गोरखा — जेन-जीको आह्वानमा सोमबार काठमाडौंमा प्रदर्शन चर्कदै थियो। जेनजी समूह बानेश्वरको संसद् भवनअघि भेला भएर नाराबाजी गर्दै थिए । प्रदर्शनकै बीच दिउँसो करिब ३.३० बजेतिर गोली चल्यो ।
संसद् भवनतर्फबाट चलेको गोली लागेर सबैभन्दा पहिले बारपाक सुलिकोट गाउँपालिका–५ नारेश्वर डाँडाका २२ वर्षीय विमल भट्ट ढले । तत्कालै उद्धार गरेर सिभिल अस्पताल पुर्याउँदा उनको निधन भइसकेको थियो ।
चार वर्षदेखि काठमाडौं कोटेश्वरमा मामासँगै बसेर अध्ययन गर्दै आएका थिए । पशुपति क्याम्पसमा अध्ययन गर्दै आएका उनी साथीभाईसँगै आन्दोलनमा सहभागी बनेको उनका आफन्त सुजन भट्टले बताए । ‘आन्दोलनमा जाँदा बानेश्वरको संसद भवन अघि सबैभन्दा अघि उहाँ ढल्नुभएको रहेछ,’ सुजनले भने,‘तत्कालै साथीहरुले सिभिल हस्पिटल पुर्याउनुभएको थियो रे, त्यहाँ जाँदा उहा नरहनुभएको थाहा भयो ।’
उनको देब्रे छाती र निधारमा गोली लागेको थियो । ‘हामी नगए को जान्छ, देशलाई परिवर्तन चाहिएको छ’ भन्दै मामासँग कुरा गरेर उनी आन्दोलनमा सहभागी बन्न पुगेका थिए । ‘देशमा परिवर्तन आउनुपर्छ, केही गर्नुपर्छ भन्ने भावनाको हुनुहुन्थ्यो, सुजनले भने,‘यस्तो खबर आएपछि पत्यार नै लागेको छैन ।’
विमल असारमा रोपाइँका लागि गाउँ आएर तिज पछि मात्र काठमाडौं फर्किएका थिए । नेतृत्व गर्ने क्षमता भएका उनी गाउँमा निकै मिलनसार थिए । उनको निधनको खबर आमा सिता भट्टको कानमा परेको छैन । छोराको निधनको खबर सुनेका ५५ वर्षीय पिता रामकृष्ण भट्ट विक्षिप्त छन् ।
‘उहाँ आफैँ पनि मानसिक रोगी हुनुहुन्छ, कान्छाको खुट्टामा गोली लागेको छ भन्नेसम्म थाहादिएका छौं, धेरै कुरा आमालाई सुनाउन सकेका छैनौं,’ सुजनले भने,‘छोरा घाइते सम्म भएको सुनाएपछि आमाले कान्छासँग बोल्छु फोन लगाइदिए भनिरहनुभएको छ, हामीले अस्पतालमा हुनुहुन्छ भनेर थमथमाइरहेका छौं ।’ उनको शव टिचिङ अस्पतालमा राखिएको छ ।
विमल तीन भाइमध्ये कान्छा हुन् । परिवारिक रुपमा पनि आर्थिक अवस्था विपन्न रहेको आफन्तहरु बताउँछन् । ‘विमल स्वदेशमै जागिर पाए गर्छु, नत्र कुनै ब्यवसाय गर्नुपर्ला भन्नुहुन्थ्यो,’ सुजनले भने ।
देशमा ब्याप्त भ्रष्टचार र बेरोजगारीको पिडाले उनी निराश पनि देखिन्थे । मामाको बासिङ फ्याक्ट्रीमा काम गर्दै आएका विमल घरको आर्थिक अवस्था सुधार गर्न नसेकोमा चिन्तित पनि थिए । शनिबार शव बुझेर अत्येष्टि गर्ने परिवारको तयारी छ ।
-1757736265-1000x0.jpg&w=1001&h=0)