शनिबार अपराह्न बालुवाटारतर्फ लाग्ने क्रममा प्रधानमन्त्री कार्कीका पति दुर्गा सुवेदीले दुई बोरा चामल तयार पारे, आधा बोरा दाल र दुई माना जति सातुको पोको बलियो बनाए, आफूले प्रयोग गरिरहेका अन्य सामग्री तयार पारेर गार्डलाई गाडीमा राख्न इसारा गरे
काठमाडौं — टोखा नगरपालिकाको धापासी हाइटबाट करिब पाँच किलोमिटर पार गरेपछि भगवती मन्दिरको आडबाट एउटा बाटो ओरालो लाग्छ । रोकिन नै मुस्किल पर्ने ओरालो बाटोको छेउमा छ दुईतले सामान्य घर, जुन नवनियुक्त प्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको हो ।
हामी शनिबार करिब ५ बजे पुग्दा गेटमै भेटिए कार्कीका श्रीमान् दुर्गा सुवेदी । उनी आफैं प्रजातन्त्र र आन्दोलनसँग साइनो भएका व्यक्ति हुन् । पञ्चायतकालमा कांग्रेसले बनाएको योजनाअनुसार सुवेदीले विमान अपहरणको नेतृत्व गरेका थिए ।
कार्की–सुवेदी परिवार दशकभन्दा बढी समयदेखि यही घरमा बस्दै आएको छ । करिब साढे तीन आनाभित्र बनेको घरसँगै टँसाएर गार्ड क्वार्टर बनाइएको छ । दुई दिनयता भने नियमित गार्डमात्र होइन, अरू सुरक्षाकर्मीको उपस्थिति छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लै संख्यामा खटिएका छन् यहाँ ।
हामी त्यहाँ हुँदाहुँदै सुवेदीले दुई बोरा चामल तयार पारे, आधा बोरा दाल र दुई माना जति सातुको पोको बलियो बनाए । आफूले प्रयोग गरिरहेका अन्य सामग्री तयार पारेर गार्डलाई गाडीमा राख्न इसारा गरे । किनभने, उनले अब बालुवाटारको सरकारी निवासमा जानुपर्नेछ । कार्की प्रधानमन्त्री नियुक्त भएपछि राज्यले परिवारलाई आवासीय सुविधा दिएको छ ।
nकार्की र सुवेदीको इच्छा भने आफ्नै घरमा बस्ने थियो । ‘हामीले भनेका पनि हौं तर सुरक्षालगायत धेरै कारणले सहज नहुने भनिएपछि बालुवाटार सर्न लागेका हौं,’ हतारमा रहेका सुवेदीले भने । उनले आफू एक्लै भए पनि बस्ने हो कि भनेर पनि सोचेका थिएँ तर प्रधानमन्त्री कार्की मानिनन् ।
जेन–जी आन्दोलनले सत्ता पल्टाएपछि कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री भएकी हुन् । आफ्नो घर छाडेर सरकारी निवासमा कहिलेसम्म बस्नुपर्छ भन्ने निश्चित छैन । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी दिएका छन् ।
स्थानीय सरिता भण्डारीका अनुसार छरछिमेकमा कार्कीले कहिल्यै पदको रवाफ देखाइन् । वरिपरिका सबैसँग मिजासिलो व्यवहार गर्छिन् । ‘हामी पाँच वर्षदेखि आमनेसामने घरमा बस्छौं । कुनै दिन पनि आफू ठूलो मान्छे भएको जस्तो व्यवहार गर्नुभएन । सधैं हाँसेर बोल्ने । प्रधानन्यायाधीश भइसकेको मान्छे भन्दा पत्याउन गाह्रो लाग्ने,’ उनले भनिन्, ‘अब त प्रधानमन्त्री नै हुनुभयो । धेरै खुसी लागेको छ ।’
भण्डारीले यसअघि कोही पनि प्रधानमन्त्रीलाई प्रत्यक्ष देखेकी छैनन् । ‘प्रधानमन्त्री गाडी र सुरक्षाकर्मीको लावालस्करसहित हिँड्छन्, ठूला बंगलामा बस्छन् भन्ने लाग्थ्यो । तर सादा जीवन जिउने मानिस पनि प्रधानमन्त्री हुन सक्दा रहेछन्,’ उनले भनिन् ।
