अधुरै रह्यो आमाबुबालाई कैलाश पुर्‍याउने धोको

भाद्र २८, २०८२

भवानी भट्ट

कञ्चनपुर — सोमबार बिहानदेखि सुरु भएको जेन–जीआन्दोलनको राप दिउसो बढिसकेको थियो । महाराजगन्जमा औषधि व्यवसाय गरिरहेका ४८ वर्षीय नीरज पन्त पनि प्रदर्शनकारीलाई छेउबाट हेरिरहेका थिए । 

प्रहरीको गोली लागेर उनी त्यहीं ढल्न पुगे । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीका नीरज पन्त र श्रीमती कमला काठमाडौंमा आयुर्वेदिक औषधि व्यवसाय गर्थे ।

२५ वर्षअघि महेन्द्रनगरको कञ्चन विद्या मन्दिरबाट एसएलसी गरेर पढाइका लागि काठमाडौं पसेका पन्त उतै जमेका थिए । व्यवसायबाटै उनले काठमाडौंमा घर बनाएर बसोबास गरिरहेका हुन् ।

गोली लागेर उनको मृत्यु भएपछि आमाबुबालाई कैलाश मानसरोवर पुर्‍याउने धोको मात्रअधुरो भएको छैन, आमाबुबाको सहारा पनि गुमेको छ । ‘दाइ एक पटक बुबाआमालाई कैलाश पुर्‍याउँछु भन्नुहुन्थ्यो,’ मृतक पन्तकी बहिनी हेमा (काकाकी छोरी) ले भनिन्, ‘अहिले आफैं छोडेर जानुभयो ।’

योग प्रशिक्षक पनि थिए । अप्ठेरो पर्दा सहयोग गर्ने, बिरामीलाई अस्पताल पुर्‍याउनेदेखि आफैं खर्च दिएरसमेत उपचार गराउँथे । ‘आप्नै पसलबाट पनि निःशुल्क औषधि दिने गर्नुहुन्थ्यो,’ हेमाले भनिन्, ‘हाम्रो त परिवारकै खम्बा ढलेको छ।’नीरज कृतिबल्लभका जेठा छोरा हुन् । कान्छा सरोज अस्ट्रेलियामा छन् । जेठी छोरी चाँदनी पनि काठमाडौंमै व्यवसाय गरिरहेकी छन् ।

 कान्छी छोरी किरण पनि अस्ट्रेलियामा छिन् । नीरजकी छोरी मेघा धुलिखेलमा अध्ययन गरिरहेकी छन् । छोरीलाई अध्ययनका लागि अमेरिका पठाउने उनको इच्छा थियो । ‘अब छोरीलाई बाहिर पठाएर आमाबुबालाई कैलाश लैजान्छु भन्नुहुन्थ्यो,’ हेमाले भनिन्, ‘अहिले आफैं हामी सबैलाई छाडेर जानुभयो ।’

बैतडीबाट बसाइँ सरेर कञ्चनपुरको गड्डाचौकीमा बसोबास गर्ने बुबा कृतिबल्लभ र आमा सीतादेवी बिहीबार काठमाडौं पुगेका छन् । सोमबार मृत्यु भएका छोराको खबरआमाबुबाले भने दोस्रो दिन मात्रै पाएका थिए । अमेरिकामा रहेका नीरजका छोरा श्री पनि घर फर्किसकेका छन् । अस्ट्रेलियामा रहेका भाइ सरोज र बहिनी किरण पनि शुक्रबार काठमाडौं पुगेका छन् । सबै आफन्त आएपछि शुक्रबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।  

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully