देशभरका शिक्षण संस्था आइतबारदेखि खोल्ने गरी तयारी गरेको स्थानीय तहहरूले जनाएका छन् । काठमाडौंका विद्यालय आइतबारदेखि खुल्ने र सोमबारदेखि पढाइ थाल्ने भएका हुन् ।
काठमाडौं — जेन–जीको अगुवाईमा भएको आन्दोलन, प्रदर्शन र त्यसपछिको निषेधाज्ञाले बिथोलिएको शिक्षण क्रियाकलाप देशभरको अवस्था सामान्य बन्दै गएसँगै पुनः सञ्चालनको तयारी गरिएको छ ।
देशभरका शिक्षण संस्था आइतबारदेखि खोल्ने गरी तयारी गरेको स्थानीय तहहरूले जनाएका छन् । काठमाडौं महानगरपालिकासहित विभिन्न स्थानीय तहले विद्यालय खुल्ने सूचनाहरू जारी गरेका छन् । काठमाडौंका विद्यालय आइतबारदेखि खुल्ने र सोमबारदेखि पढाइ थाल्ने भएका हुन् । काठमाडौं महानगरपालिकाले सोमबारदेखि पठनपाठन सञ्चालन गर्न विद्यालयहरूलाई सर्कुलर जारी गरेको छ । कतिपय विद्यालय पनि सामाजिक सञ्चालबाट विद्यालय सञ्चालनको तयारी गरेको जानकारी दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि शुक्रबार नै अब सेवा अघि बढाउनेबारे ७ सय ५३ वटै स्थानीय तहलाई सर्कुलर जारी गरेको थियो । शिक्षा मन्त्रालयले पनि अवस्था सामान्य बन्दै गएकाले विद्यालय सञ्चालन गर्न सकिने जनाएको छ ।
nशनिबार सूचना जारी गर्दै २९ गते आइतबार शिक्षक र कर्मचारीलाई मात्र विद्यालयमा उपस्थिति हुन भनिएको छ । ३० गते सोमबार देखि विद्यार्थीलाई विद्यालय बोलाएर मनोसामाजिक परामर्शसहित अध्यापन थाल्न आग्रह गरिएको छ । विद्यालय आउजाउ गर्न समस्या भए अनलाइन कक्षाको व्यवस्था गर्न शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले आग्रह गरेका छन् । आइतबार भने विद्यालय सरसफाइ,अभिभावक विद्यार्थीसँग सम्पर्कलगायत प्रशासनिक काम मात्र गर्न भनिएको छ । प्याब्सन काठमाडौँले भाद्र २८ गतेबाट तोकिएको परीक्षा असोज २ गतेबाट सञ्चालन गर्ने जनाएको छ ।
nनिजी विद्यालयहरूको सञ्चालक संस्थाहरू प्याब्सन,हिसान,एनप्याब्सन केन्द्रीय समिति र विभिन्न जिल्लाबाट विज्ञप्ति जारी गरेर आइतबारदेखि अनुकूलताका आधारमा विद्यालय खोल्न अपिल गरेका छन् । स्थानीय अवस्थाको मध्यनजर र प्रशासनसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न भनिएको छ । अन्तरिम सरकार गठन भएको,प्रशासनले कर्फ्यु हटाएकाले शिक्षण क्रियाकलाप अघि बढाउन अवस्था अनुकूल बन्दै शिक्षाकर्मीहरूको ठहर छ । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघका महासचिवले पनि आइतबारदेखि विद्यालयमा पठनपाठन गर्ने निर्णय भएको बताए । पोखरा महानगरपालिकाले असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
nत्रिभुवन विश्वविद्यालयले भने प्रशासन सञ्चालन गरे पनि पठनपाठन कात्तिक ११ गतेबाट मात्र सञ्चालन गर्ने भएको छ । रजिस्ट्रार कार्यालयबाट जारी सूचनामा भनिएको छ,‘हिउँदे बिदाबाट कटौती हुने गरी कात्तिक ९ गतेसम्म हुने सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ ।’ नियमित कक्षा सञ्चालन कात्तिक ११ गते हुने हुने सूचनामा उल्लेख छ । काठमाडौं विश्वविद्यालय पनि छठ पर्वसम्म अध्ययन अध्यापन स्थगन गरेको छ । रजिस्ट्रार प्रशासनिक कार्यहरू भने जारी रहने जनाएको छ । पूर्वाञ्चल, सुदूरपश्चिम विश्वविद्यालयले भने आइतबारबाटै अध्ययन/अध्यापन सुचारु गरिने जनाएका छन् । विश्वविद्यालय अन्तर्गतका निकाय, कार्यालय,स्कुल र क्याम्पसहरू गर्नु हुन सूचना प्रकाशित गरिएको छ ।
nजेन–जीको विद्रोहका क्रममा दर्जनौँ विद्यार्थी घाइते भएका छन् भने केहीको मृत्युसमेत भएको प्रहरीको तथ्यांक छ । प्रदर्शनको क्रममा युलेन्स स्कुल खुमलटार/बाँसबारी,ग्लोबल कलेज,जेभियर इन्टरनेशल,नाइटिंगेल स्कुलमा तोडफोड एवम् आगजनी भएको थियो ।
n
