घटनाबारे थाहा पाएपछि हामी काठमाडौं आएका छौं, तर अहिलेसम्म छोराको मुख हेर्न सकेका छैनौं : हरिप्रसाद चौधरी, विजयका बुबा
सिरहा — लहान नगरपालिका–१५ मा पर्ने सिंगो ढोढना गाउँ अहिले शोकमग्न छ । काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकामध्ये २७ वर्षीय विजय चौधरी यसै गाउँका हुन् । यहाँका स्थानीय हरिप्रसाद चौधरीका कान्छा छोरा थिए, उनी ।
विजय श्रीमती र चार वर्षकी छोरीसहित ६ वर्षदेखि काठमाडौंस्थित पेप्सीकोलामा भाडामा बस्दै आएका थिए । विजयको सात वर्षअघि मात्रै बिहे भएको थियो । बुबा हरिप्रसादका अनुसार १२ कक्षासम्म पढेका उनी त्यहाँ हाउसवायरिङको काम गर्दै आएका थिए ।
दैनिकजस्तै काम सकेर गत मंगलबार साँझ उनी डेरातर्फ फर्किरहेका थिए । तर, नयाँ बानेश्वरमा आन्दोलन भइरहेको देखेपछि उनी त्यहीं रोकिए । सोही क्रममा घाइते भए । त्यसपछि सिभिल अस्पताल पुर्याइएका उनलाई त्यहाँ मृत घोषणा गरिएको हरिप्रसादले बताए ।
यसका अलावा उनी कसरी घाइते भए वा कसले अस्पताल पुर्यायो भन्ने परिवारले थाहा पाउन सकेको छैन । मृत्युबारे जानकारी पाइसकेपछि आफन्त र परिवारका सदस्य शव ल्याउन अहिले काठमाडौं गएका छन् । तर, अहिलेसम्म आफूहरूले शव हेर्न र प्राप्त गर्न नसकेको हरिप्रसादले बताए ।
‘मेरो छोरो कसरी घाइते भयो, कसले अस्पताल पुर्यायो, हामीलाई अहिलेसम्म थाहा हुन सकेको छैन,’ हरिप्रसादले कान्तिपुरसित भने, ‘घटनाबारे थाहा पाएपछि हामी काठमाडौं आएका छौं, तर अहिलेसम्म छोराको मुख हेर्न सकेका छैनौं ।’
सामान्य आर्थिक हैसियतका विजयको गाउँस्थित घरमा बुबा, आमा, दाजु, भाउजुसहित परिवार बस्दै आएका थिए । विजयको मृत्युपछि उनको परिवार अहिले विक्षिप्त छ । विजयकी आमा र श्रीमती घरिघरि मुर्छा पर्छिन् ।
‘हामी त जसोतसो आफूलाई सम्हालेका छौं, तर विजयकी आमा र बुहारी घरिघरि मुर्छा परिरहेकी छन्,’ हरिप्रसादले भक्कानिँदै कान्तिपुरलाई सुनाए, ‘घटना भएको दिन बुहारी र नातिनीले बजार जान उनलाई पर्खेर बसेका थिए, तर उनी सदाका लागि गइहाले ।’
