खुल्यो सर्वोच्च, तारिख र पेसी बुझ्दै सेवाग्राही

बन्दीप्रत्यक्षीकरणको मुद्दाबाहेकमा सुनुवाइ हुन अझै केही दिन लाग्ने

भाद्र २९, २०८२

दुर्गा दुलाल

काठमाडौं — प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आइतबार साढे १० बजे सेनाको एस्कर्टिङमा सर्वोच्च अदालतको मूल गेटबाट छिर्दा भवनमा सरसफाइ चलिरहेको थियो ।



nपरिसरभित्र चौरमा आगजनी गरिएका सवारीसाधनको थुप्रो थियो । बचेका केही टेबल र सामान बोकेर कर्मचारी आँगनको पालमा थुपारिरहेका थिए, जहाँबाट सर्वोच्चले सेवा प्रदान गर्नेवाला छ । 

nप्रदर्शनकारीले गत मंगलबार सर्वोच्च अदालतमा आगजनी गरेका थिए । त्यसपछि अवरुद्ध न्याय सम्पादन आइतबार सुरु गर्ने घोषणा प्रधानन्यायाधीश राउतले गरेका थिए । न्याय सम्पादन सुरु गरेर हौसला दिनुपर्ने भन्दै उनी कार्यालय समय सुरु हुनेबित्तिकै सर्वोच्च पुगेका थिए । 

nराउतले सर्वोच्च अदालत पुगेर जलेका भवन केही बेर निरीक्षण गरे अनि कर्मचारीसँग बसेर कसरी तारिख र पेसी दिने लगायतको तयारीबारे ब्रिफिङ लिए । त्यसपछि बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइको तयारीबारे जानकारी लिए । मुद्दा महाशाखाका प्रमुख अर्जुन कोइराला र रजिस्ट्रार मानबहादुर कार्की पनि सँगै थिए । 

nसर्वोच्चको आँगनमै जलेका सवारीसाधनको थुप्रोलाई केही बेर नियालेपछि प्रधानन्यायाधीश राउत एनेक्स भवनको पाँचौं तलाको बैठकमा सहभागी हुन अघि बढे । 

nपहिले न्याय परिषद् रहेको उक्त भवनमा कम मात्र क्षति पुर्‍याएकाले त्यहींबाट न्याय सम्पादन सुरु गर्ने तयारी सर्वोच्चले गरेको छ । त्यहाँ न्यायाधीशहरूको चेम्बरदेखि इजलाससम्म बनाउने तयारी भइरहेको छ । प्रधानन्यायाधीश राउत भने सरासर बैठक कक्षमा प्रवेश गरे । त्यहाँ अर्का रजिस्ट्रार भद्रकाली पोखरेल पर्खेर बसेका थिए । 

nबन्दीको सुनुवाइअघि प्रधानन्यायाधीश राउतले उपलब्ध न्यायाधीश, मुख्य रजिस्ट्रार र अधिकृतहरूसँग केही बेर सामान्य कुराकानी गरे । त्यसपछि गोला प्रक्रिया कसरी अघि बढाउने, बन्दीबाहेकका मुद्दामा कहिलेदेखि सुनुवाइ गर्ने भनी डाकिएको बैठकलाई सम्बोधन गर्न थाले । 

nत्यस क्रममा प्रधानन्यायाधीश राउतले आफ्नो निवासको अवस्थाबारे सुनाए, ‘बालुवाटारको निवासमा त तोडफोड मात्र भएन, मेरा दौरा सुरुवाल पनि चोरेछन् । न कोट छ न भित्री लुगा नै । प्रदर्शनकारीले सबै लगेछन् । पुरानैबाट काम चलाइरहेको छु ।’ 

nत्यो दिन तोडफोड हुने अनुमान गरेर राउत पुरानो गाडी लिई सर्वोच्च अदालत आएका थिए । ‘सर्वोच्चबाट जोगिएर फर्कंदा बालुवाटार ह्वांगै देखेर म  भावविह्वल भएँ,’ उनले भने ।  

nसर्वोच्च अदालतमा आइतबार कहाँ जाने, के काम गर्ने र कहाँ बस्ने अन्योलसहित कर्मचारी यत्रतत्र छरिएका थिए । सर्वसाधारण पनि आफ्नो मुद्दा के हुन्छ भन्दै चासोका साथ सर्वोच्च पुगेका थिए । 

nप्रधानन्यायाधीश राउतले कुन तत्त्वले किन आगो लगायो भन्ने सबैलाई थाहा भएको उल्लेख गरे । ‘यसले दुईवटा कुरा भने शून्यकै अवस्थामा पुर्‍याएको छ । न्यायिक इतिहास समाप्त भएको छ । वर्तमान पनि हिजोसम्मको कोल्याप्स भयो,’ राउतले भावुक हुँदै भने, ‘अब भविष्य सम्झेर फेरि उभिनुको विकल्प छैन ।’

nप्रधानन्यायाधीश राउतले न्यायाधीशलाई अदालतसम्म ल्याउने सवारीसाधनसमेत नरहेको उल्लेख गर्दै थपे, ‘मुद्दाको फाइल छैन । अदालत चलाउने संरचनासमेत शून्य अवस्थामा पुगेको छ ।’ उनले न्याय सम्पादन सुरु गर्ने विषयमा बारलगायत सरोकारवाला सबै पक्षसँग छलफल गरिरहेको पनि जानकारी दिए । 

