कारणले चर्चित बन्न पुग्यो । डिस्कर्डमार्फत योजना बनाएर जेन–जी आन्दोलन चलाएको दोस्रो दिनमै सरकार ढल्यो । पाँचौं दिनमा जेन–जीकै छनोटबाट प्रधानमन्त्रीको नियुक्ति भयो, प्रतिनिधिसभा नै विघटन भयो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि सुरु भएको भ्रष्टाचारविरोधी अभियान जेन–जी आन्दोलनमा बदलिएको थियो । तर घरबाट फूल बोकेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवाको आन्दोलनमा जसरी घूसपैठ भयो, त्यसरी नै ह्वाट्सएप र डिस्कर्डका ओपन कम्युनिटी पनि मोडरेटरलाई सम्हालिनसक्नु बनेका थिए ।
हिंसा फैलाउने उत्तेजक अभिव्यक्ति नदिन मोडरेटरहरूले पटक–पटक आग्रह गरेका थिए । अति भएपछि बेला–बेला प्लाटफर्ममा सदस्यलाई बोल्न र कमेन्ट लेख्न बन्दसमेत गरिएको थियो ।
डिस्कर्डमा अत्यन्तै व्यक्तिगत गालीगलौज, आक्रमणको धम्की, एकपछि अर्को अराजक टिप्पणी पनि हुने गरेको थियो । त्यसैले दोस्रो दिनको प्रदर्शनमा त्यति ठूलो क्षतिको माध्यम पनि यो प्लाटफर्म बन्न पुग्यो ।
जेन–जीले डिस्कर्डजस्ता प्लाटफर्मबाट लोकतान्त्रिक र पारदर्शी अभ्यास चलाएकामा भने धेरैले प्रशंसा गरेका छन् । सरकार प्रमुख नै डिस्कर्डको लाइभ बहस र मतदानबाट चुनिने अवस्था आएपछि विश्वका धेरैले यसलाई अभिरुचिपूर्वक हेरेका छन् । सोमबार बिहानसम्म नेपालका अधिकांशलाई थाहा नभएको डिस्कर्ड सप्ताहन्तसम्म आउँदा धेरै डाउनलोड भएको प्लाटफर्म बन्यो ।
एउटै फोरममा डेढ लाखभन्दा बढीले प्रत्यक्ष रूपमा छलफलमा भाग लिने माध्यम पनि भयो । युट्युब, टिकटक र फेसबुकमा समेत लाइभ गरिएका यी बहस यसअघिका आन्दोलनमा हुने गरेका कोठे छलफल र सहमतिभन्दा फरक थिए । जेन–जी आन्दोलन गर्ने क्रममा यसको व्यवस्थापन र समापनका क्रममा डिस्कर्डलगायतका प्रविधि प्रयोग भएको देखेर धेरैले यसलाई ‘डिजिटल रिभोलुसन’ पनि भनेका छन् ।
डिप्लोम्याट म्यागजिनका पत्रकार तथा विश्लेषक जेरेमी डिकरले एक्समा लेखेका छन्, ‘तत्कालीन सरकारले प्रतिबन्ध गरेका २६ एपमध्ये डिस्कर्ड पनि एक थियो, यसकै प्रयोग गरेर नेपालीले आफ्नो अन्तरिम नेता छानेका छन् र सुशीला कार्की अहिले कार्यकारी पदमा पुगेकी छन् ।’
जेन–जी आन्दोलन उठाउने कारकमध्ये एक मानिएको सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयका क्रममा प्रतिबन्धित भएको डिस्कर्ड सरकार ढाल्ने र नयाँ सरकार बनाउने क्रममा अनपेक्षित केन्द्र बन्न पुग्यो । डिस्कर्ड च्याटमार्फत संगठित भएका किशोरकिशोरी अनलाइन र भर्चुअल दुवै आन्दोलनमा सक्रिय बनेका थिए । डिस्कर्डले जेन–जीको आवाजलाई प्रतिनिधित्व गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो ।
जेन–जी आन्दोलनका क्रममा सबैभन्दा चर्चित बनेको ‘युथ अगेन्स्ट करप्सन’ नामक सर्भरमा हाल १ लाख ६२ हजार सदस्य छन्
