नयाँ आउने संसद् र मन्त्रिपरिषद्लाई दायित्व सुम्पने हामीले अठोट गरेका छौँ : प्रधानमन्त्री सुशीला कार्की [पूर्ण सम्बोधनबाट सम्पादित]
मलाई सरकारको नेतृत्व गर्ने मौका अवसर मिल्यो । मेरो कार्यकालको सफलताको कामना गर्नु भएकोले धन्यवाद दिन चाहन्छु । कुन परिस्थितिमा यो अन्तरिम सरकार मन्त्रिपरिषद् गठन हुनुपर्ने अवस्था आयो ।
२७ घण्टाको आन्दोलनमा मुलुकमा ठूलो धनजनको व्यापक क्षति हुन गएको छ । देशभरमा ४० जनाजति युवायुवतीले मृत्युवरण गर्नु पर्यो । सुरक्षाकर्मीहरूको पनि देहावसान भयो । सुरक्षा निकायहरू प्रहरीको बिट,सर्वोच्च अदालत,उच्च र जिल्ला अदालतहरूलगायत सिंहदरबारसमेत सम्पूर्ण आगोमा विभत्स तरिकाले जलेर गयो । हाम्रा जति पनि रेकर्डहरू,प्रमाणहरू, सर्वोच्च अदालतका फाइलहरू नष्ट भए । अर्को ठूलो समस्या, भौतिक क्षति त बनाउन पनि सकिन्छ । तर ती रेकर्डहरू, ती जमानादेखिका फाइलहरू सम्पूर्ण नष्ट भएर शून्यमा पुगेका छौँ । सुरक्षाकर्मीको बहानहरु खरिद नगरी नहुने अवस्था छ । यस घडीमा यसपल्टमा हत्या, हिंसा, आगजनी भएको छ, यो मुलुकको अत्यन्तै आवश्यक संस्थाहरू छानीछानी प्रहार भएको छ । हाम्रै सिंहदबारभित्रका पुराना फाइल नष्ट भएर गए ।
चिन्ताको विषय यो छ किन अत्यन्त आवश्यक संस्थाहरू जसले यो देशको शासन चलाएको छ । ती भवनहरू , मिसिल नष्ट भए । यो देखेर मलाई लाज पनि लागेको छ, नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ । भवन भत्काउला । तर सरकार र निजी क्षेत्रका जलाउने यस्तो घटना यो देशमा पहिलो चोटि भएको हो । मलाई प्लान बनाएर षडयन्त्रै भएको हो कि भन्ने लाग्छ । यसमा अनुसन्धान हुन बाँकी छ । अनुसन्धान गरेर यसरी नोक्सान गर्नेहरूलाई, अत्यन्त आवश्यक कुराहरूमा क्षति पुर्याउनेको खोजबिन गरी कारबाही नगर्नुपर्ने अवस्था छ ।
जुन परिस्थितिमा आएँ, रहरले आएको होइन । सडकबाट जताततैबाट मलाई (सुशीला कार्कीलाई जिम्मा देऊ) भन्ने आवाज आयो । जहाँसम्म हाम्रो टिम छ, काम गरिरहेको छ । म सत्ता र पदको रसास्वादन गर्न आएको होइन, मेरो उमेर पनि होइन त्यो । हामीले के चाहेको हो भन्ने आवाज छ । किन सेवा नगर्ने भनेर आएको हो । हाम्रो ६ महिना मात्रै अवधि । त्योभन्दा बढी नबस्ने । कुनै पनि हालतमा आफ्ना कामकारबाही पूरा गरेर मुक्त हुने हो । नयाँ आउने संसद् र मन्त्रिपरिषद्लाई दायित्व सुम्पने हामीले अठोट गरेका छौँ । यो अठोटमा यहाँहरूको साथ नपाई सम्भव छैन । सुरक्षा निकायले हामीलाई साथ नदिई सम्भव छैन ।
मलाई सहयोग गर्नुस्, हाम्रो जति नोक्सान, क्षति भएको छ । मैले मुख्य सचिवलाई अस्ति भने, आफ्नै जनताबाट पहल गरेर त्यो कुरा किन पूरा नगर्ने ? सानो भए पनि क्षति भएका प्रहरी चौकी बाँसका भाटा जोडेर किन नबनाउने ? काम चलाउने भए अहिले पुग्छ । ०७२ को भूकम्प आयो, मलाई थाहा छ, सर्वोच्च अदालतमा न्यायाधीश थिएँ । कति दुःख भएर रेक्ट्रोफिट गरेको हो । आज जलेर भस्म भएर गयो ।
