आन्दोलनमा जाँदै भनेका थिए- ‘देशका लागि जाँदै छु, म मरे पनि भावी पुस्तालाई राम्रो हुनेछ’

स्नातक तहमा पढ्दापढ्दै कामको खोजीमा माल्टा जाने तयारी गरिरहेका २२ वर्षीय श्रीकृष्ण र कक्षा १२ को पढाइ सकेर दुबईमा पसिना बगाउन जान खोजिरहेका २१ वर्षीय उमेश दुवैको जेनजी आन्दोलनका क्रममा देशकै माटोमा रगत बग्यो।

भाद्र २९, २०८२

अनिश तिवारी

सिन्धुपाल्चोक — जेन–जी आन्दोलनको पाँच दिन बित्यो । प्रहरी दमनको क्रममा जिल्लाको बाह्रबिसे नगर र चौतारा साँगाचोकगढी नगरपालिकाका दुई युवाले ज्यान गुमाउनुपर्‍यो । केही घाइते अझै उपचाररत छन् । मृतकका परिवारका आँखा अझै ओभाएका छैनन्, शोकमग्न र स्तब्ध उनीहरुलाई थप एउटा चिन्ता छ– आफ्नाले दिएको बलिदान खेर जाला कि भन्ने ।

....

बाह्रबिसे नगरपालिका–६ गातीका २२ वर्षे श्रीकृष्ण श्रेष्ठलाई आन्दोलनका क्रममा कोखामा गोली लागेको बताउँछन्, उनका दाइ रामकृष्ण । ‘भ्रष्टाचारमुक्त देश माग्दा भाइले गोली खाएर ज्यान गुमाउनुपर्‍यो, जसले सिंगो परिवार मर्माहत त भएको छ, तर बलिदानी खेर जाला भन्ने पनि चिन्ता छ,’ उनले भने । उनकाअनुसार केही समयअघि मात्रै स्नातक तहमा भर्ना भएका भाइ तीन वर्षयता काठमाडौंमा थिए । 

कामको खोजीमा माल्टा जाने तयारीमा लागेका श्रीकृष्ण गत मंगलबारको जेन जी आन्दोलनमा सहभागी भएका थिए । ‘ऊ आन्दोलनमा गएको हामीलाई पछि मात्रै थाहा भयो, यस्तो घटना घट्ला भन्ने कल्पना पनि थिएन,’ दाइ रामकृष्णले भने ।

जिल्लामा विपन्न र उपचार नपाएर मृत्यु भएका घटनाले घोचिरहने गर्थ्यो श्रीकृष्णलाई । ‘भाइ आन्दोलनस्थलमै गोली लागेर ढलिसकेको रहेछ, अर्को एक जनाले फोन उठाएर तपाईंको मान्छेलाई एम्बुलेन्समा लगेको छ भनेपछि हामी अत्तालियौं, उसलाई रातभर काठमाडौंका अस्पतालमा खोज्यौं, पछि पो ट्रमाबाट रातारात टिचिङ पुर्‍याइएको रहेछ, भाइ खोजेको शव फेला पर्यो,’ रामकृष्णले भावुक हुँदै भने । 

....

चौतारा साँगाचोकगढी नगरपालिका इर्खुका २१ वर्षे उमेश महतले पनि जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाए । आन्दोलनको सुरुमा सकुशल फर्किएका उनी पुनः जान लागेपछि परिवारले सम्झाउन खोज्यो । तर उनको जवाफले कसैले रोक्न सकेनन् । उनकी दिदी सुमित्रा भक्कानिँदै भन्छिन्, ‘सरकारको भर छैन, जे पनि हुनसक्छ नजाउ भन्दा मानेन्, उल्टै देशका लागि हो, म मरे पनि नराम्रो मान्नु पर्दैन, भावी पुस्तालाई राम्रो हुन्छ भन्यो ।’ 

जेन–जी आन्दोलनका क्रममा गोली लागेका उमेशलाई बानेश्वरस्थित फ्रण्टलाइन अस्पतालमा लगिएको थियो, जहाँ उनको उपचारका क्रममा मृत्यु भएको थियो । ‘भाइको मृत्युको खबरले हामीलाई नराम्रोसँग हल्लाइदिएको छ, उसले जानुअघि म रहिनँ भने चिन्ता मान्नुपर्दैन भनेको कुराले अहिले घोचिरहन्छ,’ उनले भनिन् । उमेश काठमाडौंमा कक्षा १२ को पढाइ सकेर दुबई जाने तयारीमा थिए । देशमा नै केही गर्न चाहेपनि विदेशिनुपर्ने बाध्यताले उनी पिल्सने गरेको परिवार बताउँछन् ।

श्रेष्ठ र महतको शव अहिले काठमाडौंका अस्पतालको शवगृहमा राखिएको छ । आन्दोलनको टुंगो नलागेकाले शव जिम्मा लिन सकेका छैनन् परिवारले । श्रेष्ठ र महतका बुबाआमा, आफन्त र परिवारजन यसबारेमा बोल्न सक्ने हालतमा पनि छैनन् ।

केही दिनअघि बाह्रबिसे नगरका स्थानीय युवा जम्मा भएर दुवैको स्मृतिमा श्रद्धाञ्जली दिँदै स्थानीय दिवंगत श्रेष्ठको सालिक बनाउने अभियान चलाएका छन् । यसबाहेक बलेफी गापाका मदन कार्कीसहित विभिन्न स्थानका केही युवा प्रहरीको गोलीबाट घाइते भई काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन् । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully