मलाई पीडा भए पनि आन्दोलनमा गएकोमा पछुतो छैन, नयाँ नेपाल बनोस्, भ्रष्टाचार मुक्त र विकसित देश होस्, यही चाहना छ : लिजा अधिकारी, घाइते
काठमाडौं– जेन–जी आन्दोलनका क्रममा घाइते भई उपचाररत युवाहरूले आफ्नो शरीरको पीडाभन्दा पनि देश बन्ने आशा जागेको बताएका छन् । अब भ्रष्टाचार अन्त्य, सुशासन कायम र विकसित देश बन्ने अपेक्षा आफूहरूले गरेको उनीहरूले बताएका हुन् ।
जेन–जी आन्दोलनका क्रममा घाइते हुनेमध्येकी एक हुन्, २० वर्षीया लिजा अधिकारी । मोरङको रतुवामाई नगरपालिका–८ की लिजा बीबीए ७ औं सेमिस्टर पढ्दै छिन् । उनलाई सानैदेखि भ्रष्टाचारविरुद्ध बोल्नुपर्छ भन्ने लाग्थ्यो । टिकटकबाट जेन–जी प्रदर्शनबारे जानकारी पाएकी उनलाई यो भ्रष्टाचारविरुद्ध प्रस्तुत हुने मञ्च हो भन्ने लाग्यो ।
काठमाडौंको बालकुमारीमा कोठा भाडामा बस्दै आएकी उनी गत सोमबार कलेज छाडेर ११ बजे माइतीघर पुगिन् । भ्रष्टाचारविरुद्ध पम्प्लेट र पोस्टरसहित नाराबाजी गर्दै उनी र्यायालीमा सहभागी भइन् । त्यसपछि र्याली बानेश्वर पुग्यो । शान्तिपूर्ण आन्दोलन भनेर गएकी लिजालाई बानेश्वरमा पुगेपछि देब्रे हातमा गोली लाग्यो ।
राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सका अनुसार उनको कुम छेडेर गोली निस्किसकेको थियो । यद्यपि हड्डी फुटेकाले उनको पुनः अपरेसन गर्नुपर्नेछ । ‘मेरा हड्डीहरू तारले अड्काएर राखेको छ रे । उपचारमा समय धेरै लाग्छ भने सुनेको छु,’ अधिकारीले भनिन्, ‘मलाई पीडा भए पनि प्रदर्शनमा गएकोमा पछुतो भने छैन ।’
उनी देशको सम्पत्ति नाश भएकामा भने निराश छिन् । ‘आन्दोलनमा जेन–जी मात्र भएको भए यो सम्पत्ति नाश हुन्थेन होला,’ उनले भनिन्, ‘मलाई आफ्नो पीडाभन्दा पनि नयाँ नेपाल बनोस्, भ्रष्टाचार मुक्त देश बनोस्, विकसित देश होस्, यही चाहना छ ।’
सामान्य परिवारकी उनी घरकी एक्ली छोरी हुन् । केही दिनअघि मात्र उनले काम छाडेर पढाइतिर ध्यान केन्द्रित गर्दै आएकी थिइन् । उनको उपचारका लागि आमा अस्पतालमा छिन् । अस्पतालमा नपाएको औषधि बाहिर किन्दा पैसा खर्च भएको छ । हातको अपरेसनका लागि पैसा ‘डिपोजिट’ गर्न अस्पतालले भनेको उनले सुनाइन् ।
यस्तै, रौतहट गुजरा नगरपालिका–२ का २१ वर्षीय सुमन राई राष्ट्रिय ट्रमा सेन्टरको चौथो तलाको बेड नम्बर ४३९ मा उपचाररत छन् । उनको टाउको, दायाँ पाखुरा र देब्रे हातमा गोली लागेको थियो । छातीमा पनि चोट छ । एक छोरीका बुबा उनी परिवारसहित काठमाडौंमा बस्दै आएका थिए । उनका बुबा कुवेतमा छन् । आमा काठमाडौंमै कपडा व्यवसाय गर्छिन् । सुमन पनि सिलिङ र जिप्सन सम्बन्धी काम गर्ने हेड मिस्त्री हुन् ।
‘पहिलो दिन बानेश्वर क्षेत्रमा प्रदर्शनमा सहभागी भएको थिएँ । दोस्रो दिन कालीमाटीमा रहेको प्रहरी चौकी अगाडि गोली लागेर घाइते भएँ । पाखुरामा गोली लागेको हो । टाउको र देब्रे नाडीमा छर्रा लागेको छ । छाती पनि दुख्छ,’ उनले भने । गोली लागेपछि कालीमाटी चोकस्थित घाइते राखेको भ्यान चढेको र त्यहींबाट अस्पताल पुगेको सुमनले बताए ।
बेडछेउमा उनको रगत लागेको कपडा र जुत्ता पनि थियो । उनले त्यसलाई देखाउँदै भने, ‘गोली लागेपछि गर्दै आएको काम गर्न सकिँदैन कि भन्ने डर छ । तर, आफू घाइते भए पनि देशलाई राम्रो हुन्छ कि भन्ने विश्वासमा छु । मलाई चोट लागे पनि परिवर्तन हुन्छ भन्ने कुराले खुसी लागेको छ ।’ अस्पतालबाट नै खाना, खाजा र औषधिको व्यवस्था भएकाले उपचारमा आफ्नो खर्च नभएको उनले बताए ।
