गोरखा — पालुङटार नगरपालिका–३ बर्देडाँडाका रमेश पराजुली विद्यालय उमेरदेखि समाज परिवर्तन र देश विकासमा रुचि राख्थे । वैदेशिक रोजगारीमा १० वर्ष दुबई बसेका उनले काठमाडौ बनियाँटार नजिकैको भत्किएको भर्याङमा खाद्यान्न पसल संचालन गर्दै आएका थिए ।
एक्लो छोरा रमेशको परिवार धान्ने स्रोत नै खाद्यान्न पसल थियो । उनी पसलबाट चामल, ग्याँसलगायतका सामग्री घर-घरमा पुर्याउँथे । फुर्सदको समयमा ‘पठाओ’ चलाउने काम पनि गर्थे ।
जेनजी आन्दोलन घोषणा भएसँगै पसलको कामथाती राखेर सोमबार उनी पनि सहभागी बनेका उनको गोली लागेर निधन भयो । प्रदर्शनको क्रममा छातीमा गोली लागेर उनको निधन भएको छिमेकी समेत रहेका पालुङटार–३ का वडाध्यक्ष रविन्द्र अधिकारीले बताए ।
‘निकै सहयोगी थिए, गाउँबाट कोही काठमाडौं गयो भने आफै लिन आउँथे, सामाजिक काममा पनि सक्रिय थिए,’ उनले भने,‘यस्तो खबर सुन्दा गाउँ शोकमा छ ।’ सोमबार साथीभाई सँगै आन्दोलनमा गएका पराजुली साँझसम्म नफर्किएपछि सोधीखोजी गर्दा महाराजगन्जको अस्पतालमा रहेको जानकारी पाएको अधिकारीले बताए ।
‘आन्दोलनमा गएको मान्छेको फोन पनि नलाग्ने, साथीहरु धापासीबाट अघि बढेपछि छुिट्टएको भने । हस्पिटलमा बुझ्दा त निधन भइसकेको थाहा पायौं ।’
nnnउनका बुवा भीमबहादुर पराजुली छोराको खाद्यान्न ब्यवसायमा सघाउन केही वर्षदेखि काठमाडौंमा बस्छन् ।
दुई छोरा र श्रीमती पनि काठमाडौंमा संगै थिए । आमा कृष्णमायाँ भने वर्देडाँडाकै घरमा बाख्रा, भैसी पालेर बस्दै आएकी छिन् । छोराको निधनको खबर गाउँमा पुगेपछि गाउँलेले बाख्रा र भैंसी जिम्मा लिँदै कृष्णकुमारीलाई बुधबार काठमाडौं पठाएका छन् ।
‘आमालाई छोराको बारेमा केही पनि नभनी एम्वुलेन्समा राखेर काठमाडौ पठायौं, उहाँ मुटुको रोगी हुनुहुन्छ, एक्लो छोराको एक्कासी यस्तो खबर सुनाउने आँट नै आएन,’ अधिकारीले भने । एसएलसी पछि दुबई गएका उनले वैदेशिक रोजारीबाट कमाएको पैसाले काठमाडौंमा खाद्यान्न पसल चलाएका थिए । ब्यापारबाट संकलन भएको रकमबाट उनले घडेरी पनि जोडेका छन् ।
छिट्टै घर बनाएर आमालाई पनि काठमाडौं लैजाने उनी सुनाउँथे । ‘धान रोपे मंसिरसम्म गाउँमै बस्नुपर्छ आमालाई लान ढिला हुन्छ भनेर यस वर्ष रोपाइँ पनि गर्नुभएन,’ अधिकारीले भने,‘आमाबुवा बुढो हुनुभयो, काठमाडौंमा सँगै राख्छु, घर बनाउँछु भनेर सुनाउँथे, यस्तो पत्याउनै नसकिने खबर आयो ।’ शुक्रबार शव बुझेर काठमाडौंमै उनको अन्त्येष्टि गरिएको छ ।