डिस्कर्ड मिथ्या र भ्रामक सूचना प्रवाह गर्न र अराजकता फैलाउन पनि माध्यम बनेको देखियो । एक सहभागीले डिस्कर्डको ‘युथ अगेन्स्ट करप्सन’ सर्भरमा ‘एयरपोर्ट रनवे ध्वस्त पारौं र प्लेन सबै जलाइदिऔं’ भनेर लेखेका थिए भने अर्काले ‘तपाईंहरूसँग पटका छ भने एयरपोर्टनजिक लगेर बाल्नुहोला’ भनेर उक्साएका थिए । विकास नामका सहभागीले ‘तपाईंहरूसँग ड्रोन छ भने एयरपोर्टनजिक लगेर उडाउन थाल्नुस्’ भन्ने लेखेका थिए । यस्तै, चिल गाई नामक प्रयोगकर्ताले ‘सबै नेतालाई मार्दिम्’ भन्दै तुच्छ टिप्पणी गरेका थिए । बोस नामका प्रयोगकर्ताले ‘नेताहरूको व्यक्तिगत सम्पत्तिमा मात्रै आक्रमण गरौं, सार्वजनिक सम्पत्ति नजलाऔं’ भनेर सम्हाल्न खोजेका थिए ।
डिस्कर्ड छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीकी छोरीको अमेरिकास्थित ठेगाना सार्वजनिक गर्ने र एक जना युवाको मृत्युबापत एक नेतालाई निसाना बनाउनेजस्ता हिंसा भड्काउने प्रतिक्रियासमेत आएका थिए ।
यस्तो असन्तोषको सुरुवात १९ भदौमा गरिएको सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयबाट भएको भनेर कतिपय विदेशी मिडियाले प्रचार गरे पनि वास्तविकता त्यस्तो नरहेको डिस्कर्ड छलफलमा श्रोता र मतदाताका रूपमा सहभागी अर्पण विष्ट बताउँछन् । ‘सुरुमा अहिलेजस्तो हजारौं सहभागी थिएनन्, एक/दुई सय मात्र भेला हुन्थे,’ उनी भन्छन्, ‘नेपालमा जारी भ्रष्टाचार, अव्यवस्था र पहुँचवालाका सन्तानको ठाँटबाँटबारे रेडिट र टिकटकमा प्रश्न गर्न थालिएको थियो, दुई सातादेखि डिस्कर्डमा पनि छलफल हुन थालेको थियो ।’ पछिल्लो आन्दोलन त्यसैको निरन्तरता मात्रै भएको उनको भनाइ छ ।
nnnnnडिस्कर्ड निःशुल्क सञ्चार प्लाटफर्म हो । यसमा प्रयोगकर्ताले विभिन्न समुदायमा जोडिन, कुराकानी गर्न र सामग्री साझा गर्न सक्छन् । यसमा टेक्स्ट, अडियो, भिडियो र स्क्रिन सेयर गर्न मिल्छ । यसमा ‘सर्भर’ बनाउन वा सर्भरमा जोडिन मिल्छ । सर्भर भनेको भर्चुअल समुदायजस्तै हो, यसभित्र विभिन्न भ्वाइस र च्याट च्यानल बनाउन मिल्छ ।
एकै पटकमा ५ लाखसम्मको ठूलो समूहलाई जोड्न सकिने, विभिन्न विषयका लागि एउटै सर्भरभित्र फरक च्यानल बनाउन सकिने, रियल टाइम टेक्स्ट, अडियो र भिडियोमार्फत छलफल र प्रतिक्रिया दिन सकिने सुविधा हुनाले डिस्कर्ड आन्दोलनका लागि राम्रो माध्यम बन्यो
जेन–जी आन्दोलनका क्रममा सबैभन्दा चर्चित बनेको ‘युथ अगेन्स्ट करप्सन’ नामक सर्भरमा हाल १ लाख ६२ हजार सदस्य छन् । यो सर्भर ‘हामी नेपाली’ नामक गैरसरकारी संस्थाका सुदन गुरुङको समूहले सञ्चालन गर्छ ।
नेपाल मात्र नभएर, इरानको महिला आन्दोलन, हङकङको लोकतन्त्रसम्बन्धी प्रदर्शन, सर्बिया र अमेरिकाका राजनीतिक विरोधहरूमा समेत डिस्कर्ड प्रयोग भएको थियो । ह्वाट्सएप, टिकटकजस्ता प्लाटफर्म नेपालका यसअघि भएका विरोध प्रदर्शनमा उल्लेख्य प्रयोग भएका थिए तर डिस्कर्ड प्रयोग नौलो हो । यसमा एकै पटकमा ५ लाखसम्मको ठूलो समूहलाई जोड्न सकिने, विभिन्न विषयका लागि एउटै सर्भरभित्र फरक च्यानल बनाउन सकिने, रियल टाइम टेक्स्ट, अडियो र भिडियोमार्फत छलफल र प्रतिक्रिया दिन सकिने सुविधा छ । यिनै कारण डिस्कर्ड आन्दोलनका लागि राम्रो माध्यम बन्ने गरेको हो ।
‘त्यसमाथि तुलनात्मक रूपमा सुरक्षित र विकेन्द्रित छ । मूलधारका सामाजिक सञ्जालभन्दा सेन्सर गर्न कठिन प्रकृतिको भएकाले पनि नेपालमा यसको प्रयोग सहज रूपमा गर्न सकिएको छ,’ समूहकी एक सदस्य सुप्रियाले भनिन् ।