घाइते भएका अर्का युवा हुन्, रौतहटका दानिस आलम । १२ कक्षा पास गरेका दानिस २० वर्षका भए । ६ जनाको उनको परिवार काठमाडौंमा बस्दै आएको छ । कोठाछेउमै बल्खुमा आन्दोलन भएको देखेपछि उनी पनि १० बजे घरबाट निस्किए । पहिलो दिन धेरै मान्छे मरेको सुनेपछि उनी मंगलबार सँगै पढेका ७ जना साथीसँग आन्दोलनमा गएका थिए । प्रदर्शनकै क्रममा १ बजे कालीमाटी क्षेत्रमा उनलाई गोली लागेको थियो ।
‘पुलिसहरूले तपाईंहरू जानु भन्दै थिए । मबीच तिर थिएँ । प्रहरीले हानेको गोली मलाई लाग्यो,’ दानिसले भने, ‘देब्रे पाखुरा छेडेर गोली निस्किएको छ । पहिले त बाँच्दिनँ कि जस्तो लागेको थियो । अहिले निको हुँदै गएको छ ।’ निको भएपछि बीबीए भर्ना गर्ने सोचमा उनी छन् ।
उनी घरबाट अनुमति लिएर नै प्रदर्शनमा गएको बताउँछन् । ‘म प्रदर्शनमा भ्रष्टाचार हटाउनुपर्छ भनेर गएको हुँ । पहिल्यैबाट प्रदर्शनमा जँने तयारीमा थिएँ,’ उनले भने, ‘म प्रधानमन्त्री बालेन शाह भएको हेर्न चाहन्थें । सुशीला कार्की हुनुभएछ । मलाई यो मन परेको छैन ।’ उनले देशको अवस्था राम्रो भए सबैको जीवन राम्रो हुन्छ भन्ने अपेक्षा राखेका छन् ।
सिन्धुपाल्चोकका २२ वर्षीय समीर आचार्य बीबीए ८ औं सेमेस्टरका विद्यार्थी हुन् । उनको खुट्टामा गोली लागेको छ । काठमाडौंमा दिदीबहिनीसँग कोठा भाडामा बस्दै आएका छन् । इन्टरनेटबाट जेन–जी प्रदर्शनबारे जानकारी पाएका उनी सेन्टर कलेजबाट साथीहरू सँगै मंगलबार सिधै प्रदर्शन स्थल पुगेको बताउँछन् । उनले प्रदर्शनमा जानेबारे घरमा जानकारी दिएका थिएनन् । ‘म र साथीहरू बानेश्वरबाट शंखमूलतर्फ जाँदै थियौं । गोली चलिरहेको थियो । साढे दुई बजेतिर मेरो देब्रे खुट्टामा गोली लाग्यो,’ उनले भने, ‘विद्यार्थीलाई त कानुनले पनि गोली हान्न दिन्थेन । ढुंगामुढा पनि गरेको थिइनँ ।’ आफूलाई गोली लागे पनि देशका लागि केही राम्रो हुन्छ कि भन्ने लागेको बताउँदै उनले पहिलेको जस्तो भ्रष्टाचार नहुने विश्वास व्यक्त गरे ।
इलामका २० वर्षका लुसन सुब्बा साथीसँग ढल्कुमा बसेर ब्याचलर पढ्छन् । लोकन्थलीमा डान्स सिक्दै आएका छन् । सामाजिक सञ्जालमा प्रदर्शनबारे थाहा पाएपछि उनी स्वस्फूर्त सहभागी भएका थिए । ‘देशको हालत र भ्रष्टाचार देखेर म सहभागी भएको हुँ,’ सुब्बाले भने, ‘शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हानेको गोली देब्रे हातमा लाग्यो । त्यो गोलीले मेरो औंला छेडेर देब्रे तिघ्रामा पनि लाग्यो ।’ संसद् भवनअघि गोली लागेका उनको तिघ्राको अपरेसन गर्नुपर्ने भएको छ ।
nnउनको परिवार अरू गाउँमै छन् । उनी घरका जेठा छोरा हुन् । उनले घरका मान्छेलाई अवस्था सामान्य छ भनेका छन्् । साथीहरूले नै अस्पतालमा हेरविचार गरिरहेका छन् । उनलाई यो आन्दोलनमा धेरै मानिस मरेको सुन्दा दुःख लागेको छ । ‘हामीले परिवर्तनका लागि प्रदर्शन गरेका हौं । धेरै जना मर्नु भयो,’ सुब्बाले भने, ‘मलाई गोली लागेकोमा पछुतो लागेको छैन । अब देश बन्नुपर्छ । राम्रो मान्छे छान्नुपर्छ । ’
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार जेन–जी आन्दोलनका क्रममा १ हजार ९ सय ७३ जना घाइते भएका छन् । १ हजार ५ सय ६० जना उपचारपछि घर फर्किएका छन् । ३ सय जना अहिले पनि उपचाररत छन् । उपचारका क्रममा ४० जनाको भने मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