स्थानीय शारदा पँगेनी र हरिकला पौडेलले पनि आम मानिसजस्तै सादा जीवन बिताउनेका रूपमा कार्की परिवारलाई पाएको बताए । ‘हामीलाई त उहाँ कहिल्यै पनि ठूलो मान्छे भन्ने नै लागेन,’ पँगेनीले भनिन्, ‘पहिला अदालतको ठूलो मान्छे हुँदा पनि उस्तै बोलीचाली गर्नुहुन्थ्यो । हामीसँग उस्तै हाँसेर अस्तिसम्म कुरा गर्नुभएको थियो । भेट्दा बहिनी सञ्चै भनेर आफैं बोलाउनुहुन्थ्यो ।’ कार्कीको घरमुनि चासिङ टोल पर्छ । टोलको एक चिया पसलमा भेटिएका स्थानीय देवीबहादुर खड्काले कार्कीलाई अत्यन्तै श्रद्धा गर्ने गरेको सुनाए ।
‘अरू न्यायाधीशहरूले कति घूस खाए, के–के गरे भन्ने सुनिन्छ तर उहाँका बारेमा केही सुनिएको छैन,’ उनले भने, ‘कति मिजासिलो अनि साधारण मानिस न्यायाधीश, प्रधानन्यायाधीश हुँदै प्रधानमन्त्री हुनुभयो । हामी टोखावासी नै खुसी भएका छौं । ’
रमेशसिंह महर्जन कार्की सर्वोच्च अदालतको न्यायाधीश भएकै वर्ष २०६५ सालदेखि उनको सवारी चालकका रूपमा कार्यरत छन् । कार्कीले पदमा रहँदा पनि प्रधानन्यायाधीश हुँ भनेर कहिल्यै घमण्ड नदेखाएको उनले बताए । कार्कीले अवकाशपछि पनि पूर्वप्रधानन्यायाधीश भएको हैसियतमा सर्वोच्च अदालतले दिएको गाडी चढ्दै आएकी थिइन् ।
n
n‘मैले सर्वोच्च अदालतका गाडी चलाउन थालेको ३२ वर्ष भयो । १५ वर्षभन्दा लामो समयदेखि कार्की श्रीमान्को गाडी चलाउँदै आएको छु । कुनै पनि दिन मैले आमाभन्दा कम माया पाएको छैन । पदको घमण्ड कहिल्यै छैन,’ महर्जनले भने ।
शुक्रबार शीतलनिवासमा महर्जनले नै कार्कीलाई गाडीमा लगेका थिए । ‘आजचाहिँ मलाई चलाउन दिएनन् । फर्केर कार्की श्रीमान्को घरमा बसेको छु । उहाँहरू बालुवाटारमा हुनुहुन्छ । केही पर्ख, तिमी घर जाऊ है भन्नुभएको छ,’ उनले भने ।
nकार्की परिवार शनिबार बेलुकी बालुवाटारको सरकारी निवासमा सरेको छ । ‘टोखामा अप्ठेरो स्थान र काठमाडौंबाट पनि पर भएको र प्रधानमन्त्री भएपछि धेरै सुरक्षा अनि भेटघाटलगायत धेरै कुरा हुने भनिएकाले बालुवाटार सर्नुपरेको हो,’ महर्जनले भने ।
कार्की सुरुमा त यही घरमै बस्दा हुँदैनन् भन्नेमा थिइन् । तर मुलुकको कार्यकारी भएका कारण उनलाई यहाँ अप्ठ्यारो हुने कुरा उनले बुझिन् अनि तयार भइन् । सुवेदी एक्लै भए पनि बसौं त भन्ने मुडमा थिए तर कार्कीले बुढेसकालमा कसरी अलगअलग भएर बस्नु भनेपछि सुवेदी शनिबार पाँच बजे पोका बोकेर बालुवाटार पुगेका हुन् ।
कार्की २०६५ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति भएपछि स्थायी रूपमा बस्ने गरी काठमाडौं आएकी हुन् । त्यसअघि उनी विराटनगरमा बसेर वकालत गर्थिन् । वकालत भने उनले धरानबाट २०३५ सालमा थालेकी हुन् ।
nकाठमाडौंमा आएपछि कार्की परिवार लामो समय डेरामै बस्यो । विराटनगरको घर बेचेर आएको पैसाले २०६९ सालतिर टोखामा घर बनाएपछि भने उनीहरू त्यहीं सरे ।
तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको अवकाशपछि २७ असार २०७३ मा कार्की न्यायालय प्रमुख बनिन् । त्यसअघि कोही पनि महिला प्रधानन्यायाधीश बनेको थिएन । त्यसपछि उनीहरू सरकारी निवासमा बसे । २४ जेठ २०७४ मा अवकाश भएपछि फेरि आफ्नै घर फर्किए । आठ वर्षपछि कार्यकारी प्रमुख बन्दै कार्की फेरि परिवारसहित बालुटारको सरकारी निवास पुगेकी हुन् ।
