‘बाँचे फर्किन्छु’ भनेर आन्दोलनमा हिँडेका कमल फर्किएनन्

Bhadra 28, 2082

parbat portel

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

भदौ २३ गते सोमबार जेन–जीको आन्दोलनका क्रममा १९ जनाभन्दा बढीको मृत्यु भएको खबर आएपछि देशभर आक्रोश चुलिएको थियो । सोही घटनाले पाँचथर हिलिहाङ–१ घर भई हाल बिर्तामोड–१० मा बसोबास गर्दै आएका ३१ वर्षीय कमल भण्डारीलाई पनि छोयो । 

भोलिपल्ट बिहान घरबाट निस्किनुअघि उनले श्रीमती सीतालाई भनेका थिए, ‘म आन्दोलनमा निस्किएँ, बाँचें फर्किन्छु, मरे भने सहिद बनौंला ।’ त्यसदिनदेखि उनी घर फर्किएनन् । मंगलबार रातिसम्म सीताले श्रीमान्को बाटो पर्खिरहिन् । फोन गर्दा घण्टी बज्थ्यो, तर कसैले उठाउ“दैनथ्यो । त्यो रात कमल घर फर्किएनन् । बाटो हेर्दाहेर्दै उनी निदाइन् ।

बुधबार बिहान उनले फेरि सहास जुटाएर फोन गरिन् । यसपटक भने फोन बीएन्डसी अस्पतालका सुरक्षा गार्डले उठाएर भने, ‘तपाईंका श्रीमान् अस्पतालमा हुनुहुन्छ, भेट्न आउनुहोस् ।’

आत्तिदै सीता अस्पताल पुगिन् । तर त्यहाँ कमलको शव देखेपछि उनी बेहोस भइन् । लामो समय कतारमा पसिना बगाएर ६ महिनाअघि मात्रै स्वदेश फर्किएका कमल बिर्तामोडमा घर निर्माणमा जुटिरहेका थिए। लामो समय खाडीमा दुःख गरेर केही रकम जोहो गरेका थिए । केही समयअघि घडेरी जोडेका थिए । अहिले त्यही घडेरीमा घर बनाउँदै थिए । सानो परिवारसँग चिटिक्कको घरमा बस्दै सुखमय जीवन बिताउने उनका सपना अधुरै रहे ।

भण्डारीको शव अहिले पनि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमै छ । परिवारले शव बुझ्न अस्वीकार गर्दै आएको छ । आफन्त सन्तोष भण्डारीका अनुसार उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने परिवारको अडान छ । ‘न्याय चाहिन्छ। अन्यायको पीडामा यसरी शव उठाएर चुप लाग्न सकिदैन,’ सन्तोष भन्छन् ।

६ वर्षीय छोरा रियान्सबुबा फर्किन्छन् भन्ने आशामा छन् । सीताले नाबालक छोरालाई वास्तविकता बताउने आँट जुटाउन सकेकी छैनन् । जेन–जी आन्दोलनका क्रममा झापामा भण्डारीसँगै अर्जुनधारा नगरपालिकाका ३० वर्षीय गोपाल सेढाईंको समेत मृत्यु भएको छ ।

parbat

Link copied successfully