काठमाडौं — जेनजी समूहद्धारा आयोजित आन्दोलनका क्रममा केही व्यक्तिहरुले सिम्रिक एयर तथा कम्पनीका निवर्तमान अध्यक्ष क्याप्टेन रामेश्वर थापाको निजी निवासमा आक्रमण गरेकोमा वायुसेवा संचालक संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पर्यटन सिजन सुरु भइसकेको, हिन्दूहरुको महान् चाड दसैं, तिहार तथा छठ पर्व नजिकिँदै गरेको र वायुसेवा कम्पनीहरु अधिकतम मात्रामा स्वदेशी तथा विदेशी यात्रुहरुलाई सेवा दिन तयारी अवस्थामा रहेको बेला सदस्य कम्पनीमाथि भएको यस्तो आक्रमणले व्यवसाय नै संकटमा पर्न सक्ने देखिन्छ ।’
हाल सबै वायुसेवा (हवाईजहाज तथा हेलिकोप्टर) कम्पनीहरुको सेवा पूर्ण रूपमा सञ्चालन भएको संघले जनाएको छ । साथै, आक्रमणमा संलग्न जोसुकै भए पनि सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई संघले प्रेस विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
