सार्वजनिक सवारी चल्न थालेसँगै बाहिरिन थाले यात्रु 

दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्नेबारे फेरि सोमबार छलफल गरिँदै 

भाद्र २९, २०८२

विमल खतिवडा

काठमाडौं — केही दिनयता उपत्यका छाडेर घर जानेहरूको संख्या बढ्दै गएको छ । सबैभन्दा धेरै आइतबार साँझसम्म १ सय ८० वटा यात्रुबस नयाँ बसपार्क गोंगबुबाट पूर्व–पश्चिमका लागि छुटेका छन् । उपत्यकाबाहिर रहेका बस आइनसकेकाले थप यात्रु पठाउन नसकिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरले बताए । 

‘उपत्यका छाडेर दसैंमा घर जाने यात्रुको चाप बसपार्कमा छ, तर बाहिरबाट बस आइनसकेका कारण समस्या भएको छ,’ कुँवरले भने, ‘बाहिरबाट आउने जति गाडीलाई धमाधम यात्रु राखेर पठाइरहेका छौं ।’ दसैंका लागि बाहिरिनेको दैनिक संख्या बढिरहेको कुँवरको भनाइ छ । 

‘विभिन्न जिल्लामै यात्रु बस रोकिएका थिए । निषेधाज्ञा र कर्फ्युले गर्दा बस आउन सकेका थिएनन्,’ उनले भने, ‘शनिबारबाट निषेधाज्ञा र कर्फ्यु हटेकाले अवस्था सहज बन्दै गएको छ । एक–दुई दिनमा गाडीको संख्या बढ्दै जान्छ ।’ 

शुक्रबारबाटै यात्रुहरूको भीड बसपार्कमा बढे पनि बस अभावमा पठाउन नसकिएको उनले बताए । ‘शुक्रबारबाटै यात्रु घर जान थालेका हुन्,’ कुँवरले भने, ‘सबैतिर आइतबारबाट सहज हुन थालेपछि यात्रुको भीड बढेको हो, अग्रिम टिकट बुकिङ नखोल्दै यात्रुहरू धमाधम टिकट काटेर घर जान थालेका हुन् ।’ क्याम्पस बिदा भएकाले काठमाडौंमा पढ्न बसेकाहरू घर जान थालेको यातायात व्यवसायीहरूको भनाइ छ । 

उपत्यका छाडेर दसैंका लागि घर जानेहरूको ठूलो भीड आइतबार देखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । ‘आइतबार बिहानैदेखि कोटेश्वर, कलंकी र बल्खु नाकाबाट दसैंका बेला जस्तो यात्रुबस र यात्रु बाहिरिएका छन्,’ उनले भने, ‘चाडबाडको मुखमा सुरक्षा प्रणाली नाजुक छ, ठाउँ–ठाउँका प्रहरी बिट, चौकी, पोस्ट जलाइएका छन् ।’ 

सुरक्षाको प्रत्याभूति दिएर यात्रुलाई घर जाने वातावरण बनाउँदै टिकटमा ठगी हुन नदिने गरी चाडबाडमा घर पठाउने व्यवस्था गर्नुपर्ने सिटौलाको भनाइ छ । दसैं आउन धेरै दिन छैन । तर अझै गाडीको अग्रिम टिकट बुकिङ खुलाइएको छैन ।  

‘आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव केशवकुमार शर्माको उपस्थितिमा यसबारे प्रारम्भिक छलफल भए पनि निर्णय हुन सकेन,’ उनले भने, ‘यातायात व्यवस्था विभागको भवन आगलागीले ध्वस्त भएका कारण पनि समस्या भएको हो, सोमबार पुनः यसबारे छलफल गरेर केही निर्णय गर्छौं ।’ 

मन्त्रालयमा देशभर सार्वजनिक सवारीसाधन कसरी सहज रूपमा चलाउने वातावरण बनाउने भनेर छलफल भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा समिति बनाइएकाले उक्त समितिले सरोकारवाला निकायको उपस्थितिमा थप छलफल गरेर दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्नेबारे निर्णय गर्नेछ । 

‘यात्रुलाई घर जान सहज व्यवस्थापनका लागि सबैतिर टिकट काउन्टर खुला गर्न आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अहिले त्यहीअनुसार यात्रु बाहिरिइरहेका छन् ।’ 

अग्रिम टिकट बुकिङ खोल्नुअघि सम्बन्धित निकायले सडक पूर्वाधार सहज बनाउनुपर्ने उनको भनाइ छ । भदौ २४ देखि ठप्प बनेको सार्वजनिक यातायात आइतबारबाट सहज रूपमा सञ्चालनमा आएको छ । अघिपछि घटस्थापनाको १५ दिनअघि दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोलिन्थ्यो । आइतबार अग्रिम टिकट बुकिङ खोल्नेबारे निर्णय गर्ने भनिए पनि समिति गठन गरेर त्यहीअनुसार निर्णय गर्ने तय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।  

सरोकारवाला निकायको उपस्थितिमा सोमबार छलफल गरिने विभागका सूचना अधिकारी गणेशमानसिं राईले बताए । गत मंगलबार प्रदर्शनकारीले विभागको भवन आगजानी गरेर ध्वस्त पारिदिएका छन्, जसले गर्दा अहिलेसम्म विभागको सेवा सुरु हुन सकेको छैन । 

यता सडक पूर्वाधारमा दसैंमा कुनै समस्या हुन नदिने सडक विभागका महानिर्देशक विजय जैसीले बताए । रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने सडक र कोशी करिडोरको केही खण्डमा बाहेक अन्यत्र समस्या नरहेको महानिर्देशक जैसीको भनाइ छ ।  

‘अहिले कुनै पनि राजमार्ग र सडक अवरुद्ध हुन नदिने गरी मेसिन तैनाथ राखेका छौं,’ उनले भने, ‘चाडबाडलाई ध्यानमा राखेर केही दिनभित्रमै खाल्डाखुल्डी पुर्ने र समस्या रहेको खण्डमा सहज बनाउने काम थाल्छौं ।’ दसैंमा मात्र उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully