गोलीले निभ्यो गोपालको जीवन

भाद्र २८, २०८२

नवराज सुवेदी

झापा — अर्जुनधारा–११ का ३९ वर्षीय ज्ञानेन्द्र (गोपाल) सेढाईं पनि आन्दोलनमा अस्ताएका छन् । सामान्य पारिवारिक पृष्ठभूमिका ज्ञानेन्द्र सामाजिक कार्यमा पनि सक्रिय थिए । उनका बुबाआमा दुवै ७५ वर्ष नाघिसकेका छन् ।

परिवारको बाँच्ने आधार खेती किसानी हो । पाँच दिदी–भाइमध्येका कान्छा उनी परिवारकै भरोसा थिए । उनको जेठो दाइ हाल अमेरिकामा बस्छन् । व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरेका उनी आयुर्वेदिक औषधालयमा काम गर्ने र योग प्रशिक्षक पनि थिए । बिहानै उठेर गाउँलेलाई योग सिकाउने, स्वास्थ्यबारे सचेत गराउने उनको बानीले समाजमा बेग्लै प्रभाव पारेको थियो।

सामाजिक कार्यप्रति उनको लगाव असाधारण थियो । उनी युवा नागरिक समाज अर्जुनधाराका सदस्य पनि थिए । गाउँमा कोही बिरामी परे, कोही विपत्तिमा परे सबैभन्दा अघि पुग्ने उनका सहपाठी सुनाउँछन् ।

मंगलबार बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर उनी ढले । उनको शव बीएन्डसी अस्पतालमा राखिएको छ ।  ज्ञानेन्द्रको मृत्युको खबर बुबाआमालाई ढिलो गरी सुनाइएको थियो । वृद्ध आमाबुबा खबर सुनेयता अचेत छन् । उनका साथी सुजनराज शिवाकोटीले भने, ‘गोपालले देशलाई आफूले दिन सक्ने सबै दिए । तर अब उनको सपना पूरा होला त ?

नवराज

Link copied successfully