युथ अगेन्स्ट करप्सन’ सर्भर प्रदर्शन आयोजना, समन्वय, ताजा सूचना प्रवाह, अन्तरिम सरकार प्रमुख को हुने भन्ने विषयमा मतदान, तथ्य–जाँच, रक्तदान, उद्धारका लागि प्रयोग गरिएको थियो । यसमा समग्र कुराकानीका लागि स्टेज–१ र स्टेज–२ मा सञ्चालन गरियो भने एक दर्जनजति पुस टु टक (पीटीटी) ग्रुप च्याट च्यानल बनेका थिए । एउटा पीटीटीमा २० भन्दा बढी सदस्य अट्दैनन् । उम्मेदवार छनोट र निर्णयका लागि यस सर्भरमा पोल र प्रतिक्रिया (रियाक्सन) जनाउने सुविधा थियो ।
परम्परागत संस्थाहरू अस्तव्यस्त र सामाजिक सञ्जाल चलाउन अप्ठ्यारो भइरहेका बेला उक्त सर्भर नै अस्थायी संसद्जस्तै बन्यो । विद्यार्थीसमेत रहेका मोडरेटरहरूले बहस र मतदानमार्फत अन्तरिम नेतृत्व छान्ने प्रक्रिया अगाडि बढाए । चर्चामा परेका नामहरूमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङदेखि धरानका मेयर हर्क साम्पाङ, युवा नेता सागर ढकाल, सामाजिक उद्यमी महावीर पुनसम्म थिए । तर, अन्ततः सहमति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथि जुट्यो ।
डिस्कर्डमा भएको छलफलका क्रममा युवाले आफूहरूमध्ये धेरैले समर्थन गरे मात्रै कार्कीले जिम्मेवारी लिन तयार रहेको बताएको दाबी गरेका थिए । बहुसंख्यक युवाको मागपछि कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरी आफू अन्तरिम नेतृत्व लिन तयार रहेको संकेत गरेकी थिइन् । शुक्रबार राति कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त भइन् । उनको उदयलाई नेपाली राजनीतिमा नयाँ पुस्ताको पहल र डिजिटल माध्यमबाट भएको दुर्लभ एकताको क्षणका रूपमा हेरिएको छ ।
सन् २०१५ मा जेसन सिट्रोन र स्ट्यान भिस्नेभ्स्कीले सुरु गरेको डिस्कर्ड सुरुमा गेमरहरूका लागि थियो । पछिल्ला वर्षमा यो समुदायमूलक प्लाटफर्म बनेको छ । सन् २०२५ सम्म आइपुग्दा यसमा ६८ करोड ९० लाखभन्दा धेरै प्रयोगकर्ता र २५ करोड ९० लाख मासिक सक्रिय प्रयोगकर्ता छन् । यसमा १८ देखि ३४ वर्षका प्रयोगकर्ता धेरै रहेको कम्पनीले जनाएको छ ।
सरकारले केही सामाजिक सञ्जाल प्लाटफर्ममा प्रतिबन्ध लगाएपछि डिस्कर्ड मात्रै होइन, ब्लुटुथबाट सन्देश आदान–प्रदान गर्न सकिने बिटच्याट र सामाजिक सञ्जाल चलाउन भीपीएनको प्रयोग अकासिएको थियो । प्रोटन भीपीएनले नेपाल क्षेत्रमा सामाजिक सञ्जाल प्रतिबन्ध गरिएको (४ सेप्टेम्बर) १९ भदौमा मात्रै भीपीएन डाउनलोड ६ हजार प्रतिशतले बढेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जनाएको छ ।
जेन–जी आन्दोलनको सबैभन्दा रोचक पक्ष, जुन प्लाटफर्ममा तत्कालीन सरकारले प्रतिबन्ध लगाउन खोजेको थियो, तिनैको प्रयोगबाट सरकार मात्र नभई दलहरूलाई विस्थापन गरियो । अहिले पनि विभिन्न डिस्कर्ड, ह्वाट्सएप कम्युनिटीहरूमार्फत सरसफाइ, उद्धार, पुनर्निर्माण र अब के हुने भन्ने विषयमा लाइभ बहस भइरहेको सुन्न सकिन्छ । यस्तै, मन्त्रीसमेतका नियुक्ति पनि ‘डिजिटल पोलिङ’ बाट निर्धारण गरिने जेन–जी युवाको योजना देखिन्छ ।
इथर नामका प्रयोगकर्ताले डिस्कर्डमा लेखेका छन्, ‘ओलीको एउटा सपना भने पूरा भयो, डिजिटल नेपाल बनाउने उनको भाषण अहिलेको आन्दोलनमा कार्यान्वयन भयो ।’