nप्रधानन्यायाधीश राउतले शनिबार सर्वोच्च बार र नेपाल बार एसोसिएसनका पदाधिकारीसँग करिब तीन घण्टा छलफल गरेका थिए । छलफल अदालतको मिसिल कसरी जुटाउने भन्नेमा केन्द्रित थियो । उनले अदालतका अधिकृतहरूसँग पनि छलफल गरे । 

nआइतबार बैठकमा न्यायाधीश सारंगा सुवेदी छोरासँग लिफ्ट मागेर आइपुगेकी थिइन् । उनीपछि न्यायाधीश श्रीकान्त पौडेल, सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल पुगे । यत्तिकैमा एक न्यायाधीशले ठट्टा गरे, ‘अदालतसँग श्रीमान्हरूलाई ल्याउन, पुर्‍याउन साइकल पनि छैन ।’ त्यसपछि प्रधानन्यायाधीश राउतले फुलकोर्ट (पूर्ण बैठक) सुरु गरे । 

nएनेक्स भवनको माथिल्लो तलामा बैठक चलिरहँदा सर्वोच्चको आँगनमा कर्मचारीहरू ससानो समूह बनाएर छलफल गरिरहेका थिए । एक छेउमा पेसी र तारिख लिन आउने सेवाग्राहीका लागि पाल टाँगिएको थियो । सेवाग्राही मूल गेटमा तारिख पर्चा देखाएर भित्र छिरेका थिए । 

nसेवाग्राहीमध्ये एक थिए दोलखादेखि आएका जनकलाल न्यौपाने । ‘दोहोर्‍याइ पाऊँ’ भन्ने निवेदन उनको सर्वोच्चमा विचाराधीन छ । २७ भदौमा पेसी थियो । अदालत जलेपछि अब के हुन्छ भनेर बुझ्न उनी आएका थिए । ‘अदालतको मुद्दा त बुझ्नुपर्‍यो नि । भोलि फेरि तारिखको म्याद गयो भने त सकियो नि,’ उनले भने ।

nभक्तपुरदेखि जयलक्ष्मी महर्जन आएकी थिइन् । उनको ‘घर सिमाना मिचिएकाले भत्काई पाऊँ’ भन्ने मुद्दा सर्वोच्चमा थियो । पेसी हुँदैन, तारिख लिएर जानू भनेर कर्मचारीले उनलाई फर्काएका छन् । 

nकाठमाडौंको कागेश्वरी मनोहराका मुक्तिनाथ शर्मा पनि मुद्दाबारे बुझ्न आएका थिए । अंशबन्डासम्बन्धी मुद्दाको आइतबार नै पेसी थियो । निराश हुँदै उनले भने, ‘बल्ल बल्ल पालो आउन लागेको थियो । अब कहिले सुनुवाइ हुने हो ?’ 

nपेसी तारिख लिन सप्तरीबाट साजन चौधरी आएकी थिइन् । उनी बुबाको मुद्दा सकारेर तीन वर्षदेखि सर्वोच्च धाउँदै आएकी थिइन् । उनको मुद्दाको २४ भदौमा पेसी थियो । ‘आन्दोलनले अस्ति अदालत आउन सकिएन । अदालत नै जलाएछन् के सुनुवाइ हुनु,’ उनले भनिन्, ‘अब तारिख दिनुभयो भने लिएर जानुपर्ला ।’ 

nतारिख र पेसी लिन आउने सबैलाई सर्वोच्च अदालतले कम्तीमा तीन महिनाको साधारण तारिख दिएर पठाएको छ । ‘सेवाग्राहीलाई खाली रजिस्ट्ररमा तीन महिनापछिको तारिख दिँदै पठाइरहेका छौं,’ सर्वोच्चका सूचना अधिकारी नीराजन पाण्डेले भने, ‘बन्दीप्रत्यक्षीकरण र अत्यावश्यक बाहेकका अरू काम अहिले हुँदैन ।’

nअस्थायी इजलास निर्माण भएपछि अरू मुद्दाको सुनुवाइ सुरु हुने सूचना अधिकारी पाण्डेले जानकारी दिए । ‘अब पहिलो काम मिसिल जम्मा गर्ने हुन्छ । कुन मिसिल अदालतमा छ, कुन छैन पहिचान गर्नुपर्‍यो अनि फाँटहरू खडा गर्नुपर्‍यो, त्यसपछि मात्र नियमित सुनुवाइ होला,’ उनले भने ।  

nइजलास र भवनको टुंगो लागेर सुनुवाइ सुरु भएपछि अदालतले नै खबर गर्ने भनी सेवाग्राहीलाई सम्पर्क नम्बर दिने गरिएको छ । ‘कठिन परिस्थिति भएको  सेवाग्राहीले पनि बुझेका छन्,’ पाण्डेले भने । 

nबन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ सुरु गर्ने भनिए पनि आइतबार दर्ता नभएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । 

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully