परिवर्तनका लागि आफ्ना अधिकार मागिरहेका यी दुई युवालाई राज्यले गोली हानेपछि परिवारको खुसी पनि खोसिएको छ ।
काठमाडौं– निकिता गौतम, १९, काठमाडौंn२०८२ । भदौ २३ । सोमबार, गौशाला ।nअरू दिनभन्दा सोमबार निकिता गौतम छिट्टै उठिन् । जेन–जीहरूले गर्न लागेको भ्रष्टाचारविरुद्धको प्रदर्शनले उनी उत्साहित थिइन् । आमा र बाबासँग, ‘आज कति मान्छे आउलान् है ?’ भनेर सोधिरहन्थिन् । आफ्नै युवा समूहको आह्वानमा हुन लागेको आन्दोलनले गर्दा होला, सोमबारको प्रदर्शनलाई लिएर निकिता उत्साहित थिइन् । त्यसो त उनी राजनीतिमा खासै चासो राख्दिनथिइन् । यो आन्दोलनमा उनको उत्सुकता भिन्न खालकै देखिन्थ्यो ।
‘माइतीघरमा त भेला सुरु भएछ नि है ?’ भन्दै उनी आमालाई सामाजिक सञ्जालका भिडियोहरू देखाउँथिन् । तर, उनलाई आन्दोलनमा जाने रहर भने थिएन । घरमै बसेर सामाजिक सञ्जालमा प्रदर्शनको लाइभ हेरिरहेकी थिइन् । शान्तिपूर्ण आन्दोलन उनले सोचेको जस्तो रहेन । शान्तिपूर्वक बाजागाजा र रचनात्मक शैलीमा भइरहेको आन्दोलन अचानक रणमैदानमा रूपान्तर भयो । प्रहरी र आन्दोलनकारीबीच झडप सुरु भयो । त्यही झडपमा प्रहरीको गोली लागेर १९ जना युवा मारिए । आँखै अगाडि राज्यको यो दमनकारी निर्णयले निकितालाई पिरोल्यो ।
परिवर्तनका लागि आफ्नो अधिकार मागिरहेका युवालाई राज्यले गोली हानेको तनावले रातभर सुत्नै सकिनन् । उनले अबेरसम्मै आमा–बासँग बसेर राज्यको बर्बताको गुनासो गरिरहिन् । ‘किन मारेको होला है ? यसरी युवाहरू मारिरहने हो भने देशमा को बस्लान् ?’ लगायतका प्रश्नहरू गरिरहिन् । तर, परिवारसँग उनलाई दिने जवाफ थिएन ।
२०८२ । भदौ २४ । मंगलबार, गौशाला ।
nnराति अबेरै सुते पनि मंगलबार उनी छिट्टै उठिन् । तर, सोमबार जत्तिको उत्सुकता र सामथ्र्य उनमा थिएन । सोमबार आफ्नै उमेर समूहका साथीहरू मारिएको घटनाले उनी विक्षिप्त बनेकी थिइन् । अरू दिनभन्दा यो दिन उनका लागि अलि पीडादायी थियो । तर, सडक मंगलबार झन् धेरै तात्तियो । राज्यद्वारा गरिएको हत्याको विरोधमा राजधानीसहित देशका विभिन्न स्थानमा युवाहरूले नाराबाजी गरिरहेका थिए । नाराबाजीको भीड गौशालामा पनि पुग्यो । शोकलाई शक्तिमा बदल्दै उनी पनि नाराबाजी गर्न मिस्सिइन् । तर, माहोल तनावग्रस्त भएपछि उनी त्यहाँबाट निस्किइन् ।
निकिता आफू बस्ने घरको छतमा बसेर आन्दोलन हेर्न थालिन् । केही समयपछि आन्दोलन थप तनावग्रस्त बन्दै गयो । प्रहरीले अश्रुग्यास चलाएपछि आन्दोलित समूह प्रहरी कार्यालयमा आगो जलाउन हिँड्यो । आगो लगाउने भीडमाथि प्रहरीले गोली चलायो । केही समयअघिसम्म शान्त गौशाला एकाएक रणमैदान बन्यो । निकिता छतमा बसेर राज्यको बर्बता हेरिरहेकै थिइन् ।
मंगलबार । दिउँसो १ बजे ।
nअचानक एउटा गोली निकिताको छातीमा आएर ठोक्कियो ।
nनिकिता ढलिन् ।
गोलीले निकिता मात्रै ढिलिनन् । उनीसँगै परिवारको खुसी ढल्यो । २०६३ मा काठमाडौंमा जन्मिएकी निकिताको १९ वर्षको कलिलो उमेरमै राज्यले हत्या ग¥यो । भर्खरै १२ कक्षा उत्तीर्ण गरेकी निकिता विदेश जाने तयारीमा थिइन् तर राज्यले उनको सपना निमोठ्यो । उनको सपनासँगै राज्यले परिवारको खुसी पनि लुट्यो ।
चार सदस्यको परिवार निकिताको हत्यासँगै तीन सदस्यमा खुम्चिएको छ । उनको अनुपस्थितिले आज परिवारमा शून्यता छ । आमा–बाको खुसीको टुक्रा चुँडियो । डेनमार्कमा भएका दाजुको भरोसा लुटियो । उनीसँगै परिवारको खुसी लुटियो । राज्यको एउटा होनाहार भविष्य लुटियो । उनको अभावले विक्षिप्त बनेको परिवार अझै बौरिन सकेको छैन । (निकिताका घरबेटी मनोज गौतमसँग गरिएको कुराकानीमा आधारित)
०००
n‘उहाँसँगै सन्तानको भविष्य पनि खोसियो’
nसन्तोष विक, ३०, उदयपुर
२७ कात्तिक २०५२ मा उदयपुरको बेलका नगरपालिकामा जन्मिएका सन्तोष विक वर्तमान नेतृत्वसँग खुबै रुष्ट थिए । उनी नेतृत्व फेर्नुपर्छ भन्ने मत राख्थे । उनको विचार जेन–जीसँग मिल्यो । जेन–जीको आयोजनामा भएको सोमबारको प्रदर्शनमा उनी पनि गए । आन्दोलनमा जानुअघि उनले श्रीमतीलाई ‘अब युवा नेतृत्व आउँछ’ भनेर निस्किएका थिए । तर, उनी फर्किएनन् । ‘बिहान मैले नजानु भन्दाभन्दै उहाँ जानुभयो । अब युवा नेतृत्व आउनुपर्छ । हामी लिएर फर्किन्छौं भनेर जानुभएको थियो,’ सन्तोषकी श्रीमतीले भक्कानिँदै भनिन्, ‘तर उहाँ फर्किनुभएन ।’
१२ वर्षअघि काठमाडौं आएर सुन पसलमा काम गर्दै आएका थिए सन्तोष । उनी राजनीतिमा खुबै चासो दिन्थे । उनी युवाहरू नेतृत्वमा आउनुपर्छ भन्ने चाहन्थे । त्यही युवाको नेतृत्व लिन उनी सोमबार बानेश्वर पुगेका थिए । तर, प्रहरीको तातो गोलीले सेलाए ।
उनका २ सन्तान छन् । ८ वर्षीया छोरी सोनिया र १० वर्षीय छोरा उज्ज्वल । उनको अवसानसँगै घरमा शून्यता छाएको छ । सन्तानहरू टुहुरा बनेका छन् । श्रीमती अम्बिकाको सिन्दूर खोसिएको छ । उदयपुरका उनका बाबु र आमाको भरोसा खोसिएको छ ।
सन्तोषले युवा नेतृत्वका लागि आफ्नो बलिदानी दिए । राज्यले उनको बलिदानीलाई कति कदर गर्छन्, थाहा छैन । तर, उनको अभावले परिवार एक्लिएको छ । सोनिया र उज्ज्वलको भविष्य खोसिएको छ, अम्बिका एक्लिएकी छिन् । ‘घरको खम्बा नै उहाँ हुनुहुन्थ्यो । दुई सन्तानलाई मैले कसरी हुर्काउने हो, कुनै टुंगो छैन,’ सन्तोषकी श्रीमती भन्छिन्, ‘उहाँसँगै सन्तानको भविष्य पनि खोसियो ।’
सन्तोषको अभावले पिरोल्लिएकी अम्बिकालाई श्रीमान्को बलिदानीप्रति गर्व छ तर श्रीमान्को बलिदानलाई राज्यले व्यर्थको बनाउने हो कि भन्ने चिन्ताले पनि दुःखी पनि छिन् । ‘मेरो श्रीमान्ले परिवर्तनका लागि ज्यान दिनुभयो । तर अहिले जति मान्छे आफूलाई जेन–जी भन्दै आउनुभएको छ, उहाँहरूले मृतक परिवारसँग कुनै सल्लाह लिनुभएन,’ अम्बिकाले भनिन्, ‘यस्तो नेतृत्वले कतै मेरो श्रीमान्को बलिदानलाई खेर जान दिने त होइन ?’
nnसन्तोषको अभावसँगै मार्गविहीन बनेको परिवार राज्यसँग एउटै कुरा मागिरहेका छन्– सन्तोषलाई सहिद घोषणा गर ।