अपराधीहरूले गरेको हामीमाथि मुलुकविरुद्ध गरेको चुनौती हो । हामी सबै मिलेर जुटेर यो चुनौतीलाई एकताको भावना राखेर सामना गर्नेछौँ । चाहे जनतालाई गुहारेर किन होस् ।
म हिजो चक्रपथमा भाटभटेनी गएको थिएँ । त्यहाँ मैले सबै कुरा सुनेँ, व्यापारीको ठूलो समूह भेला भएको थियो । उहाँहरुले भन्नुभयो, ‘सम्माननीयज्यूले कुनै चिन्ता लिनुपर्दैन ।हामी छौँ । हामीलाई सुरक्षा चाहिने हो । तपाईँले धन्दा मान्नु पर्दैन ।’ मैले धन्यवाद दिएँ ।
उहाँहरुले भन्नुभयो, तपाईँ वकिलबाट आएको हो । सर्वोच्च अदालत बनाउन वकिललाई भन्नुस् । सर्वोच्च अदालत बन्न धेरै पैसा लाग्छ । सबै जना मिलौँ, एकताबद्ध होऔँ ।
आगामी दिनहरूमा जेनजी युवा पुस्ताको सोच अनुसार काम गर्नुपर्ने भएको छ । विश्वमा २७ घण्टाको आन्दोलनले कायापलट गरेको मलाई थाहा छैन । समयले मागे अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन, गुड गभरनेन्स र आर्थिक समानताको कुरा गर्न अठोट गर्नुपर्नेछ । क्षतिको मूल्यांकन गरी आगामी कार्ययोजना बनाउनुपर्ने छ ।
मृत्युवरण गर्नेहरूले छात्रछात्राहरू र अन्य परिवारलाई भेटेँ,बहुत दुःख लाग्यो । उहाँहरूको आँसु देखेर । परिवारको सदस्यको मृत्यु भएको छ । आज मैले उहाँहरूलाई सहिद घोषणा निर्णयमा हस्ताक्षर गरेँ । मृतकका परिवारलाई दस लाख प्रदान गर्ने निर्णय गरेँ । घाइतेको निःशुल्क उपचार र केही राहत निर्णय गरेका छौँ । अरू कुराहरू मुख्य सचिवले हेक्का राख्नुभएको छ । मृतकका परिवार यहाँ बसेको खर्च हेरिदिने । मृतकको शव आफ्नो क्षेत्रमा पुर्याउन चाहे सवारीको व्यवस्था गरिनेछ । अपांग भए उपचारको व्यवस्था गर्ने निर्णय गरेका छौँ । निजी क्षेत्रबाट केही गर्न सकिन्छ कि भनेर कोसिस भइरहेको छ ।
सबै पक्ष मिलेर नेपाल निर्माण गर्ने हो । हामी आर्थिक विषम परिस्थितिमा छौँ । जनता पनि, सरकारका पनि । हामी के गर्न सक्छौँ ? विचार गरेर निर्माणमा प्रयास गर्नेछौँ । सबभन्दा दुःखको कुरा २४ गते आतंकजस्तो फैलाइयो । व्यक्तिका घर, सम्पत्ति, प्रमुख सुरक्षा निकायदेखि लिएर राज्यको मुख्य सचिवालय सिंहदरबार, अदालत सम्पूर्ण जलाउने काम भयो । अर्को दुःखान्त व्यक्तिगत सम्पत्ति, व्यापारी, उद्योगीको सम्पत्ति पनि डढाउने काम भएको छ, । ‘हामीले जसरी उभिन्छौं’ भन्नु भएको छ । व्यक्तिगत सम्पत्तिमा क्षति पुगेर कतिपय व्यापारी उठ्न नसक्ने अवस्थामा पुगेका छन् । साना साना व्यापारी पनि लुटिएका छन् । कसरी उठाउने भनेर ? त्यसमा राज्यले विचार गर्छ । बैंकको सफ्ट लोन दिएर हुन्छ कि ?
nउहाँहरूले ‘हामी उठ्ने कोसिस गर्छौं’ भन्नु भएको छ । आन्तरिक बल देखाउनु भएकोमा धन्यवाद दिन्छु ।